१२ मंसिर २०८३, शनिबार

प्रकाश दाहाललाई बागलुङमा यसरी गरियो सम्झना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा एवं सो पार्टीका केन्द्रीय सदस्य साकार दाहाल प्रकाशको अल्पायुमै भएको निधन प्रति बागलुङका बाम गठबन्धनमा आवद्ध दलहरुले दुख व्यक्त गरेका छन् ।

संयुक्त बाम गठबन्धनका तर्फबाट मंगलवार सांझ संयुक्त निर्वाचन सम्पर्क कार्यालयमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा बोल्ने वक्ताहरुले प्रकाशको निधनले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको परिवार, पार्टी र सिंगो बाम गठबन्धन शोकमा डुबेको बताएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले प्रकाश दाहाल प्रचण्डको छोरा मात्र नभएर शसस्त्र युद्धमा होमिएको र शान्तिपूर्ण राजनीतिमा आएपछि पार्टी अध्यक्षको सचिवालयमा रहेर देश र जनताका पक्षमा काम गरेको युवा भएको बताएका थिए ।

प्रकाश दाहालको अल्पायूमा भएको निधनले बाम गठबन्धनले एउटा जुझारु युवा गुमाएको भन्दै वक्ताहरुले शोकलाई शक्तिमा बदलेर परिवर्तनलाई संस्थागत गर्न जुट्नु पर्नेमा जोड दिएका थिए ।

प्रचण्ड सहित परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै वक्ताहरुले छोराको निधन पछि पनि देश र जनताका पक्षमा प्रचण्ड परिवारले देखाएको धैर्यताले आम जनतालाई संयम हुन प्रेरणा दिएको बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मनकुमारी केसी जिसी, पूर्व उर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, एमाले जिल्ला अध्यक्ष तथा प्रदेशसभाका साझा बाम उमेदवार इन्द्रलाल सापकोटा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णबहादुर केसी, एमाले केन्द्रीय उर्जा विभागका सदस्य हिराबहादुर केसी, माओवादी केन्द्रका कार्यालय सचिव चन्द्रबहादुर थापा शिखर, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष थानेश्वर सुवेदी लगायत शोक मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम माओवादी केन्द्रीय सदस्य यज्ञवल्लभ शर्माको अध्यक्षता र कुसुम बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।