२२ कार्तिक २०८३, आइतबार

निकुञ्ज हुँदै माडी जाँदा लाग्ने शुल्क हट्यो: मन्त्री पाण्डे

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २१ कात्तिक । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाँदा लाग्ने गरेको कर हटाइएको बताएका छन् । मंगलबार पत्रकारसँग कुरा गर्दै उनले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निकुञ्जमा लाग्ने कर हटाउने निर्णय गरी राजपत्रमा प्रकाशनका लागि पठाइसकिएको पाण्डेले बताए । अबको केही दिनमा नै सो निर्णय कार्यान्वयनमा आउने उनले बताएका छन् ।

माडीवासीले सदरमुकाम आउँदा जाँदा प्रत्येक पटक शुल्क तिर्नुपर्ने बाध्यता रहेको भन्दै उनले शुल्क हटेसँगै माडीवासीलाई सहज हुने बताए । अहिले माडीवासीले भरतपुरबाट माडी जानका लागि मोटरसाइकल, बयलगाडा र टाँगाको रु १० कर तिर्दै आएका छन् । त्यस्तै, भने बस, कार, जिप, ट्याक्टर, लरीलगायत पाँच टनसम्मका सवारी साधनले रु ५० शुल्क तिर्ने गरेका छन् ।

मन्त्री पाण्डेले माडी जाँदा र भरतपुर आउँदा निकुञ्जभित्र पर्ने सडक छेउमा आवागमन गर्न असहज भएका रुख काटिसकिएको बताउँदै निकुञ्जभित्रको सडक एक वर्षभित्र कालोपत्रे गर्ने कामका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । माडी क्षेत्रमा छिट्टै जडीबुटी उद्योग स्थापना गरी सो क्षेत्रमा पाइने जडीबुटीलाई प्रयोग गर्दै उद्योग सञ्चालन गरिने मन्त्री पाण्डेले बताए । यसका लागि इजरायली प्रविधिबाट खेती गर्ने र कृषिमा आधुनिकीकरण भित्र्याउन लागिएको उनको भनाइ थियो ।

चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिनिधिसभा सदस्यमा चुनावी प्रतिस्पर्धा गरिरहेका पाण्डेले अनावश्यक आश्वासन दिएर जनता झुक्याउने काम नगर्न आग्रह गरे । निकुञ्ज क्षेत्रमा आकाशे पुल वा सुरुङ मार्ग सम्भव नरहेको बताउँदै उनले चितवनका जनताले यो कुरा राम्रोसँग बुझेको बताए । –रासस