विराटनगर, ४ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले ०४६ सालमा आफूहरूले आन्दोलन गर्दैगर्दा शेरबहादुर देउवाले लण्डनमा पाउरोटी खाँदै गरेको टिप्पणी गरेका छन् ।
विराटनगरमा सोमबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लण्डनमा पाउरोटी खाँदै गरेको व्यक्तिले एमालेको लोकतन्त्रप्रति प्रश्न उठाउन नपाइने बताए ।
‘शेरबहादुर देउवा, मीनेन्द्र रिजाल, महेश आचार्यहरूले एमालेका अगाडि धेरै ठूला कुरा नगरे पनि हुन्छ’, उनले भने, ‘हामीले ०४६ सालमा आन्दोलन गर्दा शेरबहादुर देउवाजी लण्डनमा पाउरोटीमा जाम लगाएर खाँदै हुनुहुन्थ्यो । हामीलाई लोकतन्त्र सिकाउने ?’
एमालेलाई अधिनायकवाद भनेर कांग्रेसका नेताहरूले दिएको अभिव्यक्तिको कटु आलोना गरेका ओलीले भने, ‘शेरबहादु, मीनेन्द्र, महेशजीहरू बाढी आएका बेला माछा मार्न आएका हुन् ।’ उनले मुलुकमा बलिदानी आफूहरूले दिएको भन्दै कांग्रेसको रत्तिभर योगदान नरहेको बताए ।
लोकतान्त्रिक आन्दोलनमा आफूहरूले प्रहरीको लाठी खाएको बताएका ओलीले भने, ‘महेश आचार्यहरूलाई प्रहरीको लाठी के थाहा ?’
यसैबीच, मोरङ कांग्रेसका नेता तथा पूर्वगृहराज्य मन्त्री भीमराज राजवंशी नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।











प्रतिक्रिया