१२ मंसिर २०८३, शनिबार

नक्कली सर्टिफिकेट बनाउने सञ्जाल नै प्रहरीको फन्दामा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ मंसिर । अमेरिकी इडिभी चिठ्ठा परेका व्यक्तिहरुको प्लसटुको नक्कली सर्टिफिकेट बनाउने गिरोहका ८ जनालाई महानगरीय अपराध महाशाखाले काठमाडौँका विभिन्न ठाउँबाट सोमबार पक्राउ गरी मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुलीको तिनपाटन–४ का ३५ वर्षीय रुद्रबहादुर मोक्तान, ताप्लेजुङको खेवाङ–२ का ३८ वर्षीय भुवानीप्रसाद भट्टराई, सत्यबिनायक कम्युनिकेशनका संचालक कालिकोटको तिलागुफा–६ का २६ वर्षीय बिशालजंग शाही, कालिकोटको तिलागुफा–५ का २४ वर्षीय सुरेशबहादुर शाही, सुनसरीको धरान नगरपालिका–११ का ३२ वर्षीय अभय पोख्रेल, स्क्युर्ड लाईफ कन्सल्टेन्सीमा काम गर्ने काठमाडौँ महानगरपालिका–४ चण्डोलका ३३ वर्षीय अनिल श्रेष्ठ, काभ्रेपलाञ्चोकको महाभारत–१ का ३० वर्षीय देवराज तामाङ र काठमाडौं मनमैजु–२ (क) का ३७ वर्षीय सन्तोषकुमार तिवारी रहेका छन् । नगद रकम लिई सरकारी छाप दस्तखत किर्ते गरी प्लसटुको माइग्रेसन सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट, नेशनल इगजामिनेस बोर्डको ट्रान्सप्रिप्ट सर्टिफिकेटहरु नक्कली बनाएको पाइएपछि नक्कली सर्टिफिकेटसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्लसटुको सर्टिफिकेट नभएका रुद्रबहादुरलाई सन् २०१७ को अमेरिकी इडिभी परेकोमा उनको सर्टिफिकेट बनाइदिन्छु भनि देवराजले उनीसँग ३ लाख ५० हजार रुपैयाँ लिएको, देवराजले अनिललाई सर्टिफिकेट बनाउन ४५ हजार दिएको, अनिलले ३० हजारमा बनाइदिन बिशालजंगलाई दिएको, बिशालजंगले १२ हजारमा बनाइदिन सुरेसलाई दिएको र सुरेसले पनि हाल फरार रहेका कृष्ण अछामीसँग ५ हजार ५ सय रुपैयाँमा नक्कली सर्टिफिकेट बनाई बिशालजंग मार्फत रुद्रबहादुरसम्म सर्टिफिकेट पु-याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

साथै, प्रहरीले विशालको साइवरबाट प्लसटुको माइग्रेसन सर्टिफिकेट १ थान, एसएलसीको मार्कसिट १ थान, बिएडको मार्कसिट ३ थान र नेपाली नागरिकता ६ थान बरामद भएको छ । यसैगरी भुवानीप्रसादलाई सन् २०१८ को लागि उक्त चिठ्ठा परेकोमा उनीसँग प्लसटुको सर्टिफिकेट नभएकोले सन्तोषसँग सर्टिफिकेट बनाउनको लागि सम्पर्क गरेको, सन्तोषले भुवानीप्रसाद र अभयको भेट गराई ९० हजार रुपैयाँमा सर्टिफिकेट बनाई लेनदेन कारोबार भएको प्रहरीले बताएको छ । अभय २०६९ मंसिर १३ गते सरकारी छाप दस्तखत किर्ते मुद्दामा पक्राउ परी कारवाही भोगिसकेका छन् ।

उनीहरुलाई सरकारी छाप दस्तखत किर्ते मुद्धामा आवश्यक कारवाहीको लागि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जानएको छ ।