नेपालको बर्तमान संबिधानअनुसार बहुदलीय प्रतिस्पर्धामा आएका कम्युनिष्टपार्टीहरू मिल्दैमा देशमा शान्ति, स्थायित्व र बिकास हुन्छ र त्यसलाई जनताले विश्वास गरेर जिताउछन् भने त्यसलाई नकारात्मक हिसाबले मात्र पनि लिनु हुँदैन । शेरबहादुर देउवा र कांग्रेसहरूले बाम गठबन्धन वा कम्युनिष्टले जिते भने देशमा अधिनायकवाद आउँछ भनेर आरोप लगाउनु हाँस्याद्पद कुरा हो ।
अनि आफूले गठबन्दन गर्दा चाहीँ अधिनायकवाद हुँदैन र ? जसलाई जनताले विश्वास गर्छन् त्यसैले सरकार चलाउने हो । कम्युनिष्टहरूले जितेमा देशमा साम्यवाद आउँछ र एकदलीय वा निरंकुश प्रणालीमा जान्छ भन्नु त आरोपका लागि आरोप मात्र हुन् । अनि सत्ताबाट बाहिरिनु पर्ने स्थिति देखेर छटपटाहट मात्र हो । किनकि त्यस्ता तथ्यहीन आरोपलाई सबै जनताले विश्वास गर्न सक्दैनन् । अरुलाई झुटो आरोप लगाउनुको सट्टा आफू राम्रो भिजन लिएर जनता सामु गएमा धेरै फाइदा हुँनेछ ।
धेरैलाई अचम्म लागेको छ । अचानक माओवादी र एमालेको गठबन्धन कसरी सम्भब भयो ? केका लागि गठबन्धन गरियो ? भित्री रहस्य के हो ? यसको जवाफ भने इमान्दार भएर माओवादी र एमालेले जनतालाई दिनै पर्छ । अनि जनतालाई यो कुरा बुझाउनै पर्छ । जे गर्छु भनेर गठबन्धन गरियो त्यो पनि पूरा गर्नुपर्छ । यदि बीचमा गठबन्धन तोडियो भने त्यसले नेताहरू अस्थिर र अपरिपक्व चरित्रका रहे छन् भनेर स्वतः प्रमाणित हुनेछ । एउटा परिवारमा त विचारहरू मिल्दैन । भिन्न पार्टी, भिन्न चरित्र, भिन्न मान्यता, भिन्न सिद्धान्त र व्यवहार भएका पार्टीहरू मिलेर अगाडि बढ्न सजिलो त पक्कै हुदैन । समझदारी गरेर अगाडि बढ्ने र बिबाद मिलाउन सक्ने क्षमता छ भने गठबन्धन अवश्य टिक्नेछ ।
जसले जत्ति आलोचना गरे पनि नेपालमा मनोमोहन अधिकारी नेतृत्वको सरकारपछि सबैभन्दा राम्रो काम गरेको र गर्न खोजेको केपी ओली नेतृत्वको सरकारले नै हो । यो कुरा स्थानीय निर्बाचनमा एमालेले पाएको जनमतले नै स्वतः प्रमाणित गर्छ । भूकम्प र नाका बन्दीको परिस्थितिमा पनि धेरै गर्न खोजेकै हो । अझ सामान्य परिस्थितिमा बहुमतको सरकार चलाउन पाउने हो भने त ओलीले पक्कै पनि धेरै काम गर्ने रहेछन् । ओलीलाई हावा र उखाने भन्नेहरू चार पटकसम्म प्रधानमन्त्री भएका छन् ।
तिनले चाहीँ के एउटा राम्रो काम गरेका छन् ? अब देशलार्इ समृद्धिमा लैजान ५ वर्ष स्थाई सरकार चाहिन्छ । त्यो स्थाई सरकारको नेतृत्व केपी ओलीले नै चलाउन सक्छन् । चुनाबी माहोल हेर्दा त्यो सम्भबना पनि देखिदै छ । ओलीमा पनि हजारौ कमजोरीहरू होलान । अहिलेलार्इ ओलीको बिकल्प देखिदैन । किनकि ३ जना खराबमध्य एकजना छान्नु पर्दा सबैभन्दा कम खराबलाई छान्नु पर्ने हुन्छ । बलियो नयाँ राजनीतिक पार्टी वा शक्ति नआउन्जेल अहिलेलार्इ यिनै राजनीतिक पार्टीहरूमध्यबाट इमान्दार नेता छान्नु पर्ने हुन्छ ।
स्थिर सरकार बन्न बहुमत चाहिन्छ । बहुमतका लागि बाम गठबन्धन एउटा बिकल्प हो । कांग्रेसलाई पनि गठबन्धन गरेर अगाडि आउन कसैले रोकेको छैन । एमाले र मावोवादीको गठबन्धन कायम राख्न्ने हो भने माओवादीलाई राष्ट्रपति र एमालेलाई प्रधानमन्त्रीमा कुरा मिलाउनु पर्छ । सरकारमा दुबै पार्टीका नेताहरू भै हाल्छन् ।
एमालेले गरेको गल्तीमा माओवादी जिम्मेबार हुदैन र माओवादीले हिजोका दिनमा गरेको गल्तीमा पनि एमाले जिम्मेबार हुदैन । यो राजनीतिको अर्को पाटो हो । बिगतका राम्रा र नराम्रा कामको मूल्यांकन जनताले गर्ने नै छन् ।
बुझ्नु पर्ने कुरा चाहीँ के हो भने एमाले र माओवादी गठबन्धन वा पार्टी एकीकरण भएर बहुमतको स्थिर सरकार भयो भने त्यो सरकारलाई भारतले कसरी हेर्छ ? त्यसमै नेपालको स्थिर सरकारको भबिष्य निर्धारण हुनेछ । किनकि स्थिर सरकारले भारतले चाहे जस्तो गरेन भने भित्रभित्रै केही संसदलाई किनेर सरकार ढलाउन वा पार्टी फुटाउन बाध्य पार्नेछ ।
भारतले माओवादीलाई हेग पुगाउने डर देखाएर प्रयोग गर्न सक्ने सम्भाबना पनि त्यत्तिकै छ । वाम गठबन्धनले भारतको हर चाल बुझ्न जरुरी छ । बिगतको भारतीय व्यवहार हेर्दा भारतलाई झट्ट विश्वास गर्न सकिदैन । भारतीय स्वार्थमा केही नेता बिके भने त्यो देशको लागि ठूलो घाटा त हुने नै छ । त्योभन्दा ठूलो घाटा माओवादी–एमालेलाई पनि हुनेछ । वाम गठबन्धनले यी कुरा बुझेर अगाडि बढ्ने हो भने स्थिर सरकार पनि सम्भव छ । नेपालको तिब्र बिकास पनि सम्भव छ ।















प्रतिक्रिया