
–शिवजी श्रेष्ठ
यो चुनावका नायक गुण्डा नाइके दीपक मनाङे र गणेश लामाहरु बनेका छन्, उनीहरुका सामु नवराज सिलवालहरु फिक्का सावित भएका छन् । अर्थात विचरा देखिएका छन् ।
आज भन्दा करिब तीन दशक अगाडि हामीलाई ल–क्याम्पसमा बीएलको फौजदारी कानून पढाउने क्रममा सुवास सर (सुवास नेम्बाङ) ले तत्कालिन राष्ट्रिय पञ्चायतको सदस्यहरुलाई ब्यङ्ग्य गर्दै भन्ने गर्नुहुन्थ्यो – ‘यी कानून बनाउने माननीयहरु उच्च नैतिक चरित्र भएका, कानून खर्लप्पै बुझेका, अति विद्धान हुन्छन्’ उहाँको ब्यङ्ग्यमा हामी हाँस्थ्यौँ । उहाँ मन्द मुस्कानमा दंग पर्नुहुन्थ्यो । कालान्तरमा उहाँ त्यही कानून बनाउने ब्यवस्थापिकाको सभामुख हुनुभयो र प्रमुख पार्टीमध्ये एमालेको सभासदहरुको टिकट वितरण गर्ने हैसियतमा हुनुहुन्छ । सोध्न मन लागेको छ – आफैँ टिकट दिने हैसियतमा पुगिसक्नु भएका सुवास नेम्बाङ सरलाई कति उच्च नैतिक चरित्र भएका विद्धानहरुलाई टिकट दिन सक्नुभएको छ ?
अहिलेको तातो बहस अनि प्रसंग प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन र त्यसका लागि प्रस्तावित उम्मेद्वारहरुकै हो । चर्चामा छ, समाजमा गुण्डा भनेर परिचित भइसकेका अनि राज्यको सुरक्षा अंगले पटक–पटक पक्राउ गरेर कारवाहीको दायरामा ल्याइसकेकाहरु नै प्रमुख पार्टीहरुबाट प्रस्तावित भएका छन् । अझ रोमान्चित प्रसंग त हिजो त्यही व्यक्तिलाई गुण्डा घोषणा गर्दै आफू काठमाडौँ प्रहरीको नेतृत्व लिने बित्तिकै खोजी खोजी पक्राउ गर्न आदेश दिने पूर्व प्रहरी अधिकृतहरु पनि राजनीतिमा प्रवेश गरेका छन् । त्यति मात्रै होइन, ती प्रहरी अधिकृतहरुले प्रतिनिधिसभाको निर्वाचनमा टिकट पनि पाउने समाचारहरु बाहिरिएका छन् । कति त एउटै पार्टीको झण्डाभित्र परेका छन् । गजब छ यो राजनीति र समयको खेल पनि । कस्तो हुन्छ होला त्यो प्रतिनिधिसभा, जब दिपक मनाङे एमालेमा आएको हल्लाकै बेला एमाले प्रवेश गरेका पूर्वडीआईजी नवराज सिलवाल ललितपुरको प्रतिनिधिसभामा उम्मेद्वार हुँदै निर्वाचित भए भने ?
अझ कति रमाइलो हुने होला त्यो प्रतिनिधिसभा यदि केही समय अगाडिसम्म काठमाडौँ प्रहरी प्रमुख रहेर उही दिपक मनाङेलाई पक्रन आदेश दिने पूर्वएसएसपी बिक्रम सिंह थापाले पनि नेपाली काँग्रेसबाट टिकट पाएर प्रतिनिधिसभामा प्रवेश गर्न सके भने ?
अर्का पनि गुण्डा नाइके यही बेला काँग्रेसमा छिरेका छन् । यसअघि फोरम लोकतान्त्रिकले नेता बनाएका काभ्रेली गुण्डा गणेश लामा विजयकुमार गच्छदारसँगै काँग्रेसको चारतारे झण्डा मुनि आश्रय लिन पुगेका छन् । उनी पनि टिकटका लागि मारामार गरिरहेको समाचार सार्वजनिक भइसकेको छ । यो चुनावका नायक गुण्डा नाइके दीपक मनाङे र गणेश लामाहरु बनेका छन्, उनीहरुका सामु नवराज सिलवालहरु फिक्का सावित भएका छन् । अर्थात विचरा देखिएका छन् ।
यस्ता घटनाले कता–कता तत्कालिन राष्ट्रिय पञ्चायतको झल्को आउने होला नि जब तत्कालिन रापस गोविन्द उप्रेतीले पशुपतिशमसेर जबरालाई ‘ओ पशुपति आइज म लड्न तयार छु’ भनेर ललकारेको । बास्तवमा राजनीतिमा असम्भव भन्ने कुरा केही रहेनछ ।
प्रहरीमा हुँदा कस्ता–कस्ता कुरा भोग्नुपथ्र्यौ कि अहिले बहालमा रहेका प्रहरीले अझ यो चुनावमा कति कुराहरु भोग्ने हुन् । दवाब च्यालेन्ज, आरोप अनि कति कुरा भोग्नुपर्ने होलान् ? प्रसंग हो वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनको । मोरङको ७ नं. क्षेत्रको निर्वाचन सुरक्षा कमाण्डरको नाताले गस्ती गर्दै गर्दा त्यही मोरङ क्षेत्र नं. ७ कै प्रतिनिधिसभाको राप्रपाको उम्मेद्वार पूर्वमन्त्री बद्रीप्रसाद मण्डलसँग जम्काभेट भो । ८–१० वटा भारतीय नम्बर प्लेटको गाडीमा शंकास्पद टनाटन मानिसहरु लिएर हिँडेको देखेपछि गाडी र गाडीको कागज खानतलासी गर्न खोज्दा बद्री मण्डलले प्रहरीलाई रोक्दै आकाशतिर इशारा गर्दै भने –‘उ त्यो गिरिजा (तत्कालिन प्रधानमन्धी) को हेलिकप्टर चेक गर्नु’ । अनि आफूसँग आएका मानिसहरुलाई उत्तेजित पार्दै मलाई आरोप लगाउँछन् – ‘के मेरा मान्छेलाई गोली हान्न आएको ?’ उनी चाहन्थे म पनि उत्तेजित होस् र बल प्रयोग गरोस् । मैले धैर्य गुमाएको भए के हुन्थ्यो ?
यी गुण्डा पृष्ठभूमिबाट राजनीतिमा आएकाहरुको हर्कत यस्तै नै हुन्छ । चाहे त्यो जुनसुकै स्तरमा पुगोस् वा जुनसुकै पार्टीमा प्रवेश गरोस्, यी चाहन्छन् प्रहरीको मनोबल खस्कियोस्, प्रहरी ब्यवस्थापन भताभुंग होस्, यिनलाई सार्वजनिक तवरले खसाल्न सकियोस् । जब अच्यूतकृष्ण खरेल आइजीपी थिए, तत्कालिन राज्यमन्त्री खोमरी रायले सार्वजनिक ठाउँमा आइजीपीलाई खसाल्न खोज्दै भनेछन् – ‘ओ आइजीपी सा’ब, तपाईंले सिकेको अनुशासन त्यही हो ? मन्त्रीको अगाडि उपर खुट्टी लगाएर बस्ने ?’ यी तिनै खोमारी राय हुन् जसले केही समय अगाडि काठमाडौँको डिस्कोमा पेस्तोल फायर गरेका थिए । अनि सांसदको पदीय प्रभावमा उन्मुक्ति पाएका थिए । यी र यस्तैहरु हुन् प्रहरी र शान्तिसुरक्षामा हुँकार गर्नेहरु ।
विक्रम सम्वत २०५४ सालमा म वडा प्रहरी कार्यालय महाराजगञ्जको इन्चार्ज थिँए । स्थानीय चुनावको माहौल थियो । राति गस्तीको क्रममा हाम्रो गस्ती टोलीले केही जँड्याहाहरु मातेर हल्ला गर्दै गरेको अवस्थामा समातेर ल्यायो । नियम अनुसार वीर अस्पतालमा मेडिकल चेकबाट प्रमाणित गरेर अफिस ल्याएपछि एक जमात राजनीतिक डेलिगेशन आए, त्यतिखेर प्रभावशाली उपप्रधानमन्त्री बामदेव गौतम गृहमन्त्री थिए । सत्तारुढ पार्टीको प्रतिनिधित्व गर्ने त्यो राजनीतिक डेलिगेशनले आफ्नो पार्टीको स्थानीय नेतालाई प्रहरीले अनाहकमा पक्रेर ल्याएको आरोप लगाउँदै छाड्न दबाव दिँदै थियो । पहिले आरोप अनि अनुनय, बिनय अनुरोध । मैले भनेँ– प्रहरीको गस्ती टोलीले मादक पदार्थ खाएर हल्ला गरिरहेको ठाउँबाट ल्याएको ।
वीर अस्पतालले पनि प्रमाणित गरेको कुरा उदृत गर्दै मैले भनेको थिँए –‘अब जिल्ला प्रशासन कार्यालयमा बुझाएर कानून बमोजिम मात्रै छुट्छ ।’ प्वाक्क बीचैमा आरोप ठोकिदिए – ‘ए सुनेका थियौँ, तपाई २०४९ सालको भर्ना, त्यही पार्टीको षड्यन्त्रमा हाम्रो पार्टीलाई हराउन खोज्दै हुनुहुन्छ ।’
भएको के रहेछ भने ती जाँड खाएर हल्ला गरेर पक्राउ परेका व्यक्ति सत्तारुढ पार्टीबाट वडा सदस्यका उम्मेदवार बन्नेवाला रहेछन् । त्यो आरोपलाई हल्का रुपमा लिदैँ मैले पनि हाँस्दै काउण्टर दिएँ – ‘ए २०४९ सालमा म भर्ना हुँदा जुन पार्टीको सरकार थियो, त्यससँग मलाई जोड्ने हो भने, अहिले तपाईँको पार्टीको सरकारले बनाएको आइजीपी पनि पञ्चायतकालको भर्ना हो, त्यसो भए उहाँ मण्डले हो त ?’ कुरा मिलेन उहाँहरु निस्कनुभयो । तर बेलुकासम्ममा मेरा आशन नै डगमगाउन सुरु भो । मैले एउटा प्रसंगमा भनिएको कुरालाई राम्रैसँग फूलबुट्टा भरेर सुनाइएछ । तब त मैले गुण्टा कस्नुपर्ने परिस्थिति श्रृजना हुँदैगयो । यही चाहन्थे ती राजनीतिक पार्टीका सदस्यहरु । एउटा तहल्का नै मच्चियो, मलाई हनुमानढोका बोलाइयो । म फिर्ता हुने वातावरण बनिसकेछ । तात्तिएर बसेका भ्याली इन्चार्जले सोध्नुभयो र भन्नुभो – आइजीपी झन् रिसले तात्तिएका छन् ।
मैले भएको ब्यहोरा र मेरा अडान सुनाएपछि भ्याली इन्चार्ज मत्थर भए । तब भ्याली इन्चार्जले एसएसपी र भ्याली डिआईजीलाई परिस्थिति बुझाउँदै आइजीपी क्वाटरमा तीनैजना पुग्नुभएछ । तब मात्र म महाराजगञ्ज यथास्थानमा फिर्ता भएँ ।
यस्ता तिकडम चुजावमा धेरै हुनेछन् प्रहरीविरुद्ध । धन्न ती भ्याली प्रमुख एसपी दिलिपकुमार श्रेष्ठ र एसएसपी अमरसिंह शाह समझदार र अडान लिनसक्ने काबिल प्रहरी अधिकृत थिए र मेरो अडानले मूर्त रुप लियो । प्रहरीको कर्तव्य नहेरेर आफ्नो मात्रै हित हेर्ने खालका अधिकृत भएको भए ?
त्यसैले अहिलेको चुनामा यीनै कुराहरु कुनै न कुनै रुपमा दोहारिनेछन् । प्रहरीहरुले यस्तै र त्यस्तै कुराहरु भोग्नुपर्नेछ । यिनिहरुका कुरा मानौँ, आफू निष्पक्ष भइँदैन । यिनका कुरा नमान्दा राजनीतिक आरोप लगाउँदै राजनीतिक शिकार बनाउने खतरा रहन्छ ।
तसर्थ सरोकारवाले बुझ्नुपर्ने कुरा प्रहरीले प्रहरी नै हुन पाउनुपर्छ । गुण्डाको स्वार्थको लागि हैन कि निष्पक्ष निर्वाचनको माहौल सिर्जना गर्ने एउटा संबाहकको रुपमा काम गर्ने माहौल सिर्जना गर्नुपर्छ ।
लेखक नेपाल प्रहरीका पूर्वडिएसपी हुन् । अहिले बेलायतमा बस्छन् ।















प्रतिक्रिया