३ कार्तिक २०८३, मंगलबार

करिश्माले छिट्टै दोस्रो विवाह गर्न सक्ने, पिता रणधीरले दिए ग्रिन सिग्नल

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

करिश्मा र उनका प्रेमी संदीप तोषनीवाल ।

मुम्बई । बलिउडकी चर्चित नायिका करिश्मा कपुर एक पटक फेरी विवाह बन्धनमा बाधिँन सक्ने भारतीय सञ्चार माध्यमले बताएका छन् । ९० को दशककी सुपरस्टार नायिक करिश्माले आफ्ना प्रेमी संदीप तोषनीवालसँग दोस्रो विवाह गर्न सक्ने समाचारमा बताइएको छ । करिश्माका पिता रणधीर कपुर पनि यो कुरामा सकारात्मक देखिएका छन् ।

करिश्मा र उनका पूर्वपति सञ्जय कपुर ।

करिश्माका पूर्वपति सञ्जय कपुर र उनीबीच यसअघि नै सम्बन्ध विच्छेद भइसकेको छ । सञ्जयले करिश्मासँगको सम्बन्ध विच्छेदपश्चात ४१ वर्षीय भारतीय मोडल प्रिया सचदेवसँग विवाह गरेका छन् । यता संदीपले पनि आफ्नी डाक्टर श्रीमती अर्शितासँग सम्बन्ध विच्छेद गरेका छन् । यस्तोमा उनीहरु विवाह बन्धनमा बाधिँन सक्ने अनुमान गरिएको हो ।

करिश्मा आफ्ना पिता रणधीर कपुरसँग ।

करिश्माका पिता रणधीरले पनि उनले विहे गर्न चाहेमा आफू सकारात्मक भएको बताएका छन् । उनले भनेका छन्, ‘यदि करिश्मा दोस्रो पटक विवाह गर्न चाहन्छिन् भने मेरो उनलाई आशिर्वाद छ ।’ करिश्मा आफ्नो जीवनमा अघि बढ्न चाहेको खण्डमा आफूलाई कुनै समस्या नभएको उनले बताएका छन् । करिश्मा समझदार भएकाले उनप्रति विश्वास रहेको पनि उनले बताए ।

व्यवसायी संदीपसँग करिश्माको भेट एक पार्टीमा भएको थियो । त्यसपछि नै उनीहरु दुईबीचको भेटघाट बाक्लिएको थियो । उनीहरुलाई ‘सिक्रेट डिनर डेट’मा पनि देखिने गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । तर दुबैले आफ्नो सम्बन्धको बारेमा अस्वीकार गर्दै आएका थिए ।