चितवन, २१ कात्तिक । चितवन क्षेत्र नम्बर २ का बामगठवन्धनका उमेदवारहरुले यस क्षेत्रका लालपुर्जाविहीन घरधनीहरुलाई स्थानीय सरकारसँग समन्वय गरी स्थायित्व कायम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
क्षेत्र नम्बर २ को (क) क्षेत्रअन्तर्गत नारायणगढको पोखरा बसपार्कस्थित नदी किनारका बस्तीमा मतदाताहरुसंगको भेटघाटका क्रममा उमेदवारहरुले केन्द्रिय, प्रादेशिक र स्थानीय तहका सबै सरकार बामपन्थीहरुको भईसकेपछि सुकुम्बासी समस्या सदाका लागी अन्त्य गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
चितवन क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य उमेदवार कृष्णभक्त पोखरेलले भरतपुर महानगरपालिकासँग समन्वय गरी सुकुम्वासी समस्या समाधान गर्ने बताए । ‘अब सिंहदरवारको अधिकार स्थानिय तहमा आएको छ’ पोखरेलले भने, ‘यहाँ बामपन्थी शक्तिकै उपस्थिती बलियो भएकाले समस्या समाधान गर्न कुनै अफ्ठ्यारो छैन ।’
स्थानिय तहमा प्राप्त मतका आधारमा क्षेत्र नम्बर २ मा बामगठवन्धनका उमेदवार विजयी बन्नेमा कुनै शंसय नरहेको जीकीर गर्दै पोखरेलले अत्यधिक मतान्तरले आफुहरुलाई विजयी गराउन स्थानियसँग अपिल समेत गरे ।
सोही क्रममा क्षेत्र नम्बर २ (क) का प्रदेश सभा सदस्य उमेदवार घनश्याम दाहाल ‘अविनाश’ले सुकुम्बासी जनताको माग बामपन्थीहरुबाट मात्रै संवोधन हुन सक्ने भन्दै मतदान गरी विजयी गराउन आग्रह गरे ।
मतदाताहरुसँगको भेटघाटमा प्रतिनिधी सभा सदस्य उमेदवार पोखरेल, प्रदेश सभा सदस्य उमेदवार दाहाल , समानुपातिक उमेदवारहरु नारायण दाहाल, पार्वती सिलवाल सहित एमाले र माओवादी केन्द्रका स्थानिय नेता कार्यकर्ताहरु सयौँसङ्ख्यामा सहभागी थिए । स्थानियले आफ्ना घर अगाडी उमदवारहरुलाई फुलमाला र घडाकलशले स्वागत गरेका थिए ।
चुनावी प्रचारकै क्रममा आज अपरान्ह भरतपुर २ को देवकोटाचोकमा प्रतिनिधीसभा सदस्य उमेदवार कृष्णभक्त पोखरेल र २ (ख) का प्रदेश सभासदस्य उमेदवार बिजय सुवेदीको उपस्थितीमा कोणसभा राखिएको क्षेत्रीय प्रचार संयोजक घनश्याम भट्टराई जानकारी दिएका छन् ।












प्रतिक्रिया