३० आश्विन २०८३, शुक्रबार

कागजमा मात्र सीमित नबनोस् वाम एकता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्थानीय तहको निर्वाचन सकिएसँगै दसैँको चटारोमा नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरु एमाले र माओवादी केन्द्रसँगै नयाँ शक्तिको बीचमा पार्टी एकता गर्ने घोषणाले नेपाली राजनीति पुनः एकपटक तरंगित भएको छ । अहिले पत्रपत्रिकादेखि, चोकचोकमा र सामाजिक सञ्जालहरुमा कम्युनिस्ट पार्टीहरुबीचको एकताकै चर्चा, परिचर्चा छ ।

कुनै बेला एकले अर्काेलाई देख्नसम्म नसक्ने केपी ओली, प्रचण्ड र बाबुराम यसपटक एउटै मञ्चमा पत्रकारहरुको माझमा उभिएर पार्टी एकता र चुनावी तालमेलको शंघघोष गरे । जननेता मदन भण्डारीले राजनीति सम्भावनाहरुको खेल हो र यसमा स्थायी शत्रु मित्र हुँदैन भनेझै अहिले हिजो स्थायी शत्रु जस्तो देखिएका केपी ओली र प्रचण्ड अहिले स्थायी मित्र जस्तो देखिएका छन् । यिनीहरुको मित्रता र एकतामा आउने उतारचढावले नै अब देशको भाग्य र भविष्यको फैसला गर्दछ ।

यो एकतालाई नेपाली राजनीतिमा गरिएको नयाँ प्रयोग र जोखिमको रुपमा पनि परिभाषित गरिएको छ अब यो प्रयोग सफल हुन्छ वा हुँदैन भन्ने हेर्न नै बाँकी छ । एक्लै आगामी निर्वाचनमा बहुमत ल्याउँछु भनेको एमाले र कांग्रेससँग अझै १० वर्ष तालमेल गरेर एमालेलाई सधै बाइपास गर्छु भनेको माओावादी केन्द्र बीचको एकता आफैमा जोखिमपूर्ण काम हो । यदि उनीहरु सफल भए नेपालमा कम्युनिस्ट राजनीतिको लोकप्रियता र अस्तित्व सदावहाररुपमा कायमै रहन्छ र उनीहरु फेरि पनि विवादित बन्दै गए नेपाली कम्युनिस्ट आन्दोलनमाथि नै असफलताको ट्याग लाग्ने छ ।

जसरी कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई अपवित्र गठबन्धन भनियो त्यतिनै एमाले र माओवादी केन्द्रको गठबन्धनलाई भने स्वभाविक तथा प्राकृतिक गठबन्धन भन्न सकिन्छ । दुवै दलको इतिहासिक पृष्ठभूमि वा जननी पुष्पलाल श्रेष्ठ नै हुन् भने दुवै दलको झण्डा पनि साझा रहेको छ । दुवै दल माओवादी विद्रोह र झापा विद्रोहको नाममा हिंसात्मक पृष्ठभूमिबाट आएका हुन् । वृहत शान्ति सम्झौता र दोस्रो आन्दोलनपछि माओवादीले लिएको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा र एमालेले लिएको बहुदलीय जनवादको कार्यदिशाको सारतत्व एउटै हो ।

बन्दुकबाटै सत्ता कब्जा गर्छु भनेर हिडेको तत्कालीन प्रचण्ड नेतृत्वको माओवादी संसदीय व्यवस्था स्वीकार गरेर बहुदलीय प्रतिस्पर्धामा उत्रनु भनेको पक्कै पनि माओवादीको बहुदलीय जनवादको बाटोमा रुपान्तरण नै हो । भर्खर भर्खर हिंसात्मक विद्रोहबाट आएको माओवादी केन्द्र र उसको राजनीतिक क्रियाकलापप्रति एमालेको कडा विरोधको कारणले नै विगतमा यी दलको बीचमा राजनीतिक दूरी बढ्दै गएको थियो । कम्युनिस्टहरु एक्लै एक्लै लड्दा र आपसमा विभाजित बन्दा त्यसको प्रत्यक्ष असर के हुन्छ भन्ने राजनीतिक अस्थिरताको पीडा नेपाली जनताले विगत ३० वर्षदेखि भोग्दै आइरहेका छन् ।

जब जब कम्युनिस्ट पार्टीहरु शक्तिशाली बन्छन् तब टुक्रिने पुरानो रोग अहिले सम्म पनि नेपाली राजनीतिमा कायमै छ । हिजो एमाले पनि दुई तिहाइ बहुमतको नजिक पुगेको समयमा टुक्रियो र अहिले माओवादी केन्द्रको हालत पनि त्यस्तै छ । त्यसकै सबैभन्दा ठूलो पार्टी बनिरहँदा प्रचण्ड नेतृत्वको माओवादी टुक्रियो । जसको प्रत्यक्ष फाइदा कांग्रेसलगायत अन्य गैरकम्युनिस्ट राजनीतिक दलहरुलाई पर्न गयो । राजनीतिक दलहरु कमजोर र निरिह बन्नुको पीडा नेपाली नागरिकले भोग्दै आइरहेका छन् । धेरै दलको संख्या बढ्नुनै राजनीतिक अस्थिरताको मुख्य कारक बन्यो ।

सधै कुनै दलको स्पष्ट बहुमत नआउने, साना तिना दलको समर्थन नहुने बित्तिकै सरकार ढल्ने अवस्थाको सिर्जना हुने र सांसदको किनबेच समेत हुने अवस्थाको सिर्जना नेपाली राजनीतिमा देखियो । सधै यही ढंगले देशले आर्थिक समृद्धिको फड्को मार्न निकै कठिन थियो जसले गर्दा पनि राजनीतिक दलहरुबीचको एकता अपरिहार्य रहेको थियो । दलहरु आपसमा विभाजित बन्दा एकातिर विदेशी हस्तक्षेप बढ्दै गयो भने अर्काेतिर देशको हित र समृद्धि ओझेलमा पर्दे गएको देखियो । आखिर राजनीति के र कसका लागि भन्ने गम्भीर आत्मसमीक्षाको जरुरी नेपाली राजनीतिमा थियो । हाम्रो देशको राजनीति भूतपूर्व प्रधानमन्त्रीको संख्या बढाउने भन्दा बढी केही भएन जबकि हामी भन्दा धैरै वर्ष अगाडि संसदीय व्यवस्था सुरु भएको भारतमा हाम्रो भन्दा धेरै कम भूतपूर्व प्रधानमन्त्री रहेका छन् ।

वाम गठबन्धनको प्रयासले गर्दा कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको विषय पनि उठिरहेको छ । पक्कै पनि भोलि कुनै एक गठबन्धनले स्पष्ट बहुमत ल्याउने अवस्था बनाउन सकेमा देशको राजनीति स्थिरताको बाटोमा मोडिने छ । देशमा आपसी सहमति र समझदारीमा राजनीति गर्ने संस्कृतिको निर्माण हुने छ । देशका दलहरु बलियो भएमा सरकार बलियो र देशको समग्र शासन प्रणाली नै बलियो बन्ने छ ।

जसबाट देशको स्वाधिनता र राष्ट्रियता पनि थप मजबुत बन्ने छ । अबको राजनीति क्षणिक स्वार्थमा रुमल्लिएर मन्त्री पद पाउन र सरकारमा जान मात्र भन्दा पनि देशको विकास र समृद्धिको लागि पनि सोच्न जरुरी छ । यदि अहिलेको देशमा चलेको वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन सत्ता र सीमित स्वार्थका लागि भन्दा पनि देशको समृद्धि र विकासको लागि गरिएको हो भने पक्कै पनि यस्तो एकताले देशमा विकास र स्थिरताको ढोका खोल्नेछ । मात्र चुनावको लागि र आफ्नो मेटिँदै गएको राजनीतिक अस्थित्व जोगाउन मात्र यसप्रकारको एकता गरिएको हो भने त्यो एकता नेपाली राजनीतिको लागि झनै पीडादायी हुने निश्चित छ ।

स्थानीय तहको निर्वाचनले पनि देशमा कुन दलको कति हैसियत छ भन्ने स्पष्ट पारेको छ । संगठन र जनमतको हिसावमा एमाले सबैभन्दा अब्बल दलको रुपमा देखिएको छ । माओवादी केन्द्रको पनि मध्य पश्चिम र तराई क्षेत्रमा राम्रो जनमत देखिएको छ । अबको एकताले माओवादी, नयाँ शक्ति र अन्य साना वाम घटकलाई आफ्नो क्षेत्रमा पकड कायम राख्न थप सहायता मिल्ने छ । गठबन्धनको सबैभन्दा ठूलो फाइदा डा बाबुराम भट्टराईलाई भएको छ यदि यसप्रकारको समिकरण नबनेको भए उनले गोरखामा नै आगामी निर्वाचनमा लज्जास्पद हार बेहोर्नुपर्ने अवस्था आउने थियो भने स्वयं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि चितवनबाट चुनाव जित्न धौधौ नै थियो ।

अन्य साना तिना वाम घटकको त झन् कुरै नगरौ उनीहरु त केबल झण्डा र नेतामा मात्र सीमित बनेका थिए । यस्तो अवस्थामा बनेको गठबन्धन यदि भोलि निर्वाचन जित्नका लागि मात्र बन्यो र खाली निहुँ खोज्ने बाटो मात्र बन्यो भने नेपालको कम्युनिस्टको इतिहास निरन्तर अवनतीको बाटोमा मात्र लाग्ने छ । गठबन्धन साच्चै के का लागि भएको हो र कुन नेताको नियत के छ भन्ने बुझ्न अझै केही समय लाग्ने छ ।

जे उद्देश्यले विश्वमा कम्युनिस्ट पार्टीहरु स्थापित भएका थिए नेपालमा पनि जेजसरी पार्टीहरु जन्मिए उनीहरुलाई समय अनुसार रुपान्तरण गर्ने काम भएन । कहिले चिनियाँ कम्युनिस्ट त कहिले रसियन कम्युनिस्टको नाममा विभाजित भइरहे । सडकमा, विद्रोहमा निकै क्रान्तिकारी र राष्ट्रवादी देखिने नेपालका कम्युनिस्टहरु सत्तामा पुगेपछि भने उनीहरुमा स्खलन सुरु हुने गर्दथ्यो । किन यसरी शक्तिशाली कम्युनिस्ट पार्टी एकाएक विभिन्न साना टुक्रमा विभाजित हुन पुगे भन्ने विषयको गम्भीर आत्मसमीक्षा एकीकरणको प्रसंगमा गर्न जरुरी छ । कुनै न कुनै नेताको व्यक्तिगत दम्भ, घमण्ड र कमजोरी नभइकन पार्टी विभाजित बन्न सक्दैनन् ।

आत्मसमीक्षा गरेर नेताहरुको कार्यशैली र गलत प्रवृत्ति नसच्चिएसम्म शीर्ष नेताबीचको टाउको मिलाउँदैमा समग्र संगठन भावनात्मकरुपमा एकतावद्ध बन्न सक्दैन । आफ्नो आङ्गको जुम्रा नदेख्ने र अरुको आङ्गको भैसी देख्ने प्रवृत्तिले पनि कम्युनिस्ट पार्टीहरुमा समस्या देखिएको हो ।

हरेक पार्टीका नेतामा रहेको दम्भ र अहंकारले गर्दा पनि कम्युनिस्ट पार्टीबीचको एकता विगतमा मृगतृष्णाजस्तो बनेको थियो । नेपालका कम्युनिस्टहरु सिद्धान्तका आधारमा अलग हुनुपर्ने खासै कारण छैन । पार्टीहरुको बीचमा वैचारिक मेल मात्र भएर हुँदैन एकले अर्काे पार्टीको अस्तित्व पनि स्वीकार गर्नुपर्दछ । साँचो अर्थमा एकीकृत हुनको लागि खुला मन र फराकिलो छाँती चाहिन्छ । जुन अहिले नेताहरुले देखाउने कोसिस गरिरहेका छन् जुन आफैमा स्वागतयोग्य कदम हो । संकुचित मन र संकीर्ण विचार लिइरहेसम्म नेपालका कम्युनिस्ट पार्टीहरु बीच साच्चै को एकता सम्भव देखिदैन । कागजी एकताले मात्र देशको मुहार फेर्ने सम्भावना छैन ।

प्रजातान्त्रिक संस्कारमा कुनै एक शक्तिशाली राजनीतिक दलमा आउने तरंग र उथलपुथले सम्पूर्ण राजनीतिक संस्कार र प्रणालीनै अस्थिर बन्न पुग्छ । नेपालको राजनीतिमा हिजोको विद्रोही माओवादी शान्तिप्रक्रियामा आएको १० वर्षसम्म पनि नेपाली राजनीतिले गति लिन नसक्नुको कारण एमाओवादी, एमाले र कांग्रेसजस्ता ठूला दलमा देखिएको विचलन नै हो । पछिल्लो समयमा एमाओवादीमा आएको विचलन र क्षयीकरणकै कारणले देशमा समयमा संविधान बन्न सकेन । अहिलेको समयमा दलहरु रुपान्तरित र स्थिर बन्ने हो भने पनि नेपालको राजनीतिले फड्को मार्ने संभावना छ ।

संसदीय परिपाटी पनि मान्छु र विद्रोह पनि गर्छु भनेर दुई जिब्रे प्रचलन रहेसम्म नेपाली राजनीतिले अपेक्षित गति लिन सक्दैन । यदि लोकतान्त्रिक संस्कार र पद्धतीमा चल्ने हो भने विद्रोह, हडतालका कुरा छाडेर संसदभित्र सभ्य, शिष्ट बहुमत र अल्पमतको राजनीति नगरी सुखै छैन । जीवनभर क्रान्ति, परिवर्तन र रुपान्तरणको नारा जपेर कहिल्यै परिवर्तन देख्न नपाई मर्नुको खासै तुक देखिदैन । हिजोका गल्ती र कमजोरीहरुलाई आत्मसमीक्षा गर्दै अब कहिल्यै गल्ती नगर्ने जनतासँग प्रतिबद्धता व्यक्त गरेरमात्र कम्युनिस्ट पार्टीहरुको बीचको एकता सही ढंगबाट सम्भव देखिन्छ ।

कम्युनिस्टहरुले भन्ने गरेको जनवाद र सामाजिक रुपान्तरण के हो, त्यो सम्भव छ वा छैन, के कम्युनिस्टहरु जनअधिकार र जनजिविकाका भाषण मात्र गर्ने हुन् कि काम पनि गर्ने हुन् भन्ने कुराको जवाफ अबको वाम एकताले दिन जरुरी छ । अब भोको पेटमा नेपाली विभिन्न वाद र दर्शनको नाममा झण्डा बोकेर धेरै हिड्न चाहँदैनन् । नेपालीले साच्चै अनुभूतिनै हुने गरी आर्थिक समृद्धि चाहेका छन् र अबको वाम एकता त्यसकै लागि बन्नुपर्छ ।