२८ आश्विन २०८३, बुधबार

‘नेतृत्व विकास प्रक्रियालाई रोक्न हुँदैन’

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अर्जुनकुमार श्रेष्ठ
महासचिव उम्मेद्वार, एनआरएनए

अर्जुनकुमार श्रेष्ठ बेल्जियमका एक सफल व्यवसायी हुन् । डेढ दशकदेखि बेल्जियममा व्यवसाय गर्दै आएका श्रेष्ठ गैरआवासीय नेपाली अभियान र नेपालको विभिन्न सामाजिक कार्यमा बराबर संलग्न छन् । एनआरएनको सदस्य, आईसीसी सदस्य, यूरोप संयोजक, सचिवजस्ता महत्वपूर्ण जिम्मेवारी पूरा गरिसकेका श्रेष्ठले काठमाडौंमा असोज अन्तिम साता हुने आठौं विश्व सम्मेलनमा महासचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । प्रस्तुत छ श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश–

तपाईंले महासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ । महासचिवमै उम्मेदवारी किन ?

एनआरएनए अभियान केवल सामाजिक संस्थामात्र होइन । र, आलोचकहरुले भनेजस्तो ‘धनीहरुको क्लव’मात्रै पनि होइन । प्रवासमा रहेका पचासौं लाख नेपालीको सामाजिक अंग भइसकेको एनआरएनएमा म पनि दशकदेखि यस अभियानमा क्रियाशील छु । संस्थाको साधारण सदस्यदेखि आईसीसी सदस्य, यूरोप संयोजक हुँदै सचिवसम्मको भूमिका मेरो क्षमता र योग्यताले भ्याएसम्म इमान्दारितापूर्वक पूरा गरेको छु । क्रमिक वृत्ति विकास मानवीय गुण पनि हो । तसर्थ स्वभाविकरुपमा मैले महासचिवमा उम्मेदवारी घोषणा गरेको छु । विगतमा पनि विभिन्न संघ संस्थाको प्रमुख व्यवस्थापकीय काम गरिसकेकाले त्यसको अनुभवनको आधारमा मैले महासचिवमा उम्मेदवारी दिएमो हो । मैले उम्मेदवारी घोषणा गरेपछि जुनखालको सद्भाव र शुभकामना पाएको छु, त्यसले मलाई ऊर्जा थपेको छ ।

महासचिवमा उम्मेदवारी घोषणा गरिरहँदा तपाईंका चुनावी एजेन्डा के के छन् ?

एनआरएनएमा कुनै नयाँ योजना र कार्यक्रमहरु भन्दा अहिले जुन नीति र कार्यक्रमहरु छन्, तिनलाई नै व्यवस्थित गर्नुपर्ने खाँचो छ । समयले नयाँ नयाँ आवश्यकताहरु सिर्जना गर्दै जान्छ । तिनलाई संस्थाले क्रमश: सम्बोधन गर्दै जान्छ नै । तर विश्व सम्मेलनमा मैले जुन पदमा उम्मेदवारी घोषणा गरेको छु, त्यो संगठनको व्यवस्थापनसँग सम्बन्धित छ । संगठनभित्र एक दुई दिन के–के गर्नुपर्छ भन्नेमा अथवा सुधारका लागि के गर्नुपर्छ भन्नेमा पनि म परिचित छु । आम एनआरएनएले बुझ्ने भाषामा भन्दा प्रवासमा रहेका नेपालीहरुको लिडर बनाउने कोसिस मेरो रहन्छ । अहिले त्यस्तो छैन भन्ने होइन, तर हरेक प्रवासी नेपालीको अपनत्व विकास हुने खालको एनआरएनए बनाउनेतर्फ मेरो ध्यान रहन्छ ।

महासचिवमा तपाईंलाई नै मतदाताले किन मत दिने ?

एनआरएनएमा कुनै नयाँ योजना र कार्यक्रमहरु भन्दा अहिले जुन नीति र कार्यक्रमहरु छन् तिनलाई समयअनुसार अघि बढाउनुपर्नेछ । म एकपटक एउटा पदमा रहेर काम गर्दै आएको छु । एनआरएन अभियानले एक से एक नेतृत्व क्षमता भएका व्यक्तिलाई जन्माएको छ । मैले अग्रजलाई सम्मान गर्ने र नयाँ पुस्तालाई क्रमश: पद हस्तान्तरण गर्दै जानुपर्छ, त्यसो गर्न सकिनँ र नयाँ पुस्तालाई रोक्ने प्रयास गरें भने हामीले सक्षम उत्तराधिकारी पाउन सक्दैनौं । ‘एक व्यक्ति एक पद, एक पटकका लागि’ भन्ने अभियान ००९ मा नै मैले औपचारिकरुपमा दर्ज गरिसकेको छु । आफ्नो प्रतिबद्धतामा भने अडिग छु । म सचिव भएर काम गरिसकेको छु, म सँग अर्को विकल्प छैन र जम्प गरेर माथिल्लो पद पनि ताकेको छैन । ‘नेपालीका लागि नेपाली’ भन्ने संस्थाको उद्देश्यअनुसार नै म काम गर्छु ।

एनआरएनएको संस्थागत विकासमा तपाईंको योगदान के रहन्छ ?

एनआरएनए अहिले पनि सामूहिक निर्णयका आधारमा चल्छ । यो कुनै राजनीतिक संगठनजस्तो होइन, माथिबाट निर्देशन दिने तल्लो कमिटीले पालना गर्ने । हामी कुनै लोभ लालच र केही पाइन्छ भनेर संस्थामा क्रियाशील भएका पनि होइनौं । हामी त आफ्नो दु:खले वचत गरेको पैसा खर्च हुन्छ भन्ने जान्दा जान्दै संस्थामा आबद्ध भएका हौं । संस्थामार्फत सामूहिकताका आधारमा मातृभूमिलाई एउटा इँटा थपौं भनेर अभियानमा लागेका हौं । एनआरएनएको मुल मर्मलाई आत्मसात गर्दै संस्थागत विकासमा क्रियाशील रहन्छु ।

एनआरएनएमा तपाईंको प्रवेश र हालसम्म कुन कुन पदमा बसेर काम गर्नुभयो अर्थात तपाईं यो एनआरएन अभियानमा संलग्न भएको कति वर्ष भयो ?

एनआरएनएमा म यूरोपको एउटा मुलुक बेल्जियमबाट प्रतिनिधित्व गर्दछु । संस्थाको साधारण सदस्यदेखि आईसीसी सदस्य, यूरोप संयोजक, सचिवसम्मको भूमिकामा रहेर मैले काम गरेको छु । संस्था भनेको सामूहिकताबाट चल्छ, यो निजी कम्पनीजस्तो होइन । संगठनको चेन अफ कमाण्डमा रहेर अनुशासित भई काम गरेको छु । भूकम्पपीडितको उद्दार, पुनर्निर्माणदेखि एनआरएनएको भवन बनाउन मेरा समय खर्चिएको छु ।

तपाईंको विचारमा एनआरएनका अहिलेका चुनौती के छन् ?

एनआरएनएको अभियान प्रष्ट छ । नीति प्रष्ट छ, कार्यक्रमहरु उस्तै छन् । हामीले हात हालेका हरेक सामाजिक काहरु उत्तिकै प्रभावकारी भएका छन् । तर, हाम्रो चुनौति व्यवहारिक छ । हामी कुनै एउटा ठाउँमा रहेका व्यक्तिहरुले खोलेको संस्थाजस्तो होइन, संसारभर रहेका नेपालीहरुको साझा संस्था हो । स्रोत साधन रहे पनि व्यवहारिकरुपमा हामीलाई सँगै बसेर काम गर्न कठीनाईहरु छन् । त्यसैले कहिलेकाँही सोचेजस्तो समयमा परिणाम ल्याउन सकिंदैन । यीयस्ता व्यवहारिक चुनौति हामीसँग छन् ।

तपाईंलाई विश्वभरका एनआरएनले कसरी चिन्ने ?

एनआरएनएका माध्यमबाट मातृभूमिलाई केही दिन चाहने साधारण नेपालीकोरुपमा चिनिदिए पुग्छ ।

नेपालको आर्थिक समृद्धिका लागि एनआरएनले के कस्ता काम गर्नुपर्ला ?

नेपालको राजनीतिक आन्दोलन सकिएपछि मुलुक औपचारिकरुपमा समृद्धितर्फ अघि बढेको छ । हालसालै भएको स्थानीय तहको चुनाव र केही महिनामै हुने प्रदेश र केन्द्रीय संसदकोपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्छ भन्नेमा हामी आशावादी छौं । नेपालमा लगानीको वातावरण बनेको खण्डमा आर्थिक विकास, रोजगारी सिर्जनालगायतका काममा हामी क्रियाशी हुन्छौं ।

‘लाप्राक पोजेक्ट’बारे तपाईको धारणा के छ ?

भूकम्पले क्षतिग्रस्त भएको गोरखाको लाप्राकमा एनआरएनएले एक हजार घर बनाउने प्रतिबद्धता गरेबमोजिम काम अघि बढेको छ । अहिले पनि काम तीब्ररुपमा भइरहेको छ । तर, हामीले बनाउने भनको वस्तीमा केही चुनौतिहरु छन्, मोटरबाटोको अभाव छ । आवश्यक पुँजी, प्राविधिक, जनशक्तिको पाटो बलियो भए पनि दुर्गम ठाउँ भएकाले सोचेजति गति लिन सकेन, समयमा पूरा गर्न सकिएन । तर, हाम्रो अठोट निकट समयमा नै पूरा हुन्छ ।
एनआरएनमा विधान संशाधनको विषय उठी रहेको छ, के विधान संशोधनको आवश्यकता देखिएको हो ?

जीवन्त संस्थाको विधान संशोधन भइरहन्छ, यो कुनै पनि नौलो कुरा होइन । विधान संशोधनका लागि संस्थागत विधि विधानहरु हुन्छन् । ती फोरमले चाहेमा विधान संशोधन हून्छ ।

एनआरएन अहिले ७८ वटा देशमा मात्र विस्तार भएको छ, थप देशमा विस्तार गर्न तपाईको भुमिका के रहन्छ ?

सीमित देशबाट सुरु भएको एनआरएनए अभियान अहिले ७८ देशमा पुगेको छ । आवश्यकताको सिद्धान्तका आधारमा अन्य मुलुकमा पनि विस्तार हुन्छ । संस्थाको विधान बमोजिम आवश्यक मुलुकमा विस्तार गर्न र विश्वभरका नेपालीलाई एउटै सुत्रमा बाँध्ने भूमिकामा मेरो प्रयास सकारात्मक रहन्छ ।

खाडी मुलुकको समस्या समाधानमा तपाईको प्रयास के हुनेछ ?

एनआरएनए अभियानमा यूरोप, अमेरिकामात्र होइन, खाडी मुलुकमा रहनुभएका नेपालीहरुको पनि अथक मिहिनेत, योगदान र भूमिका छ । खाडीमा रहनुभएका सबै एनआरएनप्रति म आजको दिनमा नमन गर्न चाहन्छु । संस्था दर्ता, भवन निर्माण, भूकम्पपछिको पुनर्निर्माणमा जसरी खाडी क्षेत्रबाट सहयोग जुटेको छ, त्यहाँ रहनुभएका एनआरएन साथीहरुको चासो र सरोकारका विषयलाई हल गर्न व्यक्तिगतरुपमा म र संस्थागतरुपमा आईसीसी तत्पर छ ।

अन्तमा के भन्नुहुन्छ ?

प्राकृतिकरुपमा यति मनोरम र भरिपूर्ण देश छ । हामी एनआरएन संसार घुमिसक्दा पनि नेपालकोजस्तो हावापानी, नेपालीकोजस्तो हस्पिटालिटी पाउन सकेका छैनौं । तर, पनि हामी विदेशिएका छौं । हाम्रा स्रोत साधनहरुको सही उपयोग गर्न नसक्दा त यो भएको हो । तसर्थ, सकारात्मक सोचेर अघि बढौं । नेपाल समृद्ध बनाऔं । नेपाल समृद्ध भएमात्रै विश्वभर रहेका नेपालीको इज्जत बढ्छ । म चाहन्छु म व्यक्तिगतरुपमा गरिव भएर केही फरक पर्दैन तर देश धनी हुनुपर्छ । अन्त्यमा तपाईंको लोकप्रिय अनलाइनमार्फत आफ्ना धारणा राख्ने अवसर दिनुभएकोमा धन्यवाद ।