२२ कार्तिक २०८३, आइतबार

फेरियो प्रचार शैली, खेतबारीमै पुग्नथाले उम्मेदवार (फोटोसहित)

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २१ कात्तिक २१ । ग्रामिण भेगका जनतालाई यतिबेला बाली भित्र्याउने चटारो छ । मतदाताहरु खेतबारीमा ब्यस्त छन् । धान बाली भित्र्याउनु पर्ने र गहुँबाली छर्नु पर्ने दोहोरो कामको चटारो किसानलाई छ ।

दलका चुनावी प्रचार भेला र घरदैलोमा सहभागि हुन मतदातालाई फुर्सद नै छैन । उनीहरु आ–आफ्नै दैनिकीमा व्यस्त देखिएपछि दलहरुले चुनावी प्रचारणको रणनीति बदलेका छन् । ठूला आम सभा र चुनावी सभा दलहरुले प्रचारमा राखेकै छैनन् । चुनाव लक्षित आभसभामा सर्वसाधारणको उपस्थिति कम हुदै गएपछि दलहरुले चुनावी प्रचार शैली पनि बदलेका छन् । भोट माग्न उम्मेदवारको टोली ग्रामिण भेगमा कृषकका खेतीबारीमा पूग्ने गरेका छन् ।

घरमै पुगेर टिका ग्रहण गर्दै काँग्रेस उम्मेदवार पदम शाही ।

खेतबारीमै जाने, थोरै भएपनि उनीहरुको काममा सघाउने र आफूतिर आकर्षण गर्ने नीति उम्मेदवारले लिएका छन् । परिस्थतिलाई नजरअन्दाज गर्दै एमाले माओवादीको बाम र काँग्रेस राप्रपाको लोकतान्त्रिक गठबन्धनले ठुला सभा भन्दापनि कार्यकता परिचालनलाई जोड दिएको देखिन्छ । स्थानीय तह, वडा र बस्तीस्तरमा पुगेर चुनाव प्रचार गर्ने कार्यक्रम बनाएको बाम गठबन्धन निर्वाचन मूल समिति सचिवालय संयोजक एमाले नेता लालबहादुर ओलीले बताए । बामगठबन्धनले जिल्लामा दुईवटा टोली बनाएर प्रचार अभियान संचालन गरेका छन् ।

प्रतिनिधिसभाका उम्मेदवार लालबहादुर थापा र प्रदेशसभा क्षेत्र (क) का उम्मेदवार बल्देव रेग्मी नेतृत्वको टोली कोल्टी क्षेत्र केन्द्रीत बनेको छ । टोलीमा ७ नम्बर प्रदेशका मुख्य मन्त्रीका दाबेदार एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य कर्णबहादुर थापा, विना विभागीय राज्य मन्त्री माओवादी नेता कर्णबहादुर विक, माओवादी नेता सहदेब बोगटी, एमाले नेता हिक्मत शाही सहीत छन् ।

कोदो चुट्दै ७ नम्बर प्रदेशका मुख्य मन्त्रीका दाबेदार एमाले नेता कर्णबहादुर थापा ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) का उम्मेदवार प्रकाश शाह नेतृत्वको टोली मार्तडी क्षेत्रमा केन्द्रीत बनेको छ । प्रदेश उम्मेदवारलाई आ आफ्नै क्षेत्र केन्द्रीत बनाएको र प्रतिनिधि सभा उम्मेदवार सहीत शिर्ष नेताहरुको टोली दुबै क्षेत्रमा घुम्ने भएको छ । त्यस्तै, काँग्रेस प्रतिनिधि सभा उम्मेदवार कविराज पण्डित, प्रदेश (क) का उम्मेदवार जनकराज गिरी नेतृत्वमा काँग्रेस केन्द्रीय सदस्य बद्री प्रसा पाण्डे, पूर्व सांसद देवराज जोशी सहीतको टोली कोल्टी क्षेत्रको घरदैलो सकेर मंगलबार मार्तडी पुग्ने भएको छ ।

यता प्रदेश (ख) का उम्मेदवार पदमबहादुर शाही नेतृत्वको टोली तल्लो क्षेत्रमा चुनावी प्रचारमा व्यस्त रहेको छ । दुबै दलले चुनावलाई व्यापक र भड्कीलो बनाएका छैनन् । मतदाता भएकै ठाउँमा गएर भोट माग्ने प्रचार गरिरहेको काँग्रेस सहसचिव एवं जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले बताए ।

आम सभा, बढी प्रचार बाजीका कार्यक्रम नगरी कार्यकता भेटघाट, र घरदैलोलाई प्राथमिकता दिएको माओवादी केन्द्रका कार्यालय सचिव सुरेश विकले बताए । आमसभाभन्दा बढी भेटघाट, घरदैलो र अन्य पाटीका कार्यकतालाई पाटी प्रवेशमा कसरत गर्ने रणनीतिमा राजनीतिक दलहरु छन् । जनतालाई दुःख दिने, बढी खर्चिलो चुनाव बनाउने चाहना छैन् । विहान देखि बेलुका सम्म हिँडेरै भएपनि खेतबारी, घर बस्तीमै पुग्ने गरिएको एमाले नेता एवं बाम गठबन्धनको प्रचारमा सक्रिय जनक कुमार बोहराले बताए । दैनिक १६ घण्टासम्म समेत हिँड्ने गरेको उनले थपे । मार्तडीबाट ४० कोस टाढा रहेका गाउँहरु पनि रहेका छन् । हिँडेरै पुग्नु पर्ने बाध्यता छ ।

दुर्गम भेग र भौगोलिक कठिनाई बढी भएकै कारण यो पटकको प्रचारमा नेताहरुले बढी खटन पटन गर्नु परेको छ । मतदाता समय दिने पक्षमा नरहेको मनोभाव बुझेपछि नेताहरुले शैली बदलेका छन् । सम्बन्धीत गाउँमै पुग्दा अवस्था बढी भुगोल, समस्या र संभावना समेत जानकारी पाईने हुँदा दलहरुका लागि अवसर पनि बनेको छ ।

हलो जोत्दै बामगठबन्धन प्रदेश (ख) का उम्मेदवार प्रकाश शाह ।

प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि बाजुरामा मंसिर १० गते चुनाव हुदैछ । मतदान गर्न अब १९ दिन मात्र बाँकी छन् । मंसिर ५ सम्म सबै बस्ती र टोलमा पुगिसक्ने योजनामा दलहरु रहेका छन् । उसो त गाउँका किसानलाई चुनावले छोएको छैन । कतिपय किसान खेती सम्हाल्नमै र खेती लगाउनमै व्यस्त छन् । चुनावअघि नै घरको काम सक्ने र मनपर्ने दलका कार्यक्रममा सहभागी हुने धेरै किसानको धोको छ । गत असारमा भएको स्थानीय चुनावमा किसान खेतीपाती छाडेरै भए पनि चुनावमा सक्रिय बनेका थिए । तर अहिले भने किसानले कम चासो लिएका छन् ।

किसानका लागि मानो रोपेर मुरी उत्पादन गरेको अन्नबाली भित्र्याउने यो बेला अहिले मुख्य समय हो । त्यसैले धेरै मतदाता धान खेतमै व्यस्त छन् । पार्टीहरूले कृषिप्रधान देशको नामअनुसार किसानका हितमा चुनाव नगर्दा चाहेर पनि सहभागि हुन नपाईएको किसानहरुको गुनासो छ । तर दलका नेताहरुको प्रचार शैली प्रति भने उनीहरु खुसी छन् ।

संयुक्त प्रचारमा गठबन्धन

चुनावका लागि उम्मेदवारी दिएका दलहरुले पार्टीको प्रचारप्रसार कार्यक्रम तीव्ररुपमा अघि बढाएका छन् । वाम गठबन्धनका लागि नेकपा (एमाले) र माओवादी केन्द्रको संयुक्त टोलीबाट प्रचारप्रसार शुरु भएको छ । यता नेपाली काँग्रेसले पनि जिल्लाभरि नै कार्यकर्तालाई परिचालित गरेको छ । गठबन्धनका दुवै दलका साझा उम्मेदवारलाई जिताउन उत्तिकै जिम्मेवारी रहने बताउँदै केन्द्रीय, जिल्ला तथा स्थानीय तहका नेता कार्यकर्ता परिचालित छन् । नेपाली काँग्रेसका नेताहरु पनि गाउँ पसिसकेका छन् ।