१ कार्तिक २०८३, आइतबार

रोनाल्डो दोस्रो पटक फिफा वर्ष खेलाडी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ७ कात्तिक । क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

सोमबार राति लन्डनमा भएको भव्य समारोहमा स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर रोनाल्डोलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो ।

यो सँगै रोनाल्डोले पाँचौ पटक अवार्ड जितेर लिओनल मेसीको कीर्तिमानसँग बराबरी गरेका छन् ।

रोनाल्डोले अन्तिम मनोनयनमा रहेका मेसी र नेइमारलाई पछि पार्दै उपाधिमाथि कब्जा जमाएका हुन् । गत सिजन रियल म्याड्रिडले ला लिगा तथा च्याम्पियन्स लिग जित्दा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

रियल म्याड्रिडले फिफा क्लब विश्वकप २०१६ को उपाधि जितेको थियो । जापानिज क्लब कासिमा एन्टलर्सविरुद्धको फाइनलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए । उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्ड समेत जितेका थिए ।

रियलले ५ वर्षपछि गत सिजन ला लिगाको उपाधि जित्दा रोनाल्डोको भूमिका महत्वपूर्ण रह्यो । ३२ वर्षीय फरवार्ड रोनाल्डोले लिगमा २५ गोल गरेका थिए । उनले लिगका अन्तिम पाँच खेलमा पाँच गोल गरेपछि रियलले ३३औं ला लिगाको उपाधि जितेको थियो ।

गत सिजनको युरोपियन च्याम्पियन्स लिग रियलले जित्नुमा पनि रोनाल्डोकै योगदान रह्यो । रोनाल्डोले गत सिजनको च्याम्पियन्स लिगमा १२ गोल गरे । उनले युभेन्ट्सविरुद्धको फाइनलमा २ गोल गरेका थिए । रोनाल्डोले गत सिजन च्याम्पियन्स लिगमा सय गोल पूरा गरेर इतिहास समेत रचेका थिए । रोनाल्डोले रियलका लागि चौथो पटक च्याम्पियन्स लिगको ट्रफि उचाले ।

यस्तै पुरुष टिमको प्रशिक्षकको अवार्ड पनि रियल म्याड्रिडकै जिनेदिन जिदानले हात पारेका छन् । जिदानले युभेन्टसका मासिमिनियानो एलेग्री र चेल्सीका एन्टोनियो कोन्टेलाई पछि पार्दै उपाधिमाथि कब्जा जमाएका हुन् ।

यस्तै उत्कृष्ट महिला खेलाडीको अवार्ड बार्सिलोनाकी डच खेलाडी लिके मार्टिन्सले जितिन् । उनले फ्लोरिडाकी डेएना कास्टेलानोस (भेनेजुएला) र म्यानचेस्टर सिटीकी कार्ली लोयड ९अमेरिका० लाई पछि पारेकी हुन् ।

यसैगरी महिला टिमको प्रशिक्षकको अवार्ड नेदरल्यान्ड्स राष्ट्रिय टिमकी सारिना विग्मानले पाइन् ।

उत्कृष्ट गोलकिपरको अवार्ड इटालियन क्लब युभेन्ट्सका बुफोनले हात पारे । उनले रियल म्याड्रिडका केलर नाभास (कोस्टारिका) र वायर्न म्युनिखका म्यानुयल नेउर (जर्मनी) लाई पछि पारे ।

उत्कृष्ट गोल गरे बापत प्रदान गरिने पुस्कस अवार्ड आर्सनलका स्ट्राइकर ओलिभर जिरुडले हात पारे भने स्कटिस क्लब सेल्टिकका समर्थकले फ्यान अवार्डको पुरस्कार जिते । फेयर प्ले अवार्ड टोगोका फ्रान्सिस कोनेलाई दिइयो ।

पुरुष खेलाडी – क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – रियल रियल म्याड्रिड
महिला खेलाडी – लिके मार्टिन्स (नेदरल्यान्ड्स) – बार्सिलोना
पुरुष टिमको प्रशिक्षक – जिनेदिन जिदान (फ्रान्स) – रियल म्याड्रिड
महिला टिमको प्रशिक्षक– सारिना विग्मान (नेदरल्यान्ड्स) – नेदरल्यान्ड्स राष्ट्रिय टिम
गोलकिपर – बुफोन (इटाली) – युभेन्ट्स
पुस्कस अवार्ड – ओलिभर जिरुड – आर्सनल
फ्यान अवार्ड – सेल्टिक समर्थक
फेयर प्ले अवार्ड – फ्रान्सिस कोने – टोगो
– एजेन्सी