१२ मंसिर २०८३, शनिबार

नेपाली काँग्रेसको जित सहज छः नेता खाँण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ६ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचन २०७४ को केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले आसन्न निर्वाचनमा नेपाली काँग्रेसले सहज जित हासिल गर्ने दाबी गरेका छन् । नेपाली काँग्रेसले गठन गरेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७४ केन्द्रीय निर्वाचन परिचालन समितिको आयोजनामा बुधबार होटल समिटमा आयोजित ‘नेपाली काँग्रेसको घोषणापत्रका आर्थिक पक्ष’का बारेमा अर्थ विज्ञ र सञ्चारकर्मीहरुको अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उनले सो दाबी गरेका हुन् ।

उनले २०४८ सालको निर्वाचनमा पनि नेपाली काँग्रेसले खसेको मतको ३८ प्रतिशत प्राप्त गरेको र २०५६ सालको निर्वाचनमा ३७ प्रतिशत मत प्राप्त गरेको उल्लेख गर्दै भने, ‘गत स्थानीय निर्वाचनमा हामीले झण्डै ३३ प्रतिशत मत हासिल गरेका छौँ, यो निर्वाचनमा हाम्रो निकै राम्रो सुधार भएको छ । हामीले ४० प्रतिशतको हाराहारीमा मत पाउने स्थिति छ । त्यसैले यो निर्वाचनमा नेपाली काँग्रेसको विजय सुनिश्चित छ ।’ उनले यो निर्वाचनमा नेपाली काँग्रेसले प्रतिनिधि सभाका १ सय ६५ सीट मध्ये १ सय ५३ मा आफ्ना उम्मेदवार उठाएको र प्रदेश सभाका ३ सय ३० मध्ये ३ सय २० सीटमा आफ्ना उम्मेदवार उठाएको बताए ।

उनले यो निर्वाचनमा कम्युनिष्ट गठबन्धनको विरुद्धमा नेपाली काँग्रेस एकजुट भएको उल्लेख गर्दै निर्वाचन परिचालनलाई पनि व्यवस्थित गरिएको बताए । नेता खाँणले यो निर्वाचनलाई नेपाली काँग्रेसले जनमत संग्रहको रुपमा लिएको पनि बताए । ‘नेपाली जनताको ७० बर्षको संघर्षपछि नेपाली काँग्रेसको नेतृत्वमा संघीयता, लोकतन्त्र, गणतन्त्रलाई संस्थागत गर्ने संविधान आएको छ । नेपाली काँग्रेस यसमा भएको कमी कमजोरी सुधार गरेर राजनीतिक स्थायित्व कायम गर्दै शान्तिपूर्ण वातावरणमा आर्थिक विकास र समृद्धितर्फ जान चाहन्छ’ नेता खाँणले भने ।

उनले नेपाली काँग्रेस राष्ट्रियताको पहरेदार भएकोले राजा महेन्द्र, पञ्चायत र कम्युनिष्टहरुले निरन्तर प्रहार गरेको पनि उल्लेख गरे । उनले २०१५ सालमा नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकार र नेपाली काँग्रेसको दुइ तिहाइ वर्चश्व रहेको संसदको विघटनमा राजासहित अन्तराष्ट्रिय शक्तिहरुको समेत हात रहेको कुरा छर्लङ्ग भैसकेको बताए ।