
काठमाडौं, ३ मंसिर । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनमा नेकपा एमालेले आज देशभर एक घण्टा चुनावी कार्यक्रम स्थगित गरेको छ ।
दिउँसो २ बजेदेखि तीनबजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम स्थगित गरिएको एमाले केन्द्रीय सचिवालय सदस्य विष्णु रिमालले जनाएका छन् ।
प्रकाशलाई गम्भीर अवस्थामा नर्भिक अस्पताल पुर्याइएको जानकारी पाउना साथ एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामै रहेका नेकपा माओवादी–केन्द्रका अध्यक्ष प्रचण्डलाई चुनावी अभियानबाट काठमाडौंका लागि बिदाई गरेका थिए । यसैगरी, घटनाको जानकारी पाउनासाथ एमालेका पार्टीका बरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताहरु नर्भिक अस्पताल पुगेर समवेदना प्रकट गरेका छन् ।
यस्तो छ एमालेको विज्ञप्ति
नेकपा माओवादी–केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल, प्रचण्डका सुपुत्र, नेकपा माओवादी– केन्द्रका केन्द्रीय सदस्य कमरेड प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधनबाट हाम्रो पार्टी स्तब्ध बनेको छ ।
कमरेड प्रकाश दाहाललाई गम्भीर अवस्थामा नर्भिक अस्पताल पुर्याइएको जानकारी पाउन साथ हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीले झापामै रहनुभएका नेकपा माओवादी–केन्द्रका अध्यक्ष कमरेड प्रचण्डलाई चुनावी अभियानबाट काठमाडौंका लागि बिदाई गर्नुभएको थियो । घटनाको जानकारी पाउनासाथ पार्टीका बरिष्ठ नेता कमरेड झलनाथ खनाल, नेता कमरेड माधवकुमार नेपाल, महासचिव कमरेड ईश्वर पोखरेललगायतका नेताहरु नर्भिक अस्पताल पुगेर समवेदना प्रकट गर्नुभएको छ ।
कमरेड प्रकाश दाहालप्रति सम्मान व्यक्त गर्न र नेकपा माओवादी–केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल, प्रचण्ड, शोकाकूल परिवारजन र नेकपा माओवादी–केन्द्रप्रति समवेदना प्रकट गर्न नेकपा (एमाले)को तर्फबाट आज दिउँसो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम स्थगित गरिएको छ ।
विष्णु रिमाल
सदस्य
केन्द्रीय सचिवालय
तथा
प्रवक्ता, केन्द्रीय निर्वाचन परिचालन कमिटी











प्रतिक्रिया