
हेम रोकाहा / दैनिक नेपाल
काठमाडौँ, १९ कात्तिक । पोखरामा मोटरसाइकलमा हिँड्दाहिँडदै तार चुँडिएर ज्यान गुमाएका एक युवाको निधनले यतिबेला कास्की जिल्ला शोकमा डुबेको छ । विद्युत प्राधिकरणको लापरबाहीका कारण एक युवाले अकालमै ज्यानमात्र गुमाएनन्, उनको उपचारका लागि करोड भन्दा बढी खर्च भएको छ । तर, दैवको लिला, करोडले पनि उनलाई बचाउन सकेन्, विद्युत प्राधिकरणको लापरबाहीका कारण एउटा युवा प्रियजनहरुलाई छाडेर अकालमै संसारबाट विलीन भएका छन् ।
घटना हो, कास्कीको । गत साउन २६ गते पोखरा–लेखनाथ महानगरपालिका–२० भलामका विष्णु वस्ताकोटीको जीवनमा अकल्पनीय बज्रपात भयो । ग ६ प ८१२८ नम्बरको मोटरसाइकलमा पोखरा रानीपौवाको बाटो हुँदै घरतर्फ जाँदै गर्दा बिजुलीको नाङ्गो तार खसेर लाग्दा गम्भीर घाइते भए । विद्युतको तार चुँडेर गुडिरहेको मोटरसाइकलमा करेन्ट प्रवाह हुँदा बस्ताकोटीको ज्यानमै आगो बलेको थियो । सुन्दै जिरिंग हुने यस घटनामा वस्ताकोटीको आधा शरीर करेन्टले जलेको थियो ।
उनलाई तीन महिनासम्म काठमाडौँको ग्राण्डी अस्पतालमा आइसीयू र भेन्टिलेटरमा राखेर बचाउने प्रयास गरियो । तर, शुक्रबार प्राण गयो ।
योबीचमा उनको परिवारले एक जना सदस्य त गुमायो नै तर ठूलो आर्थिक नोक्सानी पनि हुन पुग्यो । तीन महिनासम्म उपचार गरेवापत ग्राण्डी अस्पतालले वस्ताकोटी परिवारबाट १ करोड ११ लाख रुपैयाँ शुल्क लियो । सायद विरामीको उपचारको क्रममा धेरै कमैले मात्र यति ठूलो धनराशी खर्चिएका हुन्छन् । तर, मान्छेको शरीरका अगाडि नाथे पैसाको के कुरा रह्यो र ? विष्णुलाई बचाउनका लागि परिवारले भएको जायजेथा सबै गुमाउन तयार भयो । तर, निष्ठुरी दैवका अगाडि के लाग्थ्यो र ? उनलाई बचाउनका लागि गरिएका सयौं प्रयास निरर्थक बने ।
सुन्दर शहर पोखरा । तर, सडकको दायाँ बायाँ ठडाइएका पोलमा असरल्ल तारले नेपालका अन्य शहरजस्तै पोखरालाई पनि कुरुप बनाएको छ । त्यसमा पोखरा अपवाद हुने कुरै भएन् । झन् पोखरामा त विद्युत प्राधिकरणको ठूलै बेथिती छ । बिजुलीको नांगो तार चुँड्दासम्म पनि प्राधिकरणले थाहा नपाउने अबस्था छ । यस्तै यस्तै गल्तीका कारण अकालमै ज्यान गुमाउनुपरेका घटना छन् ।
२६ बर्षका विष्णुको जीवनमा बज्रपात आइपरे पछि उनका आफन्त, छिमेकी र उनले पढाउने शिशु निकेतन विद्यालयका विद्यार्थीहरुले प्राधिकरणमा धर्ना दिए । धर्नाका क्रममा निकै तनावको वातावरण पनि सिर्जना भयो । अन्ततः आफ्नो गल्ती स्वीकार गर्दै प्राधिकरणले उपचार खर्च व्यहोर्ने आश्वासन दियो ।
विष्णुको मृत्युबारे जानकार रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस घटनाबाट आफू दुःखित भएको दैनिक नेपाललाई बताए । दुर्घटनाप्रति प्राधिकरण सम्पूर्ण रुपमा जवाफदेही रहेको कुलमानले स्वीकारेका छन् ।
उनका अनुसार, प्राधिकरणले ६० लाख भन्दा बढी रकम ग्राण्डी अस्पताललाई तिरिसकेको छ । अब ५१ लाख रुपैँया तिर्न बाँकी छ । अन्य रकम पनि प्राधिकरण तिर्न तयार रहेको उनको भनाई छ । ‘नियमअनुसार उहाँको परिवारलाई गर्नुपर्ने व्यवस्था पनि गर्दैछौँ’ कुलमानले भने, ‘यस्तो दुर्घटनालाई हामीले गम्भीर रुपमा लिएका छौँ, यसले हामीलाई पनि दुःखी बनाएको छ ।’
यहाँ कुरा दुर्घटनाको क्षतिपूर्तिको मात्रै होइन, कुरा अबका दिनमा प्राधिकरणले जिर्ण विद्युतीय संरचनाहरुको व्यवस्थापनमा जिम्मेवार बन्ने कि नबन्ने भन्ने हो । देशभरको अवस्था उस्तै छ । सबै तिरका विद्युतिय संरचनाहरु व्यवस्थापन तथा मर्मत सम्भार गर्नुपर्ने देखिएका छन् ।
हुन त दुर्घटना भन्ने कुरा जहाँ पनि हुन्छ । विकसित भनिएका राष्ट्रहरुमा पनि यस्ता दुर्घटना हुँदैनन् भन्ने होइन । अन्य देशमा विद्युत, टेलिफोनका तारहरु जमीनमुनी बिछ्याउने गरिन्छ । तर हाम्रो देशका विद्युतिय संरचनाहरु निकै जोखिमपूर्ण छन् । जसले जुनकुनै बेला मानिसको ज्यान लिन सक्छन् ।
तर, कुलमानले विष्णुको निधनमा श्रद्धान्जली व्यक्त गरेर मात्र पुग्ला ? पक्कै पुग्दैन । किनकी विद्युत प्राधिकरणको प्रमुखको नाताले यसको जिम्मेवारी तपाईंकै हो । लोडसेडिङलाई एकै झट्कामा निर्मुल पारेजस्तै यस्ता बेथिती र जोखिम अन्त्य गर्न उनले आजैदेखि पहलकदमी लिन जरुरी छ । किनकी अबका दिनमा विष्णुहरुले यसरी मृत्युवरण गर्न नपरोस् ।















प्रतिक्रिया