१५ कार्तिक २०८३, आइतबार

कांग्रेसमा नवप्रवेशीलाई काख, को–को परे ?

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा माओवादी केन्द्रबाट राज्यमन्त्री बनेका शम्भुलाल श्रेष्ठ उम्मेदवारी मनोनयनको ठिक दुई दिनअघि नेपाली कांग्रेसमा प्रवेश गरे ।

चार वर्ष एक महिनाको माओवादी यात्रापछि श्रेष्ठले बिहीबार सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट उम्मेदवारी दर्ता गराए ।  नागरिक दैनिकले समाचार छापेको छ ।

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि उम्मेदवारी मनोनयन गर्ने दुई दिनअघि उनी कांग्रेस छाडेर तत्कालीन एमाओवादीमा पसेका थिए । त्यसबेला सर्लाही क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनले सो क्षेत्रमा पनि उम्मेदवार बनेका तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई पराजित गरेका थिए ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसाट उम्मेदवार बनेका जंगीलाल रायले पनि दुई साताअघि राष्ट्रिय जनता पार्टी (राजपा) छाडेका थिए । मधेसवादी दल गठन हुनुअघि उनी कांग्रेसका जिल्ला नेता थिए ।

माओवादी केन्द्रले सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएका रामेश्वर राय  र ४ नम्बरबाट उम्मेदवार बनेका शिवपुजन यादव पनि स्थानीय चुनावका बेला मधेसकेन्द्रित दल छाडेर माओवादीमा प्रवेश गरेका थिए ।

करिब एक वर्षअघि तत्कालीन राप्रपा नेपाल छाडेर एमाले प्रवेश गरेका सुनसरी मनोज श्रेष्ठले पनि सुनसरी निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाए । श्रेष्ठको उम्मेदवारीको विषयलाई लिएर एमाले सुनसरीभित्र व्यापक असन्तुष्टि छ । लामो समयदेखि त्यस क्षेत्रबाट एमालेका उम्मेदवार बन्दै आएका केन्द्रीय सदस्य जगदीश कुसियत श्रेष्ठकै कारण प्रदेशसभा सदस्य उम्मेदवार बन्न बाध्य भए ।

बुधबार साँझ मात्र कांग्रेस छाडेर एमाले प्रवेश गरेका रामप्रसाद मेहताले प्रदेशसभातर्फ सुनसरी–२ (ख) बाट उम्मेदवारी दर्ता गराए । यसअघि उनी  कांग्रेस सुनसरी निर्वाचन क्षेत्र २ का  सभापति थिए । पार्टी बदलेको छोटो समयमै टिकट पाउने सूचीमा मेहता पर्छन् । त्यसैगरी नेपाल लोकतान्त्रिक फोरम परित्याग गरेर एमाले पसेका अब्दुल रजकले रौतहट–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराए ।

तीन दिनअघि मात्रै नेपाली कांग्रेस छाडेर माओवादी केन्द्र पसेका सिरहा कांग्रेस नेता सुरेशचन्द्र दासले निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराए ।

एमाले पूर्वसांसद तथा पूर्व राज्यमन्त्री मोहनसिंह राठौरले कांग्रेसमा प्रवेश गरेको दुई दिनमै  कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराए ।

त्यस्तै एक साताअघि एमाले प्रवेश गरेका लगनलाल चौधरीले प्रदेशसभातर्फ सिरहा–१ (क) मा उम्मेदवारी दिए । उनी स्थानीय चुनावमा राप्रपाबाट मेयरमा प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी मंलगबार मात्रै राजपा छाडेर एमाले पसेका ओमप्रकाश यादव गुल्जारी रुपन्देही– ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । उनलाई पार्टीभित्र ल्याउन एमाले उपाध्यक्ष वामदेव गौतम र उपमहासचिव विष्णु पौडेले मर्चवार पुगेका थिए ।

दलहरूले समानुपातिकतर्फ पनि नवप्रवेशीलाई उम्मेदवार बनाएका छन् । नेकपा मालेबाट आएका आइन्द्र सुन्दर नेम्बाङ, चुरे भावरबाट आएका बद्री मैनालीलाई एमालेले समानुपातिक उम्मेदवार बनाएको छ । कांग्रेसले पनि गत साता मात्रै राप्रपाबाट कांग्रेस प्रवेश गरेका पोखराका उद्यमी सूर्यबहादुर केसीलाई समानुपातिक सूचीमा राखेको छ ।

तेस्रो चरणअन्तर्गत प्रदेश २ मा असोजमा भएको स्थानीय चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयरमा टिकट नपाएपछि राजपाबाट विद्रोह गरेर नेपाल लोकतान्त्रिक फोरम प्रवेश गरेका विमल श्रीवास्त अहिले संघीय समाजवादी फोरमबाट पर्सा– १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । दुई महिनाभित्र उनले तीनवटा दल बदलेका छन् ।

अतिरिक्त प्रहरी महानिरीक्षकबाट राजीनामा दिएर भर्खरै एमाले पसेका नवराज सिलवाल ललितपुर –१ बाट प्रतिनिधिसभा सदस्य  उम्मेदवार बनेका छन् ।

त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक मनोहर पराजुली दल अदलबदल संस्कृति बढ्नुमा राजनीतिक दल र व्यक्ति दुवै जिम्मेवार रहेको ठान्दछन् ।

‘दलभित्र अवसर वितरणमा रहेको अस्थिर मापदण्ड र सत्ता तथा शक्तिमा रहिरहन खोज्ने प्रवृत्ति यसको प्रमुख कारण हुन्,’ पराजुलीले भने, एउटा दलको झन्डा वा सिद्धान्त बोकेको मानिस कसरी रातारात अर्को दलको बन्न सक्छ ?’ उनले भने । अमेरिकाबाट चुनाव र प्रजातन्त्र विषयमा पिएचडी गरिरहेका पराजुलीले थपे, ‘दल अदलबदल प्रवृत्ति प्रजातान्त्रिक स्थायित्वका लागि घातक हो ।’