१२ मंसिर २०८३, शनिबार

प्रतिबद्धतापत्र सहित बाम उम्मेदवारहरु घरदैलोमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–आकाश देबकोटा
बाँके, ५ मंसिर । बाम गठबन्धनका उम्मेदवारहरु व्यक्तिगत चिनारी र विकासे एजेन्डासहितको प्रतिबद्धतापत्र लिएर घरदैलोमा पुगेका छन् । मंगलबार नेपालगञ्जको वडा नं. ९ बाँकेगाउँ आसपासमा बाम गठबन्धनका उम्मेदवार तथा नेता–कार्यकर्ताले घरदैलो गरेका हुन् ।

चारबाहिनी चोकमा प्रचण्डपुत्र प्रकाश दाहालप्रति एक मिनेट मौन धारण र श्रद्धाञ्जली अर्पण गरी गठबन्धनले घरदैलो शुरुवात गरेको थियो । सो अवसरमा बाँके क्षेत्र नम्बर २ का निर्वाचन परिचालन कमिटीका संयोजक दामोदर आचार्यले प्रकाशको निधनले कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको बताए ।

छोटो श्रद्धाञ्जली सभापछि बाम गठबन्धनका उम्मेदवार तथा नेता–कार्यकर्ताहरु वडा नम्बर ९ को घरघरमा पुगेर मत मागेका थिए । घरदैलोका क्रममा गठबन्धनको निर्वाचन परिचालन कमिटीले उम्मेदवारको व्यक्तिगत चिनारी र विकासे एजेन्डा समेटिएको प्रतिबद्धतापत्र बाँडेको थियो । बाँके क्षेत्र नम्बर २ का उम्मेदवार पशुपति दयाल मिश्र, प्रदेश सभा क र ख का उम्मेदवारहरु क्रमशः कामता खटिक र विजयकुमार गुप्ताको शिक्षादेखि अहिलेसम्म गरेका राजनीतिक यात्रा र उनीहरुले प्रतिबद्धता गरेका विकासका एजेन्डाहरु समेटिएका छन् ।

तीनै जना उम्मेदवारको साझा प्रतिबद्धता ३० बुँदे रहेको छ । नेपालगञ्ज विश्वविद्यालय, राँझ विमानस्थलको स्तर बृद्धि, राप्ती नदी कटान, डुबान रोक्ने र बाढी पीडितलाई सुरक्षित बसोबास गराउने, नेपालगञ्जलाई ५ नम्बर प्रदेशको राजधानी बनाउने, विशेष आर्थिक क्षेत्र, सबै गाउँमा सडक सञ्जाल जोड्ने, भेरी अञ्चल अस्पतालको स्तर बृद्धि, लोडसेडिङ अन्त्य, स्वास्थ्य बिमा, शुद्ध पिउने पानीको व्यवस्था, प्राथमिक शिक्षा अनिवार्य, माध्यमिक शिक्षा निशुल्क र उच्च शिक्षामा सुलभ पहुँच पु¥याउने, पर्यटनको विकास र जिल्लालाई प्रवेशद्वारका रुपमा विकास गर्ने, धार्मिक सद्भावमा विशेष जोड, राप्तीघाटलाई व्यवस्थित, सामाजिक सुरक्षा सुरक्षा पाँच हजार पु-याउने, कृषि तथा औद्योगिक क्षेत्र विकास गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने, फोहोर व्यवस्थापनलाई पुनः प्रयोगका परियोजना सञ्चालन गर्नेलगायतका योजनाहरु समेटिएको छ ।

आफ्ना प्रतिबद्धताहरु लिएर घरघरमा पुगेका उम्मेदवार, नेता तथा कार्यकर्ताहरु उत्साहित देखिएका छन् । ‘हाम्रो अभियान सफल भएको छ । घरघरमा पुग्दा आम जनताले माया, सद्भाव देखाएका छन्, बाँके क्षेत्र नम्बर २ प्रदेश सभा (ख)का उम्मेदवार विजय कुमार गुप्ताले भने ।

नेपालगञ्जको घरदैलोमा उम्मेदवारहरु पशुपति दयाल मिश्र, विजय कुमार गुप्ता, जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक दामोदर आचार्य, सहसंयोजक निरक गुरुङ, प्रदेश (ख)का संयोजक रविन्द्र लम्साल, सचिव दत्तप्रसाद आचार्य, एमालेका जिल्ला सहसचिव प्रमोद धिताललगायतको उपस्थिति रहेको थियो ।