धनगढी (कैलाली), २ मंसिर । नेपाली काँग्रेस नेतृ तथा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसकी उम्मेदार डाक्टर आरजु राणा देउवाले राष्ट्रलाई समृद्धितर्फ डो-याउन आसन्न निर्वाचनमा काँग्रेसको जित आवश्यक रहेको बताएकी छिन् ।
‘नेपाली काँग्रेसले मात्रै देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सक्छ’ शनिबार नेपाल शिक्षक संघ धनगढीले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा नेतृ डा. देउवाले भनिन्, ‘प्रतिनिधि सभामा मैले नजिते पनि केही फरक पर्दैन, तर काँग्रेसले हार्नु हुदैन ।’ उनले सामाजिक विकासको लागि महत्वपूर्ण पक्ष मानिएको शिक्षा क्षेत्रको सुधारलाई आफूले उच्च प्राथमिकतामा राखेको बताइन् । ‘अझै पनि आम सर्वसाधारणको शिक्षामा पहुच छैन, शिक्षकहरूले उचित सेवा सुविधा पाउन सकेका छैनन्, सरकारी विद्यालयमा समस्या छन्, उनले भनिन् ‘शिक्षा क्षेत्रको सुधारका लागि विशेष योजना नभएकाले समस्या यथावत रहेको हो ।’
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति नरनारायण शाह (मनु)ले शिक्षकहरूलाई आचारसंहिता विपरित कुनै काम नगरी आधुनिक प्रविधिको प्रयोग गरेर नेपाली काँग्रेसलाई विजयी गराउन आग्रह गरे । उनले गाउँ–समाजमा शिक्षकको प्रभाव राम्रो भएकाले लोकतान्त्रिक शक्तिलाई विजयी गराएर सम्पूर्ण नेपालीले प्राप्त गरेको मौलिक अधिकार र ७० बर्षको संघर्षले ल्याएको संविधानको रक्षा गर्न पनि आग्रह गरे ।
कार्यक्रममा शिक्षक संघका अध्यक्ष गणेशप्रसाद ओझा, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश (क)का उम्मेदवार जीवन राना, (ख)का उम्मेदवार डिल्लीराज पन्त, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, समानुपातिक उम्मेदवार दिव्यश्वरी शाही, गौरी लामा, नेपाल विद्यार्थी संघ केन्द्रीय उपाध्यक्ष पुष्प शाही लगायतले बोलेका थिए ।











प्रतिक्रिया