१२ मंसिर २०८३, शनिबार

बाम सरकार बनेपछि बेरोजगार समस्या अन्त्य हुन्छ: बाम उम्मेदवार श्रेष्ठ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठले दुई तिहाइ बहुमत ल्याएर स्थिर सरकार बनाउन बाम गठबन्धन निर्माण भएको बताएका छन् । प्रतिनिनिध सभा क्षेत्र नम्बर ३ सिरहाबाट उम्मेदवार बनेका श्रेष्ठले बाम सरकार बनेपछि बेरोजगारको समस्या अन्त्य हुने दाबी पनि गरेका छन् ।

सिरहाको माडरमा आयोजित बाम गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘देशले धेरै आन्दोलन भोगिसके । अब समृद्धिको आन्दोलन गर्न जरुरी छ । त्यसैले बाम गठबन्धन बनाएर चुनावी मैदानमा हामी उत्रेका छौं ।’ नेता श्रेष्ठले रोजगारी नपाएर यहाँका यूवाहरु वैदेशिक रोजगारका लागि खाडी मुलुक पुगेपछि समाजमा अनेकौँ खालका विकृति फैलिन थालेकोमा आफूहरु चिन्तित बनेको बताए ।

उनले कोशीको पानी डाइभर्सन गरेर कमलामा ल्याइने पनि बताए । उनले कोशीको पानी कमलामा ल्याउँदा उत्तरी भेगमा बर्षेनी हुने खानेपानीको समस्या समाधान हुने र त्यहाँका जग्गाहरुमा सिँचाई समेत हुने बताए । अब मधेसका जिल्लाहरुलाई अन्नको भण्डार बनाउने पनि उनले प्रतिवद्धता जनाए ।

उनले भने, ‘यहाँका जग्गाहरु सिँचाइको समस्याले मरुभूमी बन्न लागेको छ । अब कोशीको पानी ल्याएपछि किसानले तीन फसलसम्म उब्जाउन सकिन्छ । त्यसपछि मधेस समृद्ध बन्छ ।’

यस्तै प्रदेश सभा ३ (ख)का बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमालेका जिल्ला अध्यक्ष प्रमोद यादवले मधेसको समस्या एमालेले मात्र समाधान गर्न सक्ने दावी गरे । उनले काँग्रेसले देश बिगारेको आरोप लगाउँदै अब बाम गठबन्धनको सरकार बनाउन आफूहरुलाई जिताउन मतदाताहरुसँग आग्रह गरे । उनले भने, ‘बाम गठबन्धनको सरकार बन्यो भने देश समृद्ध बन्छ । बेरोजगार यूवाहरुले देशमै रोजगारी पाउँछन् ।’

उम्मेदवार यादवले लामो समयसम्म काँग्रेसले सरकार चलाएपनि मधेसमा सडक, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा अझै पछाडी परेकोमा चिन्ता व्यक्त गरे । उनले बाम सरकार बन्यो भने लोकतन्त्र धरापमा पर्ने लगायतका काँग्रेस नेताहरुले भ्रम फैलाइरहेकोले त्यस्तो भ्रममा नपर्न पनि मतदाताहरुसँग आग्रह गरे ।