१ कार्तिक २०८३, आइतबार

खुम्बुमा चिसो बढ्यो, भ्रमण छोट्याउन थाले पर्यटकले

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ९ कात्तिक । सोलुखुम्बुको खुम्बु क्षेत्रमा यस वर्ष पर्यटक आगमन बढेको छ ।

पर्यटक प्रहरी लुक्लाका अनुसार गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन उत्साहजनक रुपमा बढेको छ । यो वर्ष भदौ २३ गतेदेखि कात्तिक १ गतेसम्मको तथ्यांकअनुसार १० हजार ४३९ जनाले खुम्बु भ्रमण गरेका छन् । यस बीचमा भ्रमण सकेर तीन हजार ९७१ जना बाहिरिएका छन् । यो गत वर्षको तुलनामा झन्डै दोब्बरले बृद्धि भएको छ ।

यो वर्षको भदौ २३ गतेदेखि असोज २३ गतेसम्म सात हजार ४८४ जना बाह्य पर्यटक खुम्बु भ्रमणका लागि भित्रिएका थिए भने अघिल्लो वर्ष सोही समयमा पाँच हजार ३८४ पर्यटक खुम्बु भ्रमणका लागि आएको पर्यटक प्रहरी लुक्लाका हवल्दार जयप्रकाश गोहितमानले जानकारी दिनुभयो ।

यस क्षेत्रमा चिसो बढ्दै गएपछि पर्यटक भ्रमण छोट्याएर फर्कने तयारीमा जुटेको ट्रेकिङ गाईड चूडामणि केसीले बताउनुभयो । केसीले भन्नुभयो, “विगत वर्षको तुलनामा यो वर्ष चाँडै चिसो शुरु भएको महसुस भएको छ, त्यसैले भ्रमण छोट्याउने तयारी भइरहेको छ ।”

पर्यटक र उनका सहयोगी काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल आउने गर्छन् । अहिले भ्रमण सकेर पर्यटक धमाधम फर्कन थालेपछि लुक्ला आउनेभन्दा काठमाडौँ जाने यात्रुको चाप बढेको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले बताउनुभयो ।

सबैभन्दा बढी पर्यटक अष्ट्रेलिया, युके, जर्मन, अमेरिका, स्पेन, फ्रान्स, क्यानडा, भारत, चीन, इटाली, मलेसिया, जापना, थाइल्याण्ड, पोल्याण्ड, स्वीजरल्याण्ड, नेदरल्याण्डलगायतका देशबाट यहाँ आउने गर्छन् । – रासस