२९ आश्विन २०८३, बिहिबार

को हुन् किम जोंग उनकी श्रीमती ? यसरी बाहिरियो रहस्यमयी तथ्य

18.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी (बीबीसी) । उत्तर कोरियाली नेता किम जङ-अनकी श्रीमतीको परिचयसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ किनकि त्यो प्रश्न रहस्यले घेरिएका किम जङ-अनसँग सम्बन्धित छ ।

किम जङ-अनका सन्तानको संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी छैन । सन् २०१२ को गर्मीयामदेखि रि सोल-जु सार्वजनिक रुपमा देखिन थालेकी हुन् ।

त्यसको केही समयपछि सरकारी सञ्चारमाध्यमले रि सोल-जु किम जङ-अनकी श्रीमती भएको बताउन थाले तर त्यसअघिको पनि उनको जीवन एउटा पहेली जस्तै छ ।

गायिका की राष्ट्रिय खेलकुद टोलीकी कप्तान

केही सञ्चारमाध्यमका अनुसार उनी एक गायिका थिइन् । तर केही सञ्चारमाध्यमहरु रि सोल-जु राष्ट्रिय खेलकुद टोलीकी ‘चीयरलीडर’ भएको बताउँछन् ।

उत्तर कोरिया लिडरशीप वाच वेबसाइटकी सहयोगी सिएर म्याडनले बीबीसीसँग कुरा गर्दै भनिन्, “रि सोल-जुको बिहे सन् २००९-१० मा भएको थियो । त्यसअघि उनी एक गायिका र चीयरलीडर थिइन्, उनले जापान र दक्षिण कोरियाको यात्रा पनि गरेकी थिइन् ।”

रि सोल-जुको जीवनबारे यो भन्दा बढी जानकारी उपलब्ध छैन । उनको उमेरबारे उत्तर कोरियाली शासकको तर्फबाट कुनै जानकारी उपलब्ध गराइएको छैन । तर रि सोल-जुको उमेर ३० वर्षभन्दा बढी नभएको ठानिन्छ ।

उत्तर कोरियामा मिशेल ओबामाजस्तै भुमिका

विशेषज्ञहरुका अनुसार किम जङ-अन सन् १९८३ वा १९८४ को ज्यानुअरी ८ मा जन्मिएका हुन् । सधैँ मुस्कुराइरहने र सार्वजनिक कार्यक्रममा किम जङ-अनसँगै देखिने रि सोल-जुको तुलना पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामासँग गरिन्छ ।

म्याडनका अनुसार उत्तर कोरियामा रि सोल-जुको भूमिका मिशेल ओबामाभन्दा कम हुन सक्दैन । पछिल्लो समय क्षेप्यास्त्र परीक्षण र सौन्दर्य उत्पादक कम्पनीको उद्घाटन लगायतका कार्यक्रममा रि सोल-जु किम जङ-अनसँगै देखिएकी थिइन् ।

हालसालै कैयौँ मुलुकले उत्तर कोरियालाई विलाशी सामानहरु निर्यात गर्न बन्द गरेका छन् । त्यसलाई मध्यनजर गर्दै सौन्दर्य सामाग्रीको अभाव नहोस् भनेर उत्तर कोरियाले त्यसको उत्पादन थालेको बताइन्छ ।

किमले तोडे आफ्नै पिताको परम्परा

किम जङ-अनले श्रीमती रि सोल-जुलाई आफूसँगै सार्वजनिक कार्यक्रममा उपस्थित गराएर एउटा परम्परा पनि तोडेका छन्।

उनका बुवाले आफ्नी श्रीमतीहरुलाई सार्वजनिक कार्यक्रममा उपस्थित गराउने गरेका थिएनन् । म्याडन भन्छिन्, “यो नयाँ कुरा नै हो किनकि रि सोल-जुलाई उत्तर कोरियामा आमाको स्थान दिन थालिएको छ ।”

उत्तर कोरियाको सत्तारुढ परिवारबारे अवलम्बन गरिने गोपनीयताका कारण किम जङ-अनका सन्तानको संख्याबारे पनि वास्तविक जानकारी छैन।

दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार रि सोल-जुले गत फेब्रुअरीमा तेस्रो बच्चा पाएकी थिइन् तर बच्चाको लिङ्ग र नामबारे केही थाहा हुन सकेको छैन।

पछिल्लो वर्षको सात महिनाजति रि सोल-जु सार्वजनिक रुपमा नदेखिएपछि त्यतिबेला उनी गर्भवती भएको अनुमान गरिएको थियो ।

नीति निर्माण तहमा बहिनीलाई शक्तिशाली बनाउँदै

रि सोल-जुले पहिलो बच्चा सन् २०१० मा र दोस्रो बच्चा सन् २०१३ मा पाएको बताइन्छ तर बाह्य संसारलाई बच्चाहरुको लिङ्गबारे थाहा हुन नसकेकोले किम जङ-अनको उत्तराधिकारीबारे केही अनुमान गर्ने अवस्था छैन।

अनजानमा बास्केटबल खेलाडी डेनिस रोडम्यानले किम जङ-अनका दोस्रो सन्तान छोरी भएको सार्वजनिक गरेका थिए।

गार्डियन पत्रिकालाई सन् २०१३ मा दिएको अन्तर्वार्तामा उनले किम जङ-अन एक असल व्यक्ति भएको र उनकी एक छोरी पनि रहेको बताएका थिए।

बिदा मनाउने क्रममा किम जङ-अनकी छोरीलाई हातमा लिएर आफूले खेलाएको रोडम्यानले बताएका थिए।

हालै किम जङ-अनले आफ्नी बहिनी किम यो-जङलाई नीति निर्माणको तहमा पुर्‍याउँदै थप अधिकार प्रदान गरेका थिए।

सार्वजनिक कार्यक्रममा प्रायः किम जङ-अनसँगै देखिने ३० वर्षीया किम यो-जङले दाइको सार्वजनिक छवि बनाउनमा भूमिका निर्वाह गरेको ठानिन्छ।