१ कार्तिक २०८३, आइतबार

नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुभारम्भ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र आज एक कार्यक्रमका बीच सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले काठमाडौंमा शुभारम्भ गर्नुभएको छ ।

सो अवसरमा राज्यमन्त्री बिष्टले नेपाल टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भए तापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि सोधपुछ तथा ग्राहक सेवा केन्द्रले थप सहयोग पु¥याउने विश्वास ब्यक्त गर्नुभयो । उहाँले समय सापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए मात्र ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजश्व पनि वृद्धि हुने बताउनु भयो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले नेपाल टेलिकमका सामू विविध किसिमका चुनौतीहरु पनि भएकाले त्यसलाई अवसरमा परिवर्तन गर्न तथा ग्राहकको गुनासोलाई सम्बोधन गर्नका लागि सेवा केन्द्रले सहयोग पु¥याउने बताउनु भयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाइरहनका लागि सेवा केन्द्रको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।

वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले यस प्रकारको सेवा पहिले देखि नै सञ्चालन गरिएको भए तापनि हाल नयाँ व्यवस्थापनमा सञ्चालन गर्न लागिएको बताउनु भयो ।

१९७ मार्फत हुने सोधपुछ सेवा आजै देखि नयाँ संरचनाबाट सञ्चालनमा आइसकेको छ । वायरलाइन ग्राहक सेवाका लागि १९८ र जीएसएम तथा सीडीएमए मोबाइल ग्राहक सेवाका लागि १४९८ नम्बरमा डायल गरेर ग्राहकहरुले उक्त सेवा सम्बन्धी गुनासा तथा जिज्ञासा राख्ने तथा आवश्यक जानकारी लिन सकिन्छ । यी सबै सेवा निःशुल्क रुपमा उपलब्ध छन् ।

हाल सम्म टेलिफोनबाट मात्र सेवाहरु दिइरहेकोमा सो सेवा केन्द्रबाट छिट्टै नै एसएमएस, इमेल तथा वेब च्याट सेवाको माध्यमबाट समेत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराइने छ । त्यसैगरी फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव तथा गुनासाहरुको जवाफ पनि आगामी दिनमा यही केन्द्रमार्फत उपलब्ध गराउने व्यवस्था गरिने भएकोछ ।

सोधपुछ तथा ग्राहक सम्बन्धी सेवा बाह्य संस्था आउटसोर्सिङमार्फत गर्ने कम्पनीको नीति अनुसार हाल नयाँ व्यवस्थापन सहित हाइवे लिंक प्रालिसँग सम्झौता गरी सेवा उपलब्ध गराउन लागिएको प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।