काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले गृहमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।
व्यवस्थापिका संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खतिवडाले सारा निर्माण व्यवसायी मात्र होइन् देश आतंकित बनेको, काम गर्नेहरु मान्छेहरुलाई धम्की दिएर फेरि अरु निर्माण व्यवसायीलाई तेरो पनि हालत यस्तौ बनाउँछु भनेर धम्की आउन गइरहेको बेला गृहमन्त्री कानमा तेल हालेर सुतेको भन्दै गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए ।
‘शान्ति सुरक्षाको जिम्मा लिएको मान्छेले शान्ति सुरक्षा कायम गर्न सक्दैन् र देश आतंकित बनेर हिड्छ भने कसले देशको शान्ति सुरक्षा जिम्मा लिने ? त्यसैले म अनुरोध गर्न चाहन्छु, देश अप्ठ्यारो अवस्थामा छ । देशको मुटुमा एउटा निर्माण व्यवसायीको दिनदहाडै हत्या हुन्छ भने यो देशको यत्रो संघीय निर्वाचन र प्रदेशको निर्वाचन र केन्द्रीय निर्वाचन यो गृहमन्त्रीबाट सम्भव छैन् त्यसैले राजीनामा दिनुपर्छ,’ उनले भने ।
उनले निर्माण व्यवसायीलाई आतंकित नहुन र हत्यारालाई छिटोभन्दा छिटो समातेर कारवाही गर्न सरकारसँग माग समेत गरे । ‘लगानीको वातावरण अन्त्य नहोस् र फेरि पनि गृहमन्त्रीले कानमा तेल हालेर बस्न नपरोस्,’ खतिवडाले भने ।












प्रतिक्रिया