१२ मंसिर २०८३, शनिबार

छिस्तीका पूरै काँग्रेस बाम गठबन्धनमा विलय

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाग्लुङ, २ मंसिर । बाग्लुङको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्तीमा काँग्रेस कार्यकर्ताहरु बाम गठबन्धनमा विलय भएका छन् । छिस्तीमा विगत लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय एक दर्जन क्रियाशिल सदस्यसहित एक सय ५० जना काँग्रेसका कार्यकर्ताहरु छिस्तीको वाइनकुनामा आयोजित एक कार्यक्रमका बीच बाम गठबन्धनमा प्रवेश गरेका हुन् ।

चुनावका बेला विकास निर्माणदेखि सबै कुरा पुरा गरिदिन्छौं भन्नेहरु चुनाव जितेपछि फर्केर पनि नआउने गरेकाले नेपाली काँग्रेस परित्याग गर्नुपरेको नवप्रेवशीहरुले बताएका छन् । नेपाली काँग्रेसले मुलुक समृद्ध बनाउँन नसक्ने निष्कर्षमा पुगेर बाम गठबन्धनमा समाहित भएको स्थानीय समाजसेवी टेकबहादुर थापाले बताए । यस अगाडि चुनाव जितेर गएकाले गाउँको विकासका लागि कही कतै पहल नगरेकाले अबको समृद्धि बाम गठबन्धनबाटै हुने थापाले बताए ।

‘अहिले बाम गठबन्धनले मुलुक समृद्धिका लागि ठूलो अठोट राखेर अगाडि बढेको छ, काँग्रेसले पटक–पटक मुलुकलाई समृद्ध पार्ने अवसर गुमाएको छ, अब काँग्रेसलाई बहुमत दिएपनि उसले मुलुक समृद्धिका लागि केही गर्न नसक्ने भएकाले बाम गठबन्धनलाई बहुमतले जिताउनुपर्छ’ थापाले भने ।

छिस्तीको वाइनकुनामा थापालगायत त्यहाँ सक्रिय नेपाल भ्रमण युवा क्लब र नेपाल भ्रमण आमा समूहमा आवद्ध सबै व्यक्तिहरु बाम गठबन्धनमा प्रवेश गरेको जनाइएको छ । आफूहरु राष्ट्रियताको रक्षा, मुलुक समृद्धिका लागि स्थिर सरकार निर्माण गर्ने अभियानलाई साथ दिन बाम गठबन्धनमा प्रवेश गरेको भन्दै उनीहरुले बामगठबन्धनका पक्षमा जनलहर आएपछि काँग्रेस नेताहरु अत्तालिएर लोकतन्त्र रक्षाको नारा भजाउन थालेको बताएका छन् ।

‘हिजो जनताले लोकतन्त्र, गणतन्त्र संस्थागत गर्नका लागि काँग्रेसलाई जनमत दिएका थिए, त्यो जनमतलाई बेवास्ता गरी पैसा र पहुँचका भरमा चुनाव जित्ने रणनीति ल्यायो, अब त्यो सपना पुरा हुन दिदैनौँ ।’ नवप्रवेशीहरुले भने । नवप्रवेशीहरुलाई बाम गठबन्धनमा प्रवेश गराउँदै नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य लीला थापा मगरले काँग्रेस नेताहरुको प्राथमिकतामा विकास नपरेकै कारण बागलुङको दक्षिणी क्षेत्र पछाडी परेको बताए । ‘अहिलेपनि थुप्रै ठाउँमा सडक पुग्न सकेको छैन, विकास गर्नुपर्ने ठाउँमा विकासको सिन्को नभाच्ने तर अरुले गरेका कामहरु मैले गरे भनेर हिड्दै गरेका छन्, यसपटक त्यसको स्वाद जनताले दिने नै छन्’, रानाले भने ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष कृष्ण पाठकले गठबन्धनले तयार गरेको घोषणापत्रअनुसार निर्वाचनपछि काम सम्पन्न गर्नेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे । बाग्लुङको विकासका लागि धेरै गर्नुपर्ने भएको भन्दै बाम गठबन्धनले बहुमतको सरकार प्राप्त गरेको पाँच वर्षभित्र मुलुक समृद्धितर्फ अगाडि बढ्ने उनले बताए । कार्यक्रममा एमाले नेता श्रीप्रसाद शर्मा, रामबहादुर जिसी, माओवादी केन्द्रका नेता प्रदीप थापा मगर लगायतले बोलेका थिए ।