
झापा जिल्लाको क्षेत्र नं. ५ मा नेपाली कांग्रेसले एमालेका अध्यक्ष केपी ओलीविरुद्ध डा.खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय राजनीतिका प्रमुख व्यक्तित्व ओलीसँग प्रतिस्पर्धा गर्नु पनि अधिकारीका लागि राम्रो अवसर हो । यसअघि सो क्षेत्रमा कांग्रेसका चर्चित युवा नेता विश्वप्रकाश शर्मालाई उठाउने तयारी भएको थियो ।
तर, अन्तिममा कांग्रेसले उनलाई अर्को क्षेत्रमा पठाएको थियो । भन्नेहरूले केपी ओलीलाई जित्नका लागि सहज होस् भनेर पनि कांग्रेसले कमजोर उम्मेदवार उठाएको आरोप लगाउने गरेका छन् ।
जितहार भनेको जे जस्तो भए पनि एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीसँग अधिकारीको प्रतिस्पर्धालाई सबैले रोचकताका साथ हेरिरहेका छन् । यसैसन्दर्भमा कांग्रेसका उम्मेदवार अधिकारीसँग गरिएको संक्षित कुराकानी :–
तपाईको उम्मेदवारी किन ?
लोकतन्त्रको रक्षाका लागि र कम्युनिष्टहरूको अधिनायकवाद ल्याउने षड्यन्त्रविरुद्ध नेपाली कांग्रेस लागेको छ । कम्युनिष्टहरू मिलेर मुलुकमा अधिनायकवाद ल्याउन चाहन्छन् । हामी लोकतन्त्र चाहनेहरूका लागि त्यो सह्यै छैन । त्यसका लागि पनि मेरो उम्मेदवारी हो । कांग्रेसले अगाडि सारेका नीति र कार्यक्रम लागू गर्ने मेरो प्राथमिकतामा छ ।
एमालेका अध्यक्ष एवम् तपाईका प्रतिस्पर्धी केपी ओलीले मेरो क्षेत्रमा कोही पनि प्रतिस्पर्धी छैन भन्नु भएको छ नि ?
केपी ओली जस्तो व्यक्तित्व भएको नेताले बोल्दा ध्यान दिनुपर्छ । उहाँले जसरी आफ्नो प्रतिस्पर्धीलाई होच्याएर बोल्नु भइको छ त्यो राम्रो हुँदैन । प्रतिस्पर्धा स्वस्थ्य हुनुपर्छ । महाभारतमा अभिमन्यूलाई जसरी घमण्ड पलाएका थियो त्यसै गरेर केपी ओलीजीलाई पनि घमण्ड पलाएको छ । धेरै घमण्ड गर्नु हुँदैन झापा क्षेत्र नं. ५ का मतदाताले यसपटक उहाँको घमण्डलाई चकनाचुर बनाइदिने छन् ।
केपी ओलीलाई छाडेर झापाका मतदाताले तपाईलाई किन भोट हाल्ने ?
म विकास प्रेमी व्यक्ति हुँ । केपी ओलीको राजनीतिमा मभन्दा धेरै उचाइँ होला तर, बौद्धिकतामा म पनि कमजोर छैन । १६ वर्षभन्दा धेरै समय अध्यापनमा रहेर निर्वाचनमा आएको छु । विकास र समाजका लागि काम गर्ने भिजन लिएर आएको छु । मेरो बौद्धिकतालाई झापाका जनता समक्ष बाँड्न चाहन्छु ।
तपाईले जितेर काम गर्न सक्नु भएन भने त्यसको क्षतिपूर्ति दिन सक्नु हुन्छ ?
नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा राखेका कुराहरू पूरा गर्न बचनवद्ध छ । हामी पनि बचनवद्ध छौँ । जनताले कांग्रेसलाई बहुमत दिएर पठाए भने घोषणापत्रमा भएका सबै कुराहरू पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । बन्द, हड्ताल, आन्दोलन भएन भने सबै कुरा पूरा हुन्छन् । सबै प्रतिवद्धता पूरा भयो भने क्षतिपूर्तिको कुरै आउँदैन ।
तपाईको क्षेत्रमा कांग्रेसभन्दा कम्युनिष्टहरूको वाम गठबन्धन बलियो छ नि ?
मतदाताहरू सबैभन्दा ठूला हुन् । एमालेले झापामा विकास गर्छु भनेर धेरै धोका दिएको छ । जनजातिहरूको मनमा ठेस पुर्याएको छ । जनजातिहरूले शव राख्ने ठाउँलाई खेल मैदान बनाउने भनेर त्यो योजना त्यसै अलपत्र पारिएको छ । त्यसैले जनताले कसलाई जिताउँछन् भन्न सकिँदैन । वाम गठबन्धन बलियो छ भन्ने मलाई लाग्दैन । म पनि कमजोर उम्मेदवार होइन ।













प्रतिक्रिया