१२ मंसिर २०८३, शनिबार

अछाममा बाम र काँग्रेसमध्ये कस्ले मार्ला बाजी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, २७ कात्तिक । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि जिल्लामा उम्मेदवारले आमसभासँगै घरदैलो अभियानलाई तीव्र पारेका छन् । जिल्लामा नेपाली काँग्रेस र बाम गठबन्धनबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

क्षेत्र नं १ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावल र नेपाली काँग्रेसका भरतकुमार स्वाँरबीच प्रतिस्पर्धा हुने देखिन्छ । विस २०४८ मा रावल काँग्रेस उम्मेदवार बलबहादुर कुँवरसँग पराजित भएका थिए भने २०५१ सालको निर्वाचनमा रावलले काँग्रेसका गोविन्दबहादुर शाहलाई पराजित गरेका थिए । २०५६ को चुनावमा रावल काँग्रेस उम्मेदवार गोविन्दबहादुर शाहसँग पराजित भएका थिए । रावलले २०६४ सालको संविधानसभाको पहिलो निर्वाचन प्रत्यक्षतर्फ लडेनन् । उनी समानुपातिकतर्फबाट सभासद बनेका हुन् । रावलले २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा काँग्रेस उम्मेदवार मेघराज खड्कालाई पराजित गरेका थिए ।

काँग्रेस उम्मेदवार स्वाँरले पहिलो पटक प्रतिनिधिसभाको चुनाव लड्दै छन् । स्वाँर विस २०४९ देखि २०५४ सम्म जिल्ला विकास समितिको सभापति रहेका छन् ।

यस्तै, क्षेत्र नं २ मा काँग्रेस उम्मेदवार पुष्पबहादुर शाह र बाम गठबन्धनबाट एमालेका यज्ञबहादुर बोगटीबीच प्रतिष्पर्धा हुनेछ । क्षेत्र नं १ प्रदेशसभा (क)मा काँग्रेसबाट मेघराज खड्का र एमालेबाट गोविन्दबहादुर कुँवर चुनावी मैदानमा छन् । प्रदेशसभा (ख)मा बाम गठबन्धनबाट माओवादी केन्द्रका झपट बोहरा र काँग्रेसका टेकबहादुर साउँदबीच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

क्षेत्र नं २ प्रदेशसभा (क)मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अक्कलबहादुर रावल र काँग्रेसका सुरतबहादुर विष्टबीच प्रतिष्पर्धा हुनेछ । प्रदेशसभा (ख)मा काँग्रेसका बलबहादुर कुँवर र एमालेका बलबहादुर सोडारीबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । –रासस