२२ कार्तिक २०८३, आइतबार

मार्तडी सरसफाइ गौरव यात्रा सुरु, शनिबार नगरप्रमुख आफै सरसफाइमा खटिने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १९ कात्तिक । बडिमालिका नगरपालिकाले मार्तडी सरसफाइ गौरव यात्रा २०७४ सुरु गरेको छ । जिल्ला सदरमुकाम रहेको बडिमालिका नगरपालिका भित्र पर्ने मार्तडी क्षेत्रका ७, ८ र ९ नम्बर वडालाई लक्षित गरी गौरव यात्राको सुरु गरेको हो ।  मार्तडी क्षेत्रलाई सरसफाइको नमुना र सुन्दर क्षेत्रका रुपमा विकास गर्न बडिमालिका नगरपालिका पूर्ण सरसफाइ अभियान अन्र्तगत मार्तडी सरसफाइ गौरव यात्रा सुरु गरेको नगर प्रमुख पदम बडुवालले बताए ।

अभियानको नगर प्रमुख बडुवालले खुला मञ्च मार्तडीमा आफैले फोहर टिपेर उद्घाटन गरेका हुन् । खानेपानीको उचित व्यवस्थापन र सरसफाइमा अधिकतम सुधार ल्याउन अभियान सुरु गरेको हो, सबैले साथ सहयोग गर्नु पर्छ, प्रमुख बडुवालले भने ।

मार्तडी क्षेत्र भित्र मात्र ६ हजार बढीको बसोबार रहेको छ । अव्यवस्थीत बस्ती, सार्वजनिक शौचालय र खानेपानीको उचित व्यवस्थापन नहुनु र बजारमा बस्नेहरुले जिम्मेवारी बोध नगर्दा मार्तडी दुर्गन्धीत क्षेत्रका रुपमा परिचित रहेको छ ।

नगरपालिकाले ठूलो लगानी गरेपनि मुहार सफा गर्ने गरी अभियान सञ्चालन गरेको नगरपालिकाका कार्यकारी अधिकृत त्रिलोक चन्द्रले बताए । पूर्ण सरसफाइ, खानेपानी व्यवस्थापनका लागि मात्र नगरपालिकाले यो वर्ष पौने दुई करोडको हाराहारीमा बजेट विनियोजन गरेको छ ।

पूर्ण सरसफाइ अभियान अन्तर्गत प्रत्येक शनिबार विहान ३ घण्टा बस्ती, टोल र चोकमा पुगेर स्वयम नगरप्रमुख सहीतको टोलीले सरसफाइ गर्ने, प्रत्येक दिन फोहर संकलन गर्ने, तीन वटै वटाले शनिबार बाहेक हप्ताको १ दिन वडा अधयक्षको नेतृत्वमा सरसफाइ टोल सुधार समितिसँगको समन्वयमा सरसफाइ गर्ने योजना बनाईएको छ ।

खानेपानी कार्यालय, खानेपानी उपभोक्ता समिति, दाता निकाय र प्रहरी प्रशासन लगायतका निकायसँग सहकार्य गरेर कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको वडा नम्बर ७ का अध्यक्ष प्रकाश रावलले बताए ।

सुरुमा व्यापारी, स्थानीय सहीतका व्यवसायीलाई अनुरोध गर्ने, नमाने कारवाही प्रक्रिया अगाडि बढाउने र नगरपालिकाले दिने सुविधा समेत कटौटी गर्ने नीतिका साथ अभियान सुरु गरिएको नगर प्रमुख पदम बडुवालले बताए ।

आजै नगरे कहिले गर्ने, मैले नगरे कस्ले गर्ने नाराका साथ अभियान सञ्चालन गरेका छौं, असहयोग गर्यो, विरोध जनायो, नीतिलाई मानेन भने कानुनी बाटो अपनाउन नगरपालिका बाध्य हुन्छ, बडुवालले भने ।

जिल्लालाई सन् २०२४ सम्म पूर्ण सरसफाइ युक्त जिल्ला घोषणा गर्ने नीति लिएको छ । २०७१ मंसिर १२ गते बाजुरा देशकै १६ औं जिल्लाका रुपमा खुला दिसा मुक्त जिल्ला घोषणा भएको थियो । नगरपालिका भित्र पूर्ण सरसफाइसँग सम्बन्धीत गतिविधिपनि सञ्चालन भईरहेको पीस्विन कार्यक्रम अधिृकत पदम साउँदले बताए ।

निमन्त्रणा कार्ड बाँड्ने  नगरपालिकाले सञ्चालन गरेको अभियानलाई थप प्रभावकारी र सबैको अपनत्व गराउन सरसफाइ निमन्त्रणा कार्ड बाँड्ने भएको छ । अभियानकै पहिलो दिन ९ जना दुनी हाटबजारका व्यापारीलाई कार्ड वितरण गरिएको छ ।

सभ्य भाषा र विनम्र अनुरोधका साथ पूर्ण सरसफाइका सूचक सहीत लेखिएको निमन्त्रणा कार्ड प्रत्येक परिवारलाई दिएर अभियानका सहकार्य गर्न अपिल गर्ने नगर प्रमुख पदम बडुवालले बताए । कार्डमा लेखिए अनुसारको काम भए नभएको कामको अनुमगन समेत नगरपालिकाले गर्ने भएको छ ।

करोडौंको लगानीले समेत सरसफाइमा रंग नफरेको मार्तडीलाई सभ्यता र स्वच्छताको नमुना बनाउने महत्वकाक्षी लक्ष्य नगरपालिकाले लिएको छ । पीसविन, किर्डाक, साहस, सुआहारा सहीतका गैर सरकारी निकायलाई समेत साथमा लिएर काम गर्ने योजना नगरपालिकाको छ । निमन्त्रणा कार्ड वडा अध्यक्षको समन्वयमा प्रत्येक घरमा पठाईने भएको छ ।