जनकपुरधाम, ३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् धनुषा क्षेत्र नम्बर ३ का प्रत्याशी विमलेन्द्र निधीले संविधान संशोधन गरी मधेश र मधेशी जनतालाई थप अधिकारले सम्पन्न बनाउन कांग्रेसले मात्र सक्ने कुरा बताएका छन् ।
शुक्रवार आफनो निर्वाचन क्षेत्रको ग्रामीण भेगका विभिन्न गाउँमा भएका चुनावी सभामा निधीले सो कुरा बताएका हुन् ।
शुक्रबार नेता निधीले धनुषाको दक्षिणवर्ती गाउँ मुखियापट्टी मुसहर्निया गाउँ पालिकाको विभिन्न वार्डमा चुनावीसभा तथा मतदाता भेटघाट कार्यक्रम गरेका छन् । मुखियापट्टी गाउँपालिकाको वार्ड नम्बर १ को मुसहर्निया, वार्ड नम्बर २ को मुखियापट्टी र वार्ड नम्बर ३ को तुल्सियाही जब्दीमा सम्पन्न चुनावी सभामा बोल्दै निधीले कांग्रेस मधेशीको भावना अनुसार संविधान संशोधनकालागि विगतमा पनि नेतृत्व वहन गरेको र आगामी दिनमापनि सो नेतृत्व लिने बताए ।
मधेशीको भावना अनुसार संविधान संशोधन गर्न नेपाली कांग्रेस आधिकारिक निर्णय गरिसकेको उल्लेख गर्दै उनले सबै जनताको भावनालाई समेटेर लोकतान्त्रिक पद्धतिलाई मजबूत बनाउदै मुलुकलाई एकताबद्ध राखेर संविधान संशोधन गर्ने कार्यको नेतृत्व कांग्रेस बाहेक अरुले लिन नसक्ने पनि उनले दावी गरे ।
उनले विगतमा संविधानलाई संशोधनको माध्यमबाट अझ परिस्कृत गरौला नेपाली जनताको ७० वर्षको संघर्षको प्रतिफलको रुपमा आएको संविधानलाई जारी गरौं भन्दा प्रक्रिया बहिष्कार गरेर संविधानका विरोध गर्दै आन्दोलन गर्ने दलहरु पनि यसै संविधान अनुसार अहिले निर्वाचनमा सहभागी भएकोमा कांग्रेस अत्यन्त खुशी भएको उल्लेख गर्दै नेता निधीले संविधानमा हस्ताक्षर नगर्नेहरु तत्कालीन सभासदहरुलाई भावी पुस्ताले धिक्कारने उनले बताए ।
जनकपुरलाई २ नम्बर प्रदेशको राजधानी बनाउन प्रयास शुरु भईसकेको भन्दै निधीले भने ,‘जनकपुर प्राचीन मिथिलाको राजधानी थियो । अब प्रदेश नम्बर २ को राजधानी बनाउने उद्देश्यले हामी लागि परेका छौ ।’
जनकपुरलाई राजधानी बनाउन जनकपुर चुरोट कारखानाको सम्पत्ति स्थानीय प्रशासनको मातहतमा लैजाने कार्य गराईएको वताउदै निधीले राजर्षी जनक विश्वविद्यालय पनि राजधानी बनाउनको लागि ठूलो आधार वनेको उल्लेख गरे ।
उनले जटही–ढल्केबर व्यापारिक मार्ग तथा ब्रोडगेज रेलवे निर्माण जनकपुरलाई प्रदेशको राजधानी मात्र नभई आर्थिक राजधानी पनि बनाउने दाबी गरे ।
सो कार्यक्रममा कांग्रेसका प्रदेश सभाका उम्मेदवार रामसरोज यादवले विकास निर्माण तथा संविधान संशोधनकालागि कांग्रेसका उम्मेदवारलाई निर्वाचित गर्न आग्रह गरे । उनले संविधान संशोधन सानो पार्टीवाट संभव नहुने पनि स्पष्ट पारे ।
त्यस्तै नेपाली कांग्रेसका नेता तथा गौ संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष जगदीश महासेठले आन्दोलनका नाउमा मधेशी जनतालाई ठग्दै गरेका व्यक्ति आफनो जिल्लालाई छोडेर धनुषावाट चुनाव लडन आएको वताए ।
तत्कालीन सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष पनि रहेका महासेठले संविधान अस्वीकार गरी आन्दोलनको वेला ठूलो भाषण दिनेहरु मधेशीको लाशमा राजनीति गर्दै आएकोले मतदाताले सही प्रतिनिधी छान्नुपर्ने बेला आएको बताए ।











प्रतिक्रिया