काठमाडौं, ५ मंसिर । पुत्रवियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मुहारमा सोमबार पहिलोपटक मुस्कान देखिएको छ । यसबाट पीडामा रहेको प्रचण्ड परिवार विस्तारै सहज अवस्थातिर फर्किने प्रयासमा रहेको बुझ्न सकिन्छ ।
३६ वर्षको उमेरमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि शोकमा रहेका बुबा प्रचण्ड र आमा सीता दाहाल मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नाति–नातिनासँग मन बहलाउँदै गरेको अवस्थामा भेटिए ।
प्रकाशको निधनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुन आफ्नो निर्वाचन क्षेत्र चितवन जाने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । प्रचण्डसँगै पत्नी सीता, छोरीहरु रेणु, गंगा, वुहारी विना र प्रकाश पुत्र प्रणव पनि साथमा थिए ।
१० बजेर ४५ मिनेटको यति एयरलाईनसबाट चितवन जाने क्रममा परिवारसहित विमानस्थल पगेका प्रचण्ड र उनको परिवारलाई सहज बनाउने सहजीकरणको भूमिका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाह गरे । प्रचण्डभन्दा करिब १० मिनेट अघि नै विमानस्थल पुगेका नेता नेपालले प्रचण्ड परिवारलाई त्यहाँ स्वागत मात्र गरेनन्, केही सहज वातावरण पनि निर्माण गरिदिए ।
प्रचण्डकी कान्छी छोरी गंगाकी पुत्री र प्रकाश–विनाका पुत्रलाई घरी प्रचण्डको काखमा राखिदिने त घरी आफैले काखमा राखेर प्रचण्डको मुहारमा मुस्कान ल्याउने प्रयास उनले निरन्तर गरिरहे । करिब आधा घण्टा प्रचण्ड र नेपालसँगै रहेका माओवादी नेताहरु रामबहादुर थापा ‘वादल’ र मात्रिका यादवले पनि वातावरणलाई सहज बनाउने प्रयास गरे । त्यसको केहीवेरपछि एउटै विमानमा चढेर प्रचण्डसँगै नेपाल पनि चितवन प्रस्थान गरे ।













प्रतिक्रिया