चितवन, २७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनले लाएको योजना र बलियो बन्दै गएको तालमेलदेखि विरोधीहरु तिलमिलाएको बताएका छन् ।
एमाले माओवादी केन्द्रका कार्यकर्ताहरुलाई संयुक्त रुपमा भरतपुरमा सम्वोधन गर्दै उनले अब देश विकास हुने भयो हामी सकिन्छौ भन्दै अत्तालिएको टिप्पणी गरे । ‘टुट्ने फुट्ने कम्युनिष्टहरु एक भए अब देश विकास हुन्छ भन्दै आतिएर छटपटिदै हाम्रा गतिविधिलाई टेलिस्कोप लगाएर हेरेका छन् । प्रचण्ड र ओलीले के गरेका छन् उनीहरुलाई कसरी कमजोर पार्न सकिन्छ भन्दै योजना बुन्न व्यस्त छन्,’ उनले भने– ‘तर हामी दाजुभाइ जस्तै गरी मिलेर चुनावी गतिविधिमा सहभागी भएपछि अझ आत्तिएर हाम्रा कमजोरीहरु खोज्न थालेको छन् ।’
उनले अगाडि भने– ‘अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पनि चितवन र झापाको निर्वाचन चर्चामा रहेको छ । वाम गठवन्धनले साच्चै चमत्कार देखाउने हुन् त भन्ने उनीहरुमा लागेको छ । दीर्घकालिन विकास गरेर देशलाई आर्थिक सम्वृद्धितर्फ लगे भने हामी के गरेर बस्ने भन्दै रातदिन छटपटाएर बसेका छन् । उनीहरुलाई देश विकास भयो भन्ने चिन्ता छ ।’
मंसिर ५ गतेपछि वन्ने स्थायी सरकारले नेपालको परिवेश सुहाउदो समाजवाद ल्याउने प्रचण्डले दावी गरे । ‘वर्षौदेखि नेपाली जनता उत्पीडन र चित्कारमा बसेका छन्, उनीहरुको मुक्ति गरी समाजवाद ल्याएर आर्थिक सम्वृद्धितर्फ नेपाललाई लैजाने हामीले योजना बनाएका छौ,’ पूर्व प्रधानमन्त्री प्रचण्डले भने– ‘ठुला कम्युनिष्टहरुको एकताको प्रयास ठुलै मेहनतका बाबजुद आएको हो । सानो तिनो प्रयासले भएको होइन । हाम्रा गठवन्धनको नीति तथा कार्यक्रमले गर्दा विरोधीहरु धरमराएका छन् उनीहरुको सातो उडेको छ ।’ उनले जनता र राष्ट्रको पक्षमा ल्याएको कार्यक्रम उत्कृष्ट भएको समेत बताए ।
आगामी मंसिर ५ गते भरतपुरमा आयोजना हुने वृहत आमसभाले विजयको उद्घोष गर्ने उनको विश्वास छ । एमालेका अध्यक्ष केपी ओली, माधवकुमार नेपाल, माओवादी केन्द्रको तर्फबाट आफै र रामवहादुर थापा वादल सहित, एमाले स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे लगायतका शीर्ष नेताहरुको सम्वोधन हुने सभाले नयाँ सन्देश दिने उनले बताए ।
ऐतिहासिक सभा हुने भएकाले यहाँको सन्देशले देशैभरीको निर्वाचनलाई प्रभाव पार्ने उनको दाबी छ । ‘हामी त्यो सभाबाट एउटा ऐतिहासिक सन्देश दिने छौ जसले हाम्रो गठवन्धनको वल र कार्यक्रमको वारेमा जानकारी हुनेछ,’ उनले भने । गठवन्धनले दुइतिहाइ वहुमत ल्याउनको लागि शुभ संकेत दिनेगरी सभाको आयोजना हुनेमा प्रचण्डले आफू आशावादी रहेको बताए ।
कार्यकर्तालाइ सम्वोधन कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले अब नेपालमा कम्युनिष्ट सरकारले कम्तीमा पनि ५ वर्ष चलाउने बताए । त्यही सरकारले नयाँ कार्यक्रम ल्याएर राष्ट्र विकासको लागि नयाँ गोरेटो कोर्नेछ । योजना कार्यक्रम र विश्वासिला नेताहरुको उम्मेदवारी रहेको गठवन्धनको जित निश्चित भइसकेकाले मंसिरपछि वन्ने सरकारले देशलाई कायापलट गर्ने जानकारी गराए । राजनीतिक मुद्दा सकिएर अव आर्थिक सम्वृद्धिको मात्र मुद्दा रहेकाले हाम्रो अर्जुन दृष्टिनै सम्वृद्धि भएको बताए ।
भरतपुरमा मंसिर ५ गते आयोजना हुने वृहत आमसभाले देशको मुहार फेर्ने गठवन्धनको उद्घोष हुने उनले बताए । ‘चितवन जिल्ला र नवलपरासीबाट समेत सहभागी हुने वृहत सभाले एउटा नयाँ मोड दिनेछ । एक लाख जनता उतार्नेगरी हामीले कार्यक्रम आयोजना गर्न लागेका छौं,’ उनले भने ।
कार्यक्रममा गठवन्धनलाई विजयी गराउनको लागि एमाले माओवादी केन्द्र दुवै गठबन्धनका नेता तथा कार्यकर्ताले भाइभाइको जस्तो सौहार्द वातावरणमा काम भइराखेको उनले बताए ।
कार्यक्रममा संयुक्त प्रचार प्रसार समितिका संयोजक अमिक शेरचनले नेपाली जनताले वाम गठवन्धनले के भन्न लागेको छ के योजना ल्याएको छ भन्ने कुरा जान्नको लागि जनता आतुर भएको बताए । ति सवै कुराको जवाफ सभाले दिने स्पष्ट पारे ।
संयुक्त प्रचार परिचालन कमिटीका उप संयोजक केशवलाल श्रेष्ठले आम सभाको योजना तथा कार्यक्रमको वारेमा मन्तव्य राखेका थिए । निर्वाचन क्षेत्र नं. १ का परिचालन कमिटीका संयोजक जगन्नाथ थपलिया, २ का संयोजक सुर्य सुवेदी पथिक लगायतले आफ्ना योजना सुनाएका थिए ।












प्रतिक्रिया