२२ कार्तिक २०८३, आइतबार

मत खरिदबिक्री नगर्न प्रमुख निर्वाचन आयुक्तको आह्वान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिदबिक्रीमा नलाग्न आह्वान गरेका छन् । निर्वाचन आयोगले मंगलबार आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा डा. यादवले राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गर्दै भने, ‘मतदाता शिक्षा र मतदान गर्ने काम मतको सुरक्षा र सुनिश्चितताका लागि हो, जनताको मतविना प्रजातन्त्र सुदृढ हुन सक्दैन । त्यसको सुरक्षा कसरी गर्ने भन्ने जिम्मेवारी हामी र हाम्रो हो ।’

डा. यादवले जनशक्ति खटनपटनमा ट्रेड युनियनको प्रभावमा नपरी काम गर्न प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकृतहरुलाई आग्रह गरे । ‘प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र निर्वाचन अधिकृतलगायतलाई दबाब आउनु सक्छ कि त्यहाँ फलानालाई मिलाइदिनुस् भनेर, त्यो चुनौतीको विषय हो’ उनले भने, ‘त्यसलाई उचित ढंगले समाधान गर्दै मतदानस्थलमा खटिने जनशक्तिको उचित व्यवस्थापन गर्नमा लाग्नुहोस् ।’

डा. यादवले राजनीतिक दल र जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिलाई नगरमा सरसफाइको काममा ध्यान दिन पनि आग्रह गरे । निर्वाचनमा नगर बोर्ड, ब्यानर, झण्डा र पोष्टरले रंगाउन सक्ने भएकाले त्यस्ता वस्तुलाई नगर र नगरभित्र राख्न रोक लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्दै भने, ‘नगरलाई आजैदेखि सफा राख्नका लागि म प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र नगरपालिकालाई आग्रह गर्न चाहन्छु । नगरको सभ्यता जनताको सम्पत्ति भएकाले फोहर गर्न नदिनुस् ।’

आयोगका सहसचिव नवराज ढकालले मतदानको प्रक्रियामा केही परिमार्जन भएकाले त्यसमा ध्यान दिन सबै कर्मचारीलाई आग्रह गरे । ‘मतपत्रमा भएको डिजाइन र मतदान प्रक्रियामा भएको लेआउटको परिवर्तनको बारेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई थप प्रशिक्षण गराउनुपर्ने भएको छ’, ढकालले भने, ‘त्यससँगै ४०० भन्दा बढीको संख्यामा विदेशी पर्यवेक्षक पनि आउने भएकाले उहाँहरुले हेर्ने विषयमा ध्यान दिन आग्रह गर्दछु ।’

आज (मङ्गलबार) र भोलि (बुधबार) गरी दुई दिनसम्म चल्ने प्रशिक्षणमा काभ्रेपलाञ्चोकलगायत, काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रौतहट, पर्सा, चितवन, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप र सिन्धुली गरी १७ जिल्लाका ८१ अधिृकतको सहभागिता छ । –रासस