११ मंसिर २०८३, शुक्रबार

वाम गठबन्धनसंग काँग्रेस आत्तियोः नेता नेम्वाङ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २५ असोज । नेकपा एमालेका संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले जनताको समृद्धि र राजनीतिक परिवर्तनको स्थायित्वका लागि भएको वामपन्थी गठबन्धनबाट नेपाली काँग्रेस लगायतका गैर वामपन्थीहरु आत्तिएको टिप्पणी गरेका छन् ।

आज नेकपा एमाले जिल्ला कमिटि ललितपुरले आयोजना गरेको पार्टी प्रवेशमा वोल्दै बर्तमान गठबन्धनले सरकार ढाल्ने कुनै योजना नबनाएको प्रष्ट्याउँदै अत्तालिन छाडेर निर्धारित मितिमा चुनाव गराउन नेपाली काँग्रेस सरकारमा सहभागी दलहरुको ध्यान आकृष्ट गरेको बताएका छन् ।

नेम्वाङले आज ललितपुरमा राप्रपा परित्याग गरेका पूर्व जिविस उपसभापति कृष्णबहादुर देसार लगायतका २ सय भन्दा बढी नेता कार्यकर्तालाई स्वागत गर्दै एमाले प्रवेश गर्न ढिला गर्नेले पछुताउनुपर्ने पनि बताए । देशैभर एमाले प्रवेशको लहर भएको बताउँदै एमाले नेतृत्वको गठबन्धनले चुनाव पछी दुई तिहाई ल्याएर ५ वर्ष स्थायी सरकार र जनताले खोजेको राजनीतिक सामाजिक समृद्धिको नेतृत्व गर्ने बताए ।

स्थापना कालदेखि नै राप्रपासंग आबद्ध नेता देसारले राप्रपाको अवसरवादी र अस्थिर चरित्र र प्रतिगामी राजनीतिक विचारमा असहमत भएकाले राष्ट्रवादी र जनपक्षीय पार्टी एमाले प्रवेश गरेको बताए । कार्यक्रममा पूर्व डीआईजी तथा एमाले नेता नवराज सिलवालले न्यायका पक्षमा उभिन चाहनेहरु ढिलोचाँडो एमालेमा ध्रुवीकृत हुनुपर्नेमा जोड दिए । पूर्व उपसभापति तथा हालै एमाले प्रवेश गरेका नेता बाबुकाजी प्रधानले मंसिरको निर्वाचनले ललितपुरमा काँग्रेसको दादागिरीको अन्त्य भई लालकिल्ला फर्कने दावी गरेका छन् । जिल्ला कमिटिका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले ललितपुरको राजनीतिक, सामाजिक तथा आर्थिक विकासका लागि सम्पूर्ण रुपमा एमाले नेतृत्वको वाम गठबन्धनको विजय निश्चित गर्न ध्रुवीकरण बढिरहेको बताएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय कमिटि सदस्य, अन्य पार्टीहरुका २ सय भन्दा बढी नेता कार्यकर्ता प्रवेश गरेको जानकारी गराउँदै केही समययता जिल्लाका विभिन्न राजनीतिक समूहहरुबाट एमालेमा प्रवेश गर्नेहरुको संख्या बढिरहेको जिल्ला कमिटिका प्रचार विभाग प्रमुख अमृत तिमल्सिनाले बताएका छन् ।