बाँके, ३० कात्तिक । नेपाल कम्युष्टि पार्टीले २०१५ सालमा भएको संसदीय निर्वाचनमा समेत बाँकेबाट सहभागिता जनायो । तर मत भने एकहजार भने कम पायो । त्यसपछि पञ्चायतकालमा जनपक्षीय उम्मेदवारकारुपमा पनि कम्युनिष्टहरुले चुनावी प्रतिष्पर्धा गरे । २०४६ सालयताका निर्वाचनमा नेकपा एमाले सधै निकटतम प्रतिष्पर्धीका रुमा रह्यो तर विजयी प्राप्त गर्न सकेन । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा एमालेले खाता मात्रै खोलेन जिल्लाका चार मध्ये तीन निर्वाचन क्षेत्रमा सफलता प्राप्त समेत ग¥यो । एमालेले बांकेमा पाएको सफलतालाई तत्कालिन जिल्ला अध्यक्ष नन्दलाल रोकाय र उनी नेतृत्वको जिल्ला कमिटीको सफलतासंग जोड्नेहरु धेरै छन् ।
पहिलो कारण क्षेत्रीय समितिमा रोकायको नाम समेत प्रत्यक्षतर्फबाट सिफारिस भएको थियो । तर उनले आफु भए ठिक अरु जो भएपनि बेठिक कहिले पनि भनेनन् । अर्को कारण जिल्ला अध्यक्षको रुपमा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा पार्टीलाई जिताउन कम्मर कसेर भएपनि लागे । तेस्रो कारण आफुले पार्टीमा सदस्यता दिएको भएपनि पुर्ब राज्यमन्त्री दलबहादुर सुनारलाई नेता माने । जसका कारण रोकायको राजनीतिक उचाई दिनप्रतिदिन बढ्दो छ । उनै रोकाय चारबर्षपछि आगामी मंसिर २१ गते हुने निर्वाचनमा नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार भएका छन । निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तासँगै बाम गठबन्धनका उम्मेदवार रोकायले चुनावी अभियान समेत सुरु गरिसकेका छन । चारबर्ष अघि रोकाय नेता सुनारको साथमा थिए भने अहिले उनको साथमा नेता सुनार छन ।
चार बर्षअघि पार्टीलाई ऐतिहासिक जित दिलाएपछि पार्टीका तत्कालिन अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधव कुमार नेपालले समेत मोवाइलमा सम्पर्कमा गरेर रोकायलाई बधाई दिएका थिए । यतिबेला एउटा त्यागी, सादगी नेताले टिकट पाएको भन्दै जिल्लामा आम कार्यकर्ता उत्साहित भएको अवस्था छ । पञ्चायतकालमा मुलुकका अन्य क्षेत्रझै बाँकेमा पनि मण्डले र पञ्चहरुको हालीमुहाली थियो ।
बिशेषगरी कम्युनिष्टहरु पञ्चहरुको पहिलो निशानामा थिए । कम्युनिष्ट हुनु भनेको पञ्च र मण्डलेको आक्रमणको सिकार थियो । मुलुकमा पञ्चायत उत्कर्षमा पुगेको बेला २०२४ सालदेखि कम्युनिष्ट पार्टीमा लागेका नन्दलाल रोकाय बाँकेको बिशेषगरी खजूरा क्षेत्रमा पार्टी प्रचारक र संगठकका रुपमा आजसम्म निरन्तर सक्रिय भएर लागेका छन् । आफ्नो मुख्य स्वार्थ देश र जनताको आमुल परिवर्तन भएको बताउने ६८ बर्षिया रोकाय हाल नेकपा एमाले पदेश कमिटिका सदस्यको रुपमा पार्टी काममा निरन्तर क्रियाशिल छन् ।
रोकायको जन्म सल्यानसंग सीमा जोडिएको भेरी नदी छेउको सुर्खेतको सिम्ता क्षेत्रमा पर्ने बजेडीचौर गाविस ७ खान्मामा २००६ साल असोज ११ गते भएको हो । पिता जुद्वे रोकाय र आमा पार्वती रोकायका एक्लो सन्तान हुन् रोकाय । उनी आफ्नो बुवाको निधन भएको ४१ दिनपछि २२ बर्षमै बिधुवा भएकी आमाको सहारा बनेर जन्मेका हुन् । कमजोर आर्थिक अवस्था र नजन्मदै बाबुको निधन भएपनि रोकायले गाउकै खान्म प्राविमा प्राथमिक तह र पछि बजेडीचौर माविमा एसएलसीसम्मको शिक्षा प्राप्त गरे । त्यसपछि भारतीय सीमाक्षेत्रमा पुनर्बास कार्यक्रम सन्चालन भएपछि रोकाय २०२४ सालमा बाँकेको सितापुर ४ गुरांसपुरमा आए । जहाँ सरकारबाट ४ बिघा जग्गा प्राप्त भयो ।
पहाडबाट तराइ झरेको तीन महिनामै पुराना कम्युनिष्ट सत्यदेव भट्टराईबाट प्रभावित भएर कम्यूनिष्ट पार्टीको सम्पर्कमा पुगेको रोकाय बताउछन । सुरुमा तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी अन्तर्गत किसान संगठनमा सक्रिय ुभएका रोकाय पछि २०२८ सालमा भट्टराईबाट पार्टी सदस्यता प्राप्त गरेर पार्टीमा सक्रिय भए । सितापुर तथा खजूराक्षेत्रमा पञ्च र मण्डलेहरुको ज्यादती बढ्दै गएपछि तत्कालिन नेता मनमोहन अधिकारीको सहमतीमा सितापुरका कम्युनिष्ट समर्थकहरुले रोकायलाई प्रधानपञ्चको उम्मेदवार बनाए । सरल स्वभाव, निष्कलंक छवी तथा त्यागको प्रतिमुर्तीकारुपमा हालसम्म आफ्नो छवी बचाइ राखेका रोकाय २०३९ देखि ४४ सालसम्म सितापुर गाविसको प्रधानपञ्चमा निर्वा्चित भए ।
पार्टी काममा सहज हुन्छ भनेर मनमोहन अधिकारीसंग सल्लाह गरेरै निर्वाचनमा भाग लिएका हौं, रोकायले विगत सम्झदै भने,— प्रधानपञ्च भएपछि पार्टी संगठन बिस्तारमा समेत सहयोग पुग्यो । कम्युनिष्ट संगठक र प्रचारकका रुपमा चिनिएका रोकाय निर्वाचनको माध्यमबाट प्रधानपञ्च निर्वा्चित भएपछि तत्कालिन पञ्चायती प्रशासनलाई सह्य भएन । रोकायलाई तत्कालिन प्रमूख जिल्ला अधिकारी र अञ्चलाधीशले बिभिन्न प्रलोभनबाट पनि आफ्नो पक्षमा पार्न नसकेपछि वारेन्ट जारी गर्दै झुठ्ठा मुद्वा चलाएर थुनामा समेत राखे ।
तत्कालिन अन्चलाधीश जगदिश झाले कार्यालयमै बोलाएर पञ्च बन जे मागेपछि दिन्छु भने रोकायले भने,— पछि मैले नमानेपछि झुठ्ठा मुद्वामा एकहप्तासम्म थुनियो । सरकारबादी मुद्वालाई तत्कालिन अवस्थामा अदालतले नै खारेज गरिदिएपछि रोकाय थुनामुक्त भएका हुन् । रोकायलाई बिभिन्न प्रलोभनमा पनि आफ्नो पक्षमा पार्न नसकेपछि भ्रष्ट्राचार मुद्वा लगाइएपछि तत्कालिन प्रमूख जिल्ला अधिकारी स्थानेश्वर कोइरालाले बयानका लागि बोलाएर दिउसो प्रधानपञ्च र राती कम्युनिष्ट बन्न छोड भन्ने धम्की दिएको रोकाय सम्झन्छन् ।
रोकाय मनमोहन अधिकारीको सल्लाहमा प्रधानपञ्चको उम्मेदवार र निर्वा्चित हुदा पार्टी संगठन मजबुत बनाइ सितापुरलाई रेड इलाका बनाउन सकेकोमा पार्टीको नीति नभएपछि निर्वाचनमा सहभागी भएकोमा गर्व गर्छन । भूमिगतकालमा तत्कालिन नेकपा माक्र्सवादीका अधिकांश नेता कार्यकर्ता रोकायको घर तथा गाउँमा पुगेका छन् । मनमोहन अधिकारी भरतमोहन अधिकारी, केशरमणी पोखरेल, सहाना प्रधान, सिद्वीलाल सिंह लगायतका नेताहरु भूमिगत अवस्थामा पटक पटक सितापुर पुगेको आफुहरुलाई आवश्यक सल्लाह दिने गरेको रोकाय बताउछन् । नेताहरुसंगको उठबसकाक्रममा रोकायसंग एउटा रोचक प्रसंग पनि छ । सितापुर नजिकै बर्दियाको सिमानामा मानखोला पर्छ । अरु नेताहरु गाउँ आउदा रातीमा बोकेरै खोला तार्ने गरेपनि मनमोहन अधिकारीलाई भने कहिलेपनि बोकेर खोला तार्नु नपरेको रोकायको स्मरण छ ।
रोकायलाई भूमिगतकालमा पार्टी संगठन निर्माणमा सत्यदेव भट्टराई, बाबुराम गौतम लगायतले साथ र सहयोग गरेको बताउछन । गौतम अहिले पदेशसभामा उम्मेदवार छन । २०२४ सालमा कम्युनिष्ट पार्टीको सम्पर्कमा पुगेर २०२८ सालमा पार्टी सदस्य प्राप्त गरेको रोकाय करिब पाँचदशकसम्म पनि अबिछिन्नरुपमा कम्युनिष्ट पार्टीमै छन् । दिमागमा मुलुक र जनताको आमुल परिवर्तन कसरी गर्ने भन्ने छ , रोकाय भन्छन् ,—केही पाउनका लागि पार्टीमा लागेको होइन, केही पाउन पार्टीमा नभइ कुनै जागिरमा लाग्थे होला । सानैदेखि कम्युनिष्ट पार्टीमा लागेका कारण रोकायले शिक्षण र बैकिङ क्षेत्रमा सेवाको अवसर पाएपनि पार्टी नै रोजे । रोकाय कम्युनिष्ट पार्टीका नेताहरुलाई भन्छन् । स—साना स्वार्थमा लागेर ठुला परिवर्तनलाई कमजोर पार्नु हुदैन । मुख्य स्वार्थ देश र जनताको आमुल परिवर्तन हुनुपर्छ ।
भूमिगतकालमा प्रशासन, प्रतिक्रियाबादी तथा ठुलाठुला पहाडसंग जुदधै संगठन निर्माणमा लागेका रोकाय पश्चिम क्षेत्रमै माक्र्सवादी प्रचारक पनि हुन् । माक्र्सवादी विचारबाट प्रभावित रोकाय अन्यलाई पनि माक्र्सवादी दर्शन अध्ययनका लागि बारम्बार आग्रह गर्ने गर्छन् । करिब पाँच दशकसम्म कम्युनिष्ट पार्टीमा सक्रिय रोकायले किसान संगठन हुदै वडा गाउँ कमिटि हुदै २०३९ सालमा नेकपा माक्र्सवादीको जिल्ला कमिटि सदस्य भए ।
२०४२ देखि ४८ सालसम्म रोकाय पार्टीको जिल्ला र अन्चल कमिटि सदस्य भइ पार्टी काम गरे । २०४७ मा नेकपा माले र नेकपा माक्र्सवादीको एकिकरणपछि बनेको नेकपा एमालेका रोकाय पार्टीको अन्चल सदस्य र बाँके जिल्ला कमिटिको उपसचिव बने । लामो समयसम्म पार्टीको अन्चल सदस्य र जिल्ला उपसचिवका रुपमा जिम्मेवारी निर्वाह गरेका रोकाय २०६५ सालमा भएको पार्टीको बुटवल महाधिवेशनमा महाधिवेशन प्रतिनिधी चयन भए भने लगत्तैदेखि बाँके जिल्ला कमिटिको पहिलो अध्यक्षमा सर्वसम्मत निर्वा्चित भए ।
पार्टीबाट यसअघि खासै लाभ नलिएपनि रोकाय एक घण्टा पनि पार्टीबाट अलग भएका छैनन । कुनैपनि अवस्थामा पार्टीबाट विचलित नभएका, जीवनभर पार्टीबाट असन्तुष्ट नभएका रोकाय कहिलेपनि पार्टीबाट अलग हुन्छु भन्ने सोच नै आफ्नो जीवनमा नआएको बताउछन् । रोकायलाई नेकपा एमालेभित्र मात्र हाइन बाँकेमा अन्य राजनीतिक दल र सबै क्षेत्रबाट अधिक सम्मानका दृष्टिले हेर्ने गरिन्छ । रोकाय जिल्लाका नेताहरुमध्ये सरल, सोझा, निष्कलंक, कुनै दाग नलागेका र त्यागी नेताकोरुपमा सम्मानित छन् । पार्टी नीति र नेताप्रति बिशेष सम्मान गर्ने रोकाय युुवा पुस्ताप्रति निकै आशावादी देखिन्छन् । आफ्नै पहलमा पार्टी सदस्य भएकाहरु अहिले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा पाएका रोकाय त्यसबाट आफु उत्साहित हुने बताउँछन् । पुर्ब सिँचाइ राज्यमन्त्री एवम नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य दल बहादुर सुनार रोकाय आफ्नो राजनीतिक गुरु भएको बताउछन् । पुष्पलाल र मनमोहन अधिकारीले पनि युवा पुस्ताबाट आशा र भरोसा गरेको बताउने रोकाय आफुपनि युवा पुस्ताबाट निकै आशावादी भएको बताउछन् ।
तर पछिल्लो समय युवापुस्तामा अध्ययनशैलीमा कमी आएको उनको बुझाई छ । हालसम्म भएका संसदीय र संविधानसभा निर्वाचनमा बाँकेका कुनैपनि निर्वाचन क्षेत्रमा विजयी प्राप्त गर्न नसकेपनि चारबर्ष अघि भएको संविधानसभा निर्वाचनमा पार्टीलाई जिल्लामै पहिलोस्थानमा पुर्याउने दृढ इच्छा, आकांक्षा र सोच राखेका रोकाय त्यसमा सफल भएपछि खुशी लागेको बताउछन ।
पहिलो संविधानसभा निर्वाचनमा भएका कमीकमजोरीबाट पाठ सिक्दै दोश्रो पटक सिंगो पार्टीलाई एकमना एकताका साथ निर्वाचनमा होम्याएर सफलता पाएको रोकायको अनुभव छ । रोकाय पार्टी्भित्र सुदृढ एकता केवल सस्थागत निर्णय पालनाबाट मात्र सम्भव भएको बताउछन् । जिल्लादेखि केन्द्रतहसम्म निर्णय कार्यान्वयनमा सवालमा पार्टी्भित्र एकरुपता आउनुपर्ने बुझाइ उनको छ । आफु अनुकुल निर्णय हुदा ठिक र आफु प्रतिकुल निर्णय हुदा बेठिक भन्ने परिपाटी अन्त्य गर्दै नीति र नेतृत्वको अनावश्यक विरोध गर्ने र संगठनको काममा भन्दा गुटको काममा लाग्नेहरुबाट सचेत हुनुपर्ने उनको भनाई छ ।
संघर्षै संघर्षले भरिएको भएपनि रोकाय कम्युनिष्ट पार्टीमा लागेकोमा खुशी देखिन्छन् । उनले नेता मानेका थुपै्रमा बिचलन पनि आयो कोही पार्टीबाट असन्तुष्ट पनि भए तर ६८ बर्षिय रोकायको जोस र जागंरमा अहिले पनि कुनै कमी आएको छैन् । दैनिक १० किलोमिटर टाढा सितापुरबाट पार्टी कार्यालय आउनु त छदैछ त्यसबाहेक खबर गरिएसम्म जिल्लाका हरेक क्षेत्रमा हुने पार्टीका कार्यक्रममा रोकायको उपस्थिती हुने गरेको छ । पञ्चायतकालमा बिभिन्न धम्की सहेका रोकायले बहुदल, लोकतन्त्र र गणतन्त्रपछि पनि पार्टीमा लागेकै कारण विभिन्न धम्की खानुपरेको छ । तर रत्तीभर पनि उहाँको सक्रियतामा कमी आएको छैन् ।
रोकाय ९ महिने शासन कालमा नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले गरेको कार्यबाट पार्टीले लाभ लिनुपर्ने बताउँछन । त्यसबेला थुप्रै राम्रा कामका सुरुवात भएका हुन्, त्यसलाई निरन्तरता दिन र थप जनपक्षिय योजनाका लागि एमालेको बहुमतको सरकार गठन हुनुपर्ने रोकायको धारणा छ ।
आफु आर्थिक अवस्था एकदमै कमजोर भएपनि युवा अवस्थामा पाएका बिभिन्न अवसरलाई तिलान्जली दिदै पाँचदशकदेखि हालसम्म पार्टीमा योगदान पुर्याएका रोकायको निरन्तरता , लगनशिलता र अभिभावकत्वक अहिले पनि उत्तिकै सान्दर्भिक रहेको एमाले बाँकेका सचिव रत्न खत्रीले बताए । रोकायको इमान्दारिता, क्रियाशिलता र सादगीपन एमालेभित्र मात्रै नभएर बाँकेमा अन्य राजनीतिक दलका नेता कार्यकर्तामाझ पनि उत्तिकै अनुकरणीय रहेको छ ।













प्रतिक्रिया