१२ मंसिर २०८३, शनिबार

असी वर्षीय वृद्धले पोख्रेललाई भने, ‘मुख्यमन्त्री भएर आउनु होला’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ७ मंसिर । चुनावी अभियानका क्रममा घोराही उपमहानगरपालिका वडानम्वर १४ पुगेका एमालेका उम्मेदवार शंकर पोख्रेललाई गणेशप्रसाद रोका मगरले मुख्यमन्त्री बन्नु भनेर शुभकामना दिएका छन् ।

चुनावी भेटघाटका क्रममा पुगेका पोख्रेललाई मगरले आफ्नै शैलीमा भने, ‘तिम्रा बारेमा धेरै कुरा सुनेको थिएँ । घरमै भेट्न आयौ म निकै खुसी छु । तिमीले जित्छौ ढुक्क होऊ । दाङ बनाउनका लागि तिमी जत्तिको नेता मैले आजसम्म देखेको पनि छैन ।’

आफू जागिरको क्रममा भारतमा रहँदा पनि त्यहाँको मुख्यमन्त्रीसँग नजिक भएर काम गरेको स्मरण गर्दै मगरले भने, ‘तिमी जितेर गएपछि केपी ओली र प्रचण्डले मुख्यमन्त्री बनाउने भनेका छन् रे भन्ने सुनेको छु । तिमीले जित्यौ भने मात्र दाङको विकास हुन्छ भन्ने आशा राखेको छु । तिम्रा नेता झलनाथ, माधव नेपालसँग पनि भेटेको छु ।’

मगरले भने, ‘कस्ता नेताले जितेर गए भन्ने कुरा के भन्नुपर्छ र ? एक वटा पुल बन्न ६ वर्ष लाग्दा समेत कुनै वास्ता छैन ।’ मगर मात्र होइन बंगलाचुली गाउँपालिका वडानम्वर ३ का ७० वर्षीय विष्णु डाँगीको भनाई पनि यस्तै छ । निर्वाचनका क्रममा डाँगीको घरमै पुग्नुभएका पोख्रेललाई डाँगीले भने, ‘हामी अब पैसोको पोइल जाने छैनौं । विकास गर्छौं भन्ने नेताको हालत पनि देखेका छौं । चुनावका बेला पैसा बाँड्न आउला अनि भन्छौं, घोराही मुर्कुटी सडकको विकास त देखाएका छौ भनेर ।’

डाँगी र मगर मात्र होइन पोख्रेलसँगै बाल्यकालमा कुस्ती खेलेका धर्ना डाँगीगाउँका नीलकण्ठ केसी समेत पोख्रेल मुख्यमन्त्री बन्ने खबरले निकै उत्साहित भएका छन् । लामो समयसम्म राष्ट्रिय जनमोर्चामा रहेर काम गरेका केसी पोख्रेललाई जिताउन भर्खरै एमालेमा प्रवेश गरेका छन् ।