१५ कार्तिक २०८३, आइतबार

यस्तो छ शीर्ष नेताको निर्वाचन प्रचार अभियान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक ।

ताप्लेजुङदेखि दार्चुलासम्म पुग्दै देउवा

वारेसनामामार्फत प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो निर्वाचन क्षेत्र रहेको डडेल्धुरा अझै पुगेका छैनन् । शनिबार ताप्लेजुङबाट उनले पार्टीको प्रचार अभियान सुरु गर्दै छन् । ताप्लेजुङपछि उनले पाँचथर र सोलुखुम्बुमा चुनावी सभालाई सम्बोधन गर्नेछन् । पूर्वबाट फर्किएपछि देउवा सुदूरपश्चिमी जिल्ला जाँदै छन् । २९ कात्तिकमा उनी कैलाली पुग्नेछन् । ३० कात्तिकमा बल्ल डडेल्धुरा पुग्नेछन् । त्यसपछि लगातार बझाङ, बाजुरा, बैतडी, डोटी, अछाम, दार्चुला, कञ्चनपुरका चुनावी सभामा चार–पाँच दिन बिताउने उनका स्वकीय सचिव भानु देउवाले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

निर्वाचन क्षेत्रमा समय दिँदै ओली
एमाले अध्यक्ष केपी ओली शुक्रबार गृहजिल्ला झापा पुगेका छन् । केही दिन उनी झापामै रहने एमाले जिल्ला सचिव मदन अधिकारीले बताए । शुक्रबार उनले भद्रपुरको सिटी गार्डेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । साँझ गृहनगर दमकमा कार्यकर्तासँग भेटघाट गरेका छन् । ओलीले शनिबार दिउँसो १२ बजेपछि आफ्नो निर्वाचन क्षेत्रमा बढी समय दिनेछन् । ‘२५ देखि २७ गतेसम्म उहाँ आफ्नै निर्वाचन क्षेत्रमा बस्नुहुनेछ,’ सचिव अधिकारीले भने । झापा ५ का गौरादह, गौरीगन्ज, तोपगाछीलगायत स्थानका कार्यक्रममा उनी व्यस्त रहनेछन् । २७ कात्तिकमा राजधानी फर्किए पनि ओली २ मंसिरमा पुनः झापा पुग्ने कार्यक्रम छ ।

घरदैलो अभियान सुरु गरे प्रचण्डले
चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो चरणको प्रचार अभियानअन्तर्गत पाँच दिन चितवनमा बिताए । १८ कात्तिकमा उनले आफ्नो निर्वाचन क्षेत्र शिवनगर, जगतपुर र माडीमा आयोजित विभिन्न चुनावी सभालाई सम्बोधन गरे । १९ कात्तिकमा चनौली, गीतानगर, देवनगरमा संयुक्त निर्वाचन कार्यालय उद्घाटन गरे । दोस्रो चरणअन्तर्गत उनले बिहीबार गंगानगर क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट सुरु गरेका छन् । प्रचण्डले शुक्रबार भरतपुर–९ को संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरे ।

थापा काठमाडौं आउजाउ गर्दै
राप्रपा अध्यक्ष कमल थापाले काठमाडौं आउजाउ गर्दै प्रचार गर्ने योजना बनाएका छन् । मकवानपुर १ बाट उम्मेदवार बनेका थापा उपप्रधानमन्त्रीसमेत भएका कारण निर्वाचनका दिनसम्म गृहजिल्लामा प्रचारप्रसारमा जुट्न सक्ने अवस्था नरहेको उनका स्वकीय सचिव दामोदर वाग्लेले जानकारी दिए ।

जिल्ला पुगेर फर्किए ठाकुर
राजपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ का चुनावी कार्यक्रममा सरिक भई बिहीबार काठमाडौं फर्केका छन् । उनले आफ्नो क्षेत्रका मतदातालाई मधेसी दललाई जिताउन आग्रह गरे । आफू जन्मेको महोत्तरीको एकरहिया पिपरा गाउँपालिकाका कार्यकर्तासँग उनले भेटघाट गरेका थिए ।

यादव अन्य जिल्लातिर
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उम्मेदवारी मनोनयनको अघिल्लो दिन सप्तरी पुगेका थिए । उनी १८ कात्तिकसम्म सप्तरी २ मा आयोजित विभिन्न चुनावी कार्यक्रममा सरिक भए । सप्तरीमा रहेकै वेला धादिङ बस दुर्घटनाका पीडित परिवारलाई भेट्न राजविराज पुगेका उनी तीन–चार दिन सप्तरी बसे ।

व्यवस्थित प्रचार अभियानमा लोकतान्त्रिक गठबन्धन

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले आफ्नो पक्षमा माहोल बनाउन तल्लो तहसम्मका पार्टी संयन्त्र परिचालन गर्दै छ । यसका लागि उसले ७५ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । कांग्रेसले १५३ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ । निर्वाचन हुने १६५ मध्ये १२ क्षेत्रमा अरू दलसँग तालमेल गरेको छ । दुई राप्रपालाई चार–चार, संघीय समाजवादीलाई दुई, नयाँ शक्ति र राजपालाई एक–एक सिट छाडेको छ ।

तालमेल भएका ठाउँमा जिल्लास्तरबाट कार्यक्रम बनाइए मात्र केन्द्रीय नेता परिचालन गर्ने तयारी छ । ‘तालमेल भएका जिल्लामा संयुक्त रूपमा प्रचारप्रसार भइरहेको छ,’ केन्द्रीय निर्वाचन परिचालन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले भने, ‘केन्द्रकै आयोजनामा संयुक्त कार्यक्रम अहिलेसम्म बनाएका छैनौँ ।’

कांग्रेसले कमल थापा नेतृत्वको राप्रपालाई मकवानपुर १, बाँके २, काठमाडौं ७ र दैलेख १ छाडेको छ । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई सिन्धुपाल्चोक २, चितवन ३, रूपन्देही २, धनकुटा, संघीय समाजवादीलाई सुनसरी १ र सप्तरी २ (उपेन्द्र यादव) छाडेको कांग्रेसले राजपा अध्यक्ष महन्थ ठाकुरलाई महोत्तरी ३ छाडेको छ ।

जिल्लाले माग गरे केन्द्रीय नेता पठाउने
तालमेल भएका ठाउँमा केन्द्रीय नीतिअनुसार नै संयुक्त कार्यक्रम गर्ने तालिका नबनाए पनि परिचालन समितिले जिल्लाबाट माग हुँदा भने केन्द्रीय नेता पठाउने तयारी गरेको छ । ‘जिल्लामा तालमेलअनुसार नै प्रचारप्रसार भइरहेको छ । तर, जिल्लाबाट माग हुँदा केन्द्रीय सभापतिसहितका केन्द्रीय नेतालाई सम्बोधनका लागि पठाउने तयारी गरेका छौँ,’ केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने, ‘अन्य ठाउँमा कांग्रेसले आफैँ प्रचारप्रसारलाई सक्रिय बनाइरहेको छ ।’

अन्य प्रभावशाली नेता प्रदेशका जिल्ला डुल्दै 
अधिकांश प्रभावशाली नेता आफैँ उम्मेदवार भएकाले आफ्नै निर्वाचन क्षेत्रमा प्रचारमा व्यस्त छन् । तर, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका नेता पनि देश दौडाहामा जाँदै छन् । केन्द्रीय निर्वाचन परिचालन समितिले कार्यक्रम बनाएपछि उनीहरू जिल्ला–जिल्ला जानेछन् ।

मतदाता शिक्षाका लागि पहल
कांग्रेसले केन्द्रीय सदस्य डा. डिला संग्रौलालाई मतदाता प्रशिक्षण उपसमितिको संयोजक बनाएको छ । सहसंयोजकमा शिक्षक संघका अध्यक्ष केशव निरौला छन् । ‘धेरै मत बदर नहोस्, कांग्रेसलाई नै मत किन दिने भन्नेसहितका प्रशिक्षण कार्यक्रम सातवटै प्रदेशमा गर्दै छौँ,’ संग्रौलाले भनिन्, ‘सातवटै प्रदेशस्तरीय प्रशिक्षण दिन्छौँ । यस्तो प्रशिक्षण जिल्ला हुँदै स्थानीय तह र वडासम्म पुर्‍याउँछौँ ।’

प्रदेशस्तरीय प्रशिक्षण २९ कात्तिकमा प्रदेश नम्बर ३ को काठमाडौंमा, ३० कात्तिकमा प्रदेश नम्बर ४ को पोखरामा, १ मंसिरमा प्रदेश नम्बरको ५ को बुटवल हुँदै, ६ को सुर्खेत, ७ को धनगढी, २ को जनकपुरमा गर्ने उनले जानकारी दिइन् ।

३३० प्रदेश सभामै केन्द्रीय नेता
निर्वाचन नजिकिँदै जाँदा सातवटै प्रदेशका मुख्य ठाउँमा केन्द्रीय नेताले संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने गरी कांग्रेसले सभाका कार्यक्रम पनि राख्दै छ । साथै, ३३० वटै प्रदेश सभामा पनि केन्द्रीय नेताकै उपस्थितिमा चुनावी सभा गर्ने जानकारी परिचालन समितिका संयोजक बालकृष्ण खाणले दिए । साथै, सातवटै प्रदेशमा पार्टीका शीर्ष नेता सहभागी भएर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम राख्ने तयारी पनि कांग्रेसको छ ।

कांग्रेसको ७५ सदस्यीय निर्वाचन समिति
कांग्रेसले नेता बालकृष्ण खाणको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा प्रतिनिधिसभामा समानुपातिकतर्फका उम्मेदवार, पूर्वकेन्द्रीय सदस्य, टिकट नपाएका नेता, पूर्वसांसद छन् । समितिअन्तर्गत गगन थापा नेतृत्वमा २६ सदस्यीय प्रचारप्रसार उपसमिति, उद्योगपति विनोद चौधरीको संयोजकत्वमा आर्थिक समृद्धि र विकास समन्वय उपसमिति गठन गरेको छ ।