शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

प्रतिनिधि सभा र प्रदेशमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

दैनिक नेपाल २०७४ असोज २७ गते १७:४३

काठमाडौं, २७ असोज । निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अधिकतम खर्च सीमा तोकेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको अधिकतम खर्च सीमा तोक्ने निर्णय गरेको हो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा उम्मेदवारले जम्मा पच्चीस लाख रुपैंया खर्च गर्न सक्नेछ ।

उम्मेदवारहरूले मतदाता नामावली खरिदमा प्रतिनिधिसभाका सांसललाई ३ हजार तथा प्रदेश सभालाई १८ सय तोकिएको छ । सवारी साधनमा प्रतिनिधिसभालाई ५ र प्रदेश सभामा ३ लाख, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) संसदमा १ लाख र प्रदेशमा ६० हजार तोकिएको छ ।

प्रचार प्रसार सामाग्री प्रतिनिधिसभालाई १ लाख र प्रदेशमा ६० हजार, ढुवानी प्रतिनिधिसभालाई ७५ हजार तथा प्रदेशमा ४५ हजार, गोष्ठी/अन्तरक्रियामा प्रतिनिधिसभालाई ८ लाख तथा प्रदेशमा ४ लाख ८० हजार मात्रै उम्मेदवारले खर्च गर्न पाउने छन् ।

त्यसैगरी अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यममा प्रतिनिधिसभालाई १ लाख तथा प्रदेशमा ६० हजार, कार्यालय सञ्चालनमा प्रतिनिधिसभालाई ५ लाख तथा प्रदेशमा ३ लाख, प्रतिनिधि परिचालनमा प्रतिनिधिसभालाई २ लाख तथा प्रदेशमा १ लाख २० हजार, विविध खर्चमा प्रतिनिधिसभालाई १ लाख २२ हजार तथा प्रदेशमा ७३ हजार २ सय खर्च गर्न पाउने निर्णय आयोगले गरेको छ ।

आयोगले प्रतिनिधिसभाको सांसदका लागि २५ लाख र प्रदेश सभामा १५ लाख खर्च गर्न पाउने सीमा तोकेको विज्ञप्तिमा उल्लेख छ ।

समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार रु दुई लाख रुपैंयासम्म खर्च गर्न सक्नेछ र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रतिउम्मेदवार रु एक लाख पचास हजार रुपैंयासम्म खर्च गर्न सक्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित