ललितपुर, १२ कात्तिक । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा शनिवार काभ्रेको बनेपामा शाखा स्थानान्तरण तथा सदस्य सहकारी संघ संस्थाहरुबीच अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले सिन्धुपाल्चोक र काभ्रेमा भुकम्पबाट पीडित बनेकाहरुको पुनस्थापनाका लागि सहकारी बैक मार्फत सहयोगको अपेक्षा गरेका छन् ।
भुकम्पबाट प्रभावितहरु मध्ये ८० प्रतिशत जनता अहिले पनि पालमुनी बसेका छन्, उनीहरुलाई पुनस्थापनाका लागि राज्यले दिएको रकमले घर बन्दैन, उनीहरुसंग पैसा छैन, स्थानीय सहकारीहरुले पनि लगानी गर्न सकिरहेका छैनन्, त्यसकारण सहकारी बैंकले सहयोग गर्नु प-यो, सहभागीहरुको भनाइ थियो ।
सहकारी बैंकले आवास निर्माण कर्जाको व्यवस्था गरेर भुकम्प पीडितहरुलाई लामो किस्तामा कर्जा लगानी गर्न सक्ने हो भने स्थानीय सहकारीहरु मार्फत भुकम्प पीडितलाई पुनस्थापना गर्न सकिने र सहकारी क्षेत्रमार्फत उनीहरुलाई आयआर्जनका काममा समेत लगाउन सकिने महिला मातृ शिशु सहकारी संस्था सिन्धुपाल्चोकका व्यवस्थापक सकुन्तला माझीको भनाइ छ ।
माझी लगायत सिन्धुपाल्चोक र काभ्रेका सहकारीकर्मीहरुले राज्यले सहकारी क्षेत्रमा लगानी गर्ने वजेट लगायत बैंकको आफ्नो बजेट समेत भुकम्प पीडितका लागि लगानी गर्ने वातावरण बनाउन, कृषिजन्य उद्यमका विकासका लागि सहज रुपमा कर्जा लगानी गर्न, उत्पादन, प्रशोधन र बजारीकरणका कामलाई प्राथमिकता दिन बैंकसंग आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी बैंकले सदस्यलाई सिधै लगानी गर्न नपाउने भएकाले सहकारीहरुले योजना बनाएर आएमा लगानी गर्न सकिने भन्दै त्यसका लागि सहकारी संघ संस्थाहरुको क्रियाशिलता र समन्वय आवश्यक रहने बताउनुभयो । उहाँले बैंकले दिने सेवा सदस्यहरुकै सहभागितामा भैरहेको र राज्यका स्रोत परिचालनका लागि समन्वय भैरहेको बताउनु भयो । राज्यले दिने सेवा सुविधा सहकारी बैंक मार्फत परिचालन गर्ने हो भने त्यसको व्यवस्थापन गर्न बैंक तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा बैंकको वित्तीय अवस्था र आगामी कार्ययोजनाका बारेमा जानकारी गराउदै बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले सहकारीको माध्यमबाट जनताको आयस्तर माथि उठाउन, उनीहरुलाई पर्ने समस्याको समाधानका लागि बैंक सदैव तत्पर रहेको र त्यसका लागि सदस्य संस्थाहरुसंग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा बैंकका लेखा समितिका संयोजक कुलचन्द्र अधिकारी, जिल्ला सहकारी संघ सिन्धुपाल्चोकका उपाध्यक्ष चक्र बस्नेत, बचत तथा ऋण सहकारी संघ काभ्रेका अध्यक्ष रामहरि केसी, बहुउद्देश्यीय सहकारी संघ काभ्रेका अध्यक्ष विधान जोशी, बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष अञ्जु जिसी, बहुउद्देश्यीय सहकारी संघ सिन्धुपाल्चोकका अध्यक्ष आशिष खड्का लगायतले सहकारी बैंकको सेवा सुविधालाई प्रभावकारी बनाउदै सहकारी मार्फत जनताको आर्थिक, सामाजिक र सामाजिक रुपान्तरणमा योगदान गर्न सकिने धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षता, सञ्चालक ज्ञानबहादुर तामाङको सञ्चालन र बैंकको बनेपा शाखाका प्रमुख सिद्धिकुमार श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।
काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ६० वटा विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको अन्तरक्रियामा बैंकको वर्तमान अवस्था र आगामी लक्ष्यका बारेमा जानकारी गराइएको थियो ।
देशभरका १० हजार सहकारी संघ संस्था सदस्य रहेको बैंकमा ९० करोड शेयर पूँजि, १४ अर्ब निक्षेप करिब १० अर्ब लगानी रहेको छ । ३७ शाखामार्फत देशभरका सहकारीहरुबीच कारोबार गर्दै आइरहेको बैंकले २ सय ५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
आगामी २०७६ सम्ममा १५ हजार शेयर सदस्य, २ अर्ब शेयर रकम, ३० अर्ब निक्षेप र २५ अर्ब लगानी गर्न लक्ष्य लिएको बैंकले कृषि, जलस्रोत लगायत उत्पादन, प्रशोधन र बजारीकरण कार्यका लागि १७ अर्ब रुपैया लगानी गर्ने योजना बनाएको बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले जानकारी दिनुभयो ।
यसैबीच राष्ट्रिय सहकारी बैंकको बनेपा शाखा बनेपा नगरपालिका वडा नं. १० बाट वडा नं. ७ चारदोवाटो चोकमा स्थानान्तरण गरिएको छ । शाखा स्थानान्तरणपछि काभ्रे र सिन्धुपाल्चोकका सहकारीलाई बैंकसंग कारोबार गर्न सहज हुने सहकारीकर्मीहरुले बताएका छन ।
काभ्रे र सिन्धुपाल्चोकका करिब २ सय ५० सहकारी सघ संस्था सदस्य रहेको र ४५ करोड निक्षेप संकलन र ७ करोड लगानी गरिएको शाखा प्रमुख सिद्धिकुमार श्रेष्ठले जानकारी दिनुभयो । सो क्षेत्रमा सहकारीहरुलाई लगानीको वातावरण बनाउने अभियान बैंकले सञ्चालन गर्ने प्रवन्ध सञ्चालक केबी उप्रेतीले जानकारी दिनुभयो ।
















प्रतिक्रिया