१२ मंसिर २०८३, शनिबार

मुख्यमन्त्री बन्ने ‘मुखिया’को धोको

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २७ कात्तिक । गाउँलेले एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई ‘मुखिया’ भनेर बोलाउँछन् । गाउँमा गन्यमान्य र उपल्लो दर्जाको मानिएका जेठो छोरालाई गुरुङ समुदायमा ‘मुखिया’ मानिन्छ ।

गाउँकै बिद्यालयमा बिज्ञान विषय पढाउँदै गर्दा राजिनामा बुझाएर २०४३ मै जनपक्षीय उम्मेदवार बनेर उनी चुनावमा होमिए । खासमा उनी २०२७ मा ईशानेश्वरस्थित प्रमोद हाईस्कुल, भोर्लेटारमा अनेरास्ववियूको तर्फबाट स्ववियू सचिवमा निर्वाचित भएदेखि राजनीतिमा लागेका हुन् । त्यतिबेला उम्मेदवार बन्न पनि मान्छे पाइदैंन थियो । झन कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्ने भनेपछि धेरैले इच्छा गर्थेनन् । तर, उनी पञ्चायतविरुद्ध लड्न खाँदै आएको शिक्षक जागिर पनि छाडेर राजनीतिमा होमिए । लमजुङमा निकै दुःख गरेर एमालेको संगठन बनाउने काम उनलै गरेका हुन् ।

एमाले तेस्रो पार्टी बन्दा संविधान सभा निर्वाचन २०६४ मा उनी ६ हजार बढी मतले काँग्रेस उम्मेदवार दिलबहादुर घर्तीलाई हराउँदै बिजयी भएका थिए । तर, संविधान सभा निर्वाचन ०७० मा उनी ६ सय ७२ मतले कांग्रेस उम्मेदवारसँगै पराजित हुन पुगे ।

०४३ यता एमाले लमजुङ क्षेत्र नं. २ (हाल प्रदेश ख) मा हरेक चुनावका एक्ला उम्मेदवार हुन् उनी । प्राविधिक कारणले चुनावमा पराजित भएपनि जिल्लाको विकासका लागि उनी सधैं खटिने नेता हुन् । पार्टीभित्र संगठक नेताका रुपमा गनिने उनले ३ दशकको अन्तरालमा एकपटकमात्रै चुनाव जिते, त्यो उनको सानदार जित थियो ।

०४३ मा ‘एक बाम–एक ठाम’ नारा दिएर चुनाव लडेका उनी अहिले बाम गठबन्धनबाट प्रदेश नम्बर ४ को मुख्यमन्त्री बन्ने उद्घोषका साथ लमजुङ प्रदेश (ख) बाट चुनावी मैदानमा छन् । ०६४ सालका अनुसार एमालेको मत कांग्रेसको भन्दा बढी छ । ०७० का अनुसार एमालेको मत कांग्रेसको भन्दा कम छ । कांग्रेस–एमालेको सालखाल बराबरी जस्तै मत रहेको उक्त क्षेत्रमा उनलाई जिताउन माओवादी केन्द्रको भोट काफी छ । चुनाव जितेर मुख्यमन्त्री बन्ने उद्घोषले पनि भोट उनीप्रति आकर्षित हुने पक्का छ ।

‘संविधानले हरेक नागरिकलाई सम्मान गरेको छ । सवै नागरिक बराबर हुन्, हक र अधिकार सवैले पाउनुपर्छ भन्ने मेरो लडाइँ सधैंका लागि हो’ उनले भने, ‘प्रदेशको मुख्यमन्त्री बनेमा हरेक बर्ग, जानजाति, भाषाभाषी, धर्मावलम्बीलाई समेट्दै सुन्दर प्रदेश र सुन्दर लमजुङ बनाउने सपना मसंग छ ।’

पृथ्वीसुब्बालाई मुख्यमन्त्री नदिन संविधान सभा निर्वाचन २०६४ मा ठूलो पार्टी कहलिएको कांग्रेस उम्मेदवार कृष्णप्रसाद कोइराला चुनावी मैदानमा छन् । उनी शालीन नेतामा गनिन्छन् । कोइराला अहिले एमाले–माओवादी केन्द्रलाई विभिन्न आरोप लगाएर भोट मागिरहेका छन् भने पृथ्वीसुब्बा गुरुङ विकासका एजेण्डा प्रस्तुत गरेर भोट मागिरहेका छन् । कांग्रेस निवर्तमान पार्टी सभापति समेत रहेका कोइरालाले ०६४ मा टिकट नपाएपछि धन्नै राजिनामा दिएका थिए ।

पृथ्वीसुब्बा एमालेका पार्टी सचिव हुन् । संगठन विभाग प्रमुख हुन् । ०४१ सालमा घरबारबीहिनलाई घर बनाइदिने कार्यको बैचारिक नेतृत्व यिनैले गरेका हुन् । पञ्चायविरुद्ध लाग्दा ३ महिना बढी उनले जेल भोगेका छन् । पार्टीमा विभिन्न भूमिका रहेका उनी पहिलो संविधानसभामा (२०६५–०६९) मा शासकीय स्वरुप निर्धारण समितिको सदस्य र व्यवस्थापिका संसदमा प्राकृतिक स्रोत साधन समितिको सदस्य भएर काम गरिसकेका छन् । शान्ति स्थापनापछिको विधायिका सांसद हुँदा पृथ्वीसुब्बा गुरुङ पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । उनले करिब १८ महिना मन्त्री चलाए । त्यतिबेला लमजुङमा निकै बजेट पनि ल्याए ।

एमाले लमजुङले प्रदेशको प्रत्यक्ष र समानुपातिक साथै प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकका लागि ‘च्वाइस’ गर्न दिएका भाग्यमानी नेता हुन् उनी । उनको यो भाग्य, तब सार्थक हुनेछ, जव उनले चुनाव जितेर ४ नंं प्रदेशको मुख्यमन्त्री बन्नेछन् । मुख्यमन्त्रीको दावीसहित प्रदेश सभाको सदस्यका लागि निर्णय लिएका थिए ।

एमालेबृत्तमा प्रदेश ४ मा उनी ‘सिनियर’ नेता हुन् । गठबन्धन सम्मिलित चुनावले उनलाई मुख्य मन्त्री बाटो खुलेको छ । यसलाई मौकाको रुपमा लिँदै केन्द्रीय मन्त्री भइसकेका उनले प्रदेशको मुख्यमन्त्री बाटो रोजेका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘मुख्य मन्त्री बन्नुपर्छ’ भनेपछि उनी प्रदेशतर्फ आएका हुन् ।

‘मैले चाहेको भए पार्टीले मलाई केन्द्र र प्रदेशको समानुपातिकमा पहिलो नम्बरमा राख्थ्यो, तर म जनताबाटै निर्वाचित भएर जाने इच्छाले मेरा मतदाता माझमा आइपुगेको छु । कसैको जित-हार भन्दा पनि यहाँ लमजुङले जित्ने कुरा मुख्य कुरा हो । मलाई लाग्छ मैले जितें भने लमजुङे दाजुभाई, दिदीबहिनीको शिर उच्च हुने गरी प्रदेश नम्बर ४ को मुख्यमन्त्रीको रुपमा काम गर्छु ।’– उनले भने ।

‘मन्त्री हुँदा मैले सुरु गरेका धेरै योजना अपूरा छन् । केन्द्रमा बसेर विकास निर्माणका धेरै योजना पारेपनि मैले मेरो प्रचार गरिन’ उनले भने, ‘सुखी नेपाली र समृद्ध नेपालको लागि मेरो जीत अनिबार्य छ ।’

यसअघि पृथ्वीसुब्बालाई हराएका काँग्रेस नेता चन्द्रबहादुर कुँवर सभासद् निर्वाचित भएपछि उनको कतै नाम निशाना सुनिएन । संविधानसभामा होस् या विकास निर्माणका योजनामा, कुँवरको भूमिका निकै फितलो भयो । त्यसैको फाइदा यसपटक पृथ्वीसुब्बालाई मिल्ने देखिएको छ । किनकी उनले जित्दा मुख्यमन्त्री बन्ने र लमजुङ तथा समग्र प्रदेशकै विकास हुनेमा लमजुङवासी केही आशावादी देखिएका छन् ।

‘मलाई विश्वास छ लमजुङे जनताको पहिलो रोजाइ मै हुँ, चुनाव जिते पनि नजिते पनि सँधै यहाँका जनताको सेवकको रुपमा छु, जिताएर पठाउनुस्, यो जिल्लालाई समृद्ध र आधुनिक बनाउन मेहनत गर्छु, जनताकै चाहना अनुरुपको विकासको मोडल ल्याउँछु’- पृथ्वीसुब्बाको विश्वास छ ।

मंसिर १० नजिकिँदै जाँदा लमजुङमा चुनावी राप बढ्दो छ । एक्लै जित्ने दाउमा रहेको एमाले वाम गठबन्धनका कारण माओवादी पनि थपिएपछि ढुक्क छ । संघमा माओवादीका देव गुरुङ तथा प्रदेशमा एमालेका पृथ्वीसुब्बा र धनञ्जय दवाडीले जित्नेमा वाम गठबन्धन ढुक्क देखिएको छ ।