काठमाडौँ, ६ मंसिर । काठमाडौँमा बाम गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएसँगै उत्साहित बनेका बाम गठबन्धनका उम्मेदवारले चुनावी अभियानलाई तीब्र बनाएका हुन् । हालसम्म १० वटै निर्वाचन क्षेत्रमा करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेको ती क्षेत्रका उम्मेदवारले जानकारी दिएका छन् ।
काठमाडौँबाटै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल समेत उम्मेदवार रहेका कारण उनीहरु पनि घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । करिब एक हप्ता आफ्नै निर्वाचन क्षेत्रको घरदैलो कार्यक्रममा व्यस्त बनेका नेपाल र पोखरेल पछिल्लो समय राजधानी बाहिरका चुनावी सभामा समेत सहभागी हुन थालेका छन् ।
वरिष्ठ नेता नेपाल सोमबार ओखलढुंगाको चुनावी सभामा र मंगलबार चितवनको चुनावी सभामा भाग लिएर फर्किए भने बुधबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर–२ को कोटेश्वरको घरदैलो कार्यक्रममा सहभागी भएर आजै सिरहाको सभामा गएका छन् ।
महासचिव पोखरेल ओखलढुंगाको चुनावी सभामा भाग लिन त्यता प्रस्थान गरेका छन् । ओखलढुंगा पोखरेलको जन्मभूमि पनि हो । नेपाल र पोखरेल राजधानी बाहिरका चुनावी सभामा समेत केन्द्रित भए पनि अन्य उम्मेदवार भने आ–आफ्नै चुनावी क्षेत्रको घरदैलो र चुनावी सभामै केन्द्रित भएका छन् । काठमाडौँ क्षेत्र नम्बर–१ मा बाम गठबन्धनका तर्फबाट अनिल शर्मा उम्मेदार छन् । उनी अहिले आफ्नै क्षेत्रको चुनावी अभियानमा व्यस्त छन् । उनलाई एमालेका तर्फबाट उम्मेदवारको चर्चामा रहेकी सवित्रा भुषालले सहयोग गरिरहेकी छिन् । काठमाडौँ जिल्ला इन्चार्ज समेत रहेकी भुषालले प्रचारको क्रममा बाम गठबन्धनका उम्मेदवारलाई उत्साह मिलेको बताइन् । उनले दिनदिनै बाम गठबन्धनको भेला बढदै गएको पनि बताइन् ।
क्षेत्र नम्बर २ को काठमाडौँ वडा–३२ कोटेश्वर र गोठाटारमा भेला सकेर वरिष्ठ नेता नेपाल आज सिरहा गएको प्रचार विभाग प्रमुख एवम् काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘क’का उम्मेदवार सानु श्रेष्ठले जानकारी दिइन् । नेपालले आगामी मंसिर १७ सम्म घरदैलो कार्यक्रमलाई जारी राख्ने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
काठमाडौ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार तथा काठमाडौँ जिल्ला कमिटी अध्यक्षसमेत रहेका कृष्ण राईले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिएको जानकारी दिए । उनले कोठे भेला, वैठक र सभालाई निरन्तरता दिएको पनि जानकारी दिए । ‘मतदाताको घरदैलोमा जाने, उहाँहरुसँग भेटघाट गर्ने, समस्या बुझ्ने जस्ता कामलाई हामीले तीव्रता दिएका छौँ,’ उनले भने, ‘हामीले करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेका छौँ । अब फेरि एक पटक सकेर दोस्रो पटक पनि जनताको घरदैलोमा जानेछौँ ।’
यसैगरी क्षेत्र नम्बर ४ मा पनि चुनावी प्रचार अभियानलाई तीव्रता दिइएको छ । क्षेत्र नम्बर ४ बाट प्रतिनधि सभाका उम्मेदवार डा. राजन भट्टराईले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएको बताए । ‘हामी अहिले पनि निरन्तर घरदैलो कार्यक्रममा छौँ,’ उनले भने, ‘हामी जहाँजहाँ चुनावी अभियान लिएर गएका छौँ । त्यहाँत्यहाँका जनता उत्साहित भएको पाएका छौँ ।’ उनले यो पटक क्षेत्र नम्बर–४ मा बाम गठबन्धनको जित निश्चित भएको बताए । सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका गगन थापा उम्मेदवार रहेका छन् ।
क्षेत्र नम्बर ५ मा पनि ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ । ‘हामीले अहिले ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेका छौं,’ क्षेत्र नम्बर–५ का उम्मेदवार समेत रहेका महासचिव पोखरेलले भने, ‘अहिले विभिन्न खाले भेला, बैठक र छलफललाई तिव्रता दिएका छौं । यो पटक यो क्षेत्रबाट जित निश्चित छ । पोखरेलसँग नुवाकोट निवासी काँग्रेसका डा. प्रकाशशरण महत प्रतिष्पर्धी रहेका छन् । उनी यो क्षेत्रका लागि नयाँ हुन् ।
क्षेत्र नम्बर ६ मा बामगठबन्धनका तर्फबाट झक्कु सुवेदी उम्मेदवार छन् । त्यही क्षेत्रमा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित प्रदेश सभातर्फका उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर ७ मा रामवीर मानन्धर पनि उम्मेदवार छन् । उनले मंगलबारबाट घरदैलो कार्यक्रम सुरु गरेको जानकारी दिए । ‘हामीले मंगलबारबाट एक धक्का दिएका छौँ,’ उनले भने, ‘मंगलबारबाट घर–दैलो कार्यक्रम सुरु गर्दा हजारौँको उपस्थिति थियो । यो नै हाम्रो जितको आधार हो ।’ उनले मंसिर १७ सम्म चुनावी प्रचारलाई तीव्रता दिने जानकारी दिउ । उनले आफ्नो मुख्य प्रतिष्पर्धी काँग्रेस भएको र काँग्रेसले उम्मेदवार नै नउठाएकाले जित सहज भएको दाबी गरे ।
क्षेत्र नम्बर ८ मा वाम गठबन्धनका तर्फबाट जीवनराम श्रेष्ठ हुन् । उनले ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न भएको जानकारी दिए । त्यही क्षेत्रबाट एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रदेशसभाबाट उम्मेदवार बनेका छन् । काठमाडौ क्षेत्र नम्बर ९ मा पनि विभिन्न भेला, बैठक र घरदैलो कार्यक्रम तीव्ररुपमा अघि बढेको क्षेत्र नम्बर–९ प्रदेश नं. १ का उम्मेदवार डा. अजयक्रान्ति शाक्यले जानकारी दिए । उनका अनुसार काठमाडौँ वडा–२१ को घरदैलो सकिएको छ भने वडा नं. १४ को ६० प्रतिशत घरदैलो सकिएको छ । उनले वडा नम्बर १२ को ५० प्रतिशत घरदैलो सकिएको बताए । त्यसैगरी भीमढुंगा, दहचोक, पुरानो नैकाप, स्युचाटारलगायतका स्थानको ६० प्रतिशत चुनावी प्रचार सकिएको जानकारी दिए । काठमाडौ क्षेत्र नम्बर ९ मा प्रतिनिधि सभामा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर १० मा बाम गठबन्धनका हितमान शाक्य उम्मेदवार बनेका छन् । सो क्षेत्रमा पनि चुनावी घरदैलो कार्यक्रम ७० प्रतिशत सकिएको छ ।











प्रतिक्रिया