३० आश्विन २०८३, शुक्रबार

मलाई कसैले हेरेन, एमालेले पालिरहेछ बाबु !

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– निर्मल भट्टराई

टन्टलापुर घाम । गढतीरबाट म उकालो लाग्दै थिएँ । सालका पात झरेर उकालो बाटो पुरै ढाकिएको थियो । एकदशक अघिसम्म दोहोरी लत्ता यात्रु पाइने त्यो बाटो आज सुनसान छ । माथि डाँडाबाट मोटरबाटो बनेपछि त्यो बाटो आक्कलझुक्कल मात्र मानिस हिँड्दा रहेछन् । आफू तन्नेरी हुँदा जिल्ला सदरमुकाम जाँदा भरिया र अधबैंसे यात्रुलाई उछिनेर बुर्कुसी मारेको झल्झली सम्झदै स्याँ स्याँ र फ्या फ्या गर्दै उकालो चढें म ।

तन्नेरी हुँदा त्यो नाके उकालो हिड्दाका अनेकन् घटनाहरु छन् । तर अड्चालीस सालको एउटा घटना चाहिँ मेरो दिमागको वल्लो छेउदेखि पल्लो छेउसम्म बारम्बार कुदिरह्यो । अड्चालीस सालको संसदीय चुनावमा म अखिलको राजनीतिमै भएको बेला तेह्रथुमको चुनाबमा खटिनु पर्यो । चुनाबी अभियानको सिलसिलामा तेह्रथुमको आठराईतर्फ जादैंथियौं । नाके उकालो बाटोको थकान मेट्न घुमाउने चौतारोमा बस्यौं । त्यतिबेला हामी बाटो हिड्दा खुब वैचारिक बहस गथ्र्यौं । माओ र पार्टीको लाइन नौलो जनवादको सबै कोणबाट छलफल गरिन्थ्यो । माओत्सेतुङ्गको महानताको बहस चलिरहेको बखत पचास नाघेकी, नाकमा बढेमानको बुलाकी लगाएकी एक लिम्बुनी स्याउलाको भारी बोकेर त्यहीं आईपुगिन् ।

एक जना साथीे उटिपट्याङ्ग प्रश्न सोधिहाल्यो —“माओत्सेतुङ्गको घर कतातिर पर्छ आमै ?”

उनले एकछिन सोचिन् र भनिन् —“ख्वै मामाको घर त उ….माथि छ , मामासेतुङ्ग त मु चिन्दैन बाबु”

सबै गलल्ल हाँसे ।

“मुलाई जिस्क्याउछ कि क्याहो मोरा हो ।”—आमै रिसाउदै उकालो लागिन् ।

मेरो मन मष्तिष्कमा यस्तै अनेकन कुरा खेल्दै थिए । सुनसान त्यो घुमाउने चौतारोमा कुनैबेला शुक्रबारे बजारबाट फर्कनेहरु स्थानीय लिम्बुनीले बनाएको एक दुई डबका जाँड सड्क्याएर घर लाग्दथे । तर आधुनिकतासँगै त्यो चलन अब इतिहास भइसकेको छ ।

“यता आइजो”—नजिकैको झाडीबाट आवाज आयो । म झस्कें ।

अलिकति स्याउला काखी च्यापेर एउटा बुढो झाडीबाट फुत्त बाहिर निस्क्यो ।

टाउकाको पछिल्लो भागमा अलिअलि सेतो कपाल, सिङ्गै पिपलको रुखको चित्र देखिने उनको अनुहारको चाउरी, चाउरीको खोल्साबाट बगिरहेको पसिनालाई म ट्वाल्ल हेरिरहें ।

स्याउला चौतारामा राखेर बुढा सोझै नजिकैको धारामा गए । अनुहारका पसिना पखाले र अन्जुली थापेर तनतन पानी पिए । घाँटीमा बेरेको घुर्मैलो गम्चाले अनुहार पुछे र खुइइय गर्दै चौतारामा आएर बसे । एक हुल उनको वरिपरि झुम्मिए ।

मलाई उनले टाउकोदेखि पैतालासम्म एकटक हेरिरहे । उनलाई दोहोरो सास फेर्न केही समय लाग्यो ।

“हैन बाबुलाई त मैले चिनिन नि । बाबुको घर कता पर्यो ?”

“उ..पारीपट्टि”—मैले औंलाले देखाउदै भनें । “धेरै पहिले काठमाण्डौ गएको । दशबर्ष पछि यता फर्कदैछु । मा..थि पोक्लवाङ्गको भट्टराई हुँ ।”

“अनि बाबैको घर चाहिँ कता पर्यो नि ?”—मैले सोधें ।

“उ..त्यो झुप्रो हो मेरो, घर छैन पुरानो घर थियो, भुकम्पले भत्कायो । ”

अलि उता एउता स्याउले झुप्रो रहेछ ।

“कतिबर्ष पुग्नुभयो ?”

“९० सालको भुईंचालो म कोक्रोमा थिएं रे बाबु । ख्वै कति बर्ष पुगें ?”

“घरमा को को हुनुहुन्छ ? बुढो मान्छे आफैं बाख्रा चराउन आउनु भएछ ।”

“म एक्लै छु बाबु, कोही छैनन् । बुढी बितेको दश बर्ष भयो । एउटा छोरो थियो । पैसा कमाउन कोरिया गएको, मेसिनमा बेरिएर मर्यो रे । लास पनि देख्न पाइन । बुहारी पल्लल गाउँको केटोसंग मधेशतिर घरजम गरेर बसेकी छ रे ।” बुढाका आँखा रसाए ।

म अरु जिज्ञाशा राख्न खोज्दै थिएँ तर बुढा बोलिरहे ।

मलाई बुढेसकालमा हेर्ने कोही छैन बाबु । मलाई मन मुहान अधिकारीले हेरिरहेका छन् । उनको पार्टी एमालेले हेरेको छ । आफूलाई दालभात खान सानो टुक्रा खेत छ । नुन तेल मसला उनैले जुटाई दिएका छन् ।”

उनी निरन्तर बोलिरहे । मैले एन्टोन चेखवको “घोडा” कथा सम्झें । कसैलाई आफ्नो वेदना पोख्न नपाउदाको पीडा सम्झें ।

म सुनिरहें ।

पहिले पहिले म आफैं गाविस गएर भत्ता थाप्थें । अहिले म त्यति टाढा हिडेर पुग्न सक्तिन । अहिले यहाँ हाम्रै पार्टीले जितेको छ । मलाई घरमै पैसा पुर्याउन आउछन् । देउतै आएजस्तो लाग्छ मलाई । मेरो झुप्रोमा मन मुहान अधिकारीको फोटो र म बस्छौं, अरु कोही छैन ।”

मैले थकाइै मारेको करिब एक घण्टा भईसकेको थियो । अझै ती बुढाको कुरा सुनिरहन मन थियो मलाई । तर घाम ओरालो लागिसकेका थिए । टाढा पुग्नुथियो ।

“नमस्कार है बा म हिडें अब । टाढा पुग्नुछ ।”

बुढाले हात कमाउदै नमस्कार फर्काए ।

म निकै माथि पुगुन्ज्याल बुढाले मतिरै हेरिरहे ।

बुढाको नजर मतिर होइन, मेरो कालो डायरीमा टाँसिएको सूर्य चिन्हको स्टीकर तिर थियो ।