– आकाश देबकोटा
बाँके, ४ मंसिर । बाँकेको क्षेत्र नम्बर ३ का बाम उम्मेदवारहरुले आफनो क्षेत्रमा सडक कालोपत्रे गर्ने कार्यलाई निर्वाचित भएलगत्तै काम सुरु गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचन प्रचार अभियानअन्तर्गत सोमबार बाँकेको उढरापुरमा भएको कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार नन्दलाल रोकाय र प्रदेश सभा १ का उम्मेदवार आईपी खरेल तथा खजुरा गाउँपालिका ४ ईगाउँमा भएको कार्यक्रममा प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले सडक कालोपत्रे गर्ने कार्यलाई तदारुकताका साथ अघि बढाउने प्रतिवद्धता जनाएका हुन् ।
ईगाउँमा भएको कार्यक्रममा उम्मेदवार गौतमले नौबस्ताको सुतैयाबाट सुरु भई बनकटुवासम्म पुगेको सुतैया–ईगाउँ–जलपोखरी सडकलाई छिटो सम्पन्न गर्न आफुले पहलकदम गर्ने प्रतिवद्धता जनाए । उनले खजुरा र आसपासको क्षेत्रका समस्याबारे आफु पुर्णरुपमा परिचित रहेको भन्दै गौतमले बाम गठबन्धनले विकास र सम्बृद्धिको योजना लिएर घरघरमा आएको बताए । कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, शालिकराम खडका, लालबहादुर खत्री, सतिश निरौला, किशोर थापा, वडा अध्यक्ष तिलकवीर सुनारलगायतले बाम गठबन्धनलाई जिताउन अपिल गरेका थिए ।
यसैगरी उढरापुरमा भएको कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार नन्दलाल रोकायले उढरापुरमा सडक कालोपत्रेसँगै सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने कार्य आफनो प्रमुख प्राथिमकतामा रहेको बताए । निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनारले राजनीतिक स्थायीत्वसँगै समृद्धि र विकासका लागि बाम गठबन्धन गाउँगाउँमा पुगेको बताए ।
कार्यक्रममा प्रदेशसभा १ का उम्मेदवार आईपी खरेलले बाम गठबन्धनको देशब्यापी विजय सुनिश्चित भएको भन्दै बाँकेका जनता पनि विकास र समृद्धिको पक्षमा रहेको बताए । कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, डम्बर विकलगायतले बाँकेमा बाम गठबन्धनको पक्षमा जनलहर भएको भन्दै विजयको औपचारीक घोषणा हुन बाँकी रहेको बताए ।











प्रतिक्रिया