१२ मंसिर २०८३, शनिबार

नीतिगत सुधारको माग गर्दै भ्यालुयर्स एसोसिएशनले थाल्यो आन्दोलन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ कात्तिक । सम्पत्ति मूल्याङ्कन गर्ने मूल्याङ्कनकर्ताहरुको संगठन भ्यालुयर्स एसोसिएशनले मूल्याङ्कन नीति अस्पष्ट भएको भन्दै नीतिगत सुधार गर्नुपर्ने माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एसोसिएशनले नीतिगत अस्पटताका कारण मूल्याङ्नकर्ता इन्जिनियरहरुले समस्या भोग्नुपरेको उल्लेख गर्दै त्यसतर्फ गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एसोसिएशनका अध्यक्ष ऋषि कोइरालाले सम्पत्ति मूल्याङ्कनका विषयमा भएका अस्पष्टता र अपारदर्शितालाई समाप्त गर्नका लागि एसोसिएशन र नेपाल बैँकर्स एसोसिएशनबीच सहमति भएपनि त्यसअनुसार काम हुन नसकेको बताए । बैँकर्स एसोसिएशनले समस्या समाधानका लागि कुनै निचोड निकाल्न नसकेको कोइरालाको भनाई छ ।

त्यस्तै बैँकहरुको नियमन निकाय नेपाल राष्ट्र बैँकले पनि समस्या समाधानका लागि कुनै चासो नदिएको गुनासो कोइरालाको छ । तर नेपाल राष्ट्र बैँकका प्रवक्ता नारायण प्रसाद पौडेलले भने सम्पत्ति मूल्याङ्कनको विषय पूर्ण रुपमा राष्ट्र बैँकले नियमन गर्ने व्यवस्था नभएको जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भ्यालुयर्स एसोसिएशन र बैँकर्स एसोसिएशनबीच समन्वय गरेर समस्या समाधान गर्न सल्लाह दिए । बैँक र मूल्याङ्कनकर्ताबीचको समस्या भएकाले राष्ट्र बैँकको प्रत्यक्ष भूमिका केही पनि हुन नसक्ने पौडेलको तर्क छ । सबै कुरा राष्ट्रबैँकले हेर्न नसक्ने भन्दै उनले असल अभ्यास पनि हुनुपर्ने बताए । अस्पष्टता र समस्या समाधानका लागी सरोकारवालासँग बसेर छलफल गर्नका लागि भने राष्ट्र बैँक तयार रहेको पौडेलको भनाई छ ।

कार्यक्रममा कानुनविद् नारायण प्रसाद कोइरालाले नीतिगत अस्पष्टताका कारण समस्या आएको बताए । इन्जिनियरसमेत रहेका कोइरालाले नीतिगत अस्पष्टताका साथै बैँकका कर्मचारीको मिलेमतोका कारण पनि मूल्याङ्कनकर्ता समस्यामा पर्ने गरेको बताए । कतिपय मूल्याङ्कन जग्गाको नक्कली कागजपत्रका आधार गरिने र त्यस्तो मूल्याङ्कन पनि नक्कली नै हुने भएकाले यसतर्फ भने मूल्याङ्कनकर्ता पनि सचेत हुनुपर्ने सुझाब कोइरालाले दिए । अर्कोतर्फ राष्ट्र बैँकको निर्देशन बैँकहरुले पालना नगर्ने हुँदा यस्ता समस्या आउने गरेको कोइरालाको भनाई छ ।

नेपाल भ्यालुयर्स एसोसिएशनले सरोकारवाला संस्थाको मूल्याङ्कन नीतिमा अस्पष्टता, अपारदर्शिता तथा एकरुपता नहुँदा मूल्याङ्कनकर्तालाई अनावश्यक रुपमा कालो सूचीमा राख्ने, ठगी तथा बैँकिङ कुर जस्ता जघन्य फौजदारी अभियोगमा अनुसन्धान तथा एकतर्फी कारवाही गर्ने गरिएको प्रति आपत्ति जनाएको छ । एसोसिएशनले मूल्याङ्कनकर्ता इन्जिनियरहरुलाई लगाएका झुटा मुद्दा फिर्ता लिन आग्रह गरेको छ ।

एसोसिएशनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मूल्याङ्कनकर्ता इन्जिनियरहरु विशुद्ध प्राविधिक जनशक्ति हुँदाहुँदै पनि ऋणसँग सम्बन्धित कागजातको शुद्धता प्रमाणिकरण गर्नेदेखि लिएर एकतर्फी रुपमा बैँक तथा वित्तीय संस्थाले तयार पारेका ऋणको धनजमानी सरहका सम्झौता पत्रहरुको संशोधन तथा खारेजी गर्नको लागि यस एसोसिएशन जोडदार माग गर्दछ ।’

एसोसिएशनले यहि कात्तिक २८ देखि ३० गतेसम्म मुलुकभर सम्पूर्ण मूल्याङ्कन कार्य नगर्न मूल्याङ्कनकर्ताहरुलाई अपिल गरेको छ । कार्यक्रममा वरिष्ठ मूल्याङ्कनकर्ता देवेन्द्र कुमार श्रेष्ठले नेपालमा सम्पत्ति मूल्याङ्कनको निश्चित मापदण्ड नभएकाले पनि समस्या आएको बताए । सम्पत्ति मूल्याङ्कनको कुनै निश्चित परिधि नहुने भन्दै श्रेष्ठले विश्वमा पनि सम्पत्ति मूल्याङ्कन सहजै हुन नसक्ने भएकाले यस विषयमा मूल्याङ्कनकर्तालाई दक्ष बनाउनु पर्नेमा जोड दिए ।