काठमाडौं, २४ असोज । सोमबार दिउँसो बा १ च ९४८ नम्बरको ल्यान्डक्रुजर चढेर निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केको मौत्र थिए ।
करिवब ३ सय मिटर अघि बढेपछि उनको गाडीमा अचानक कसैले ईट्टा प्रहार गर्यो । गाडीको अगाडीको सिसामा प्वाल पर्यो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
चालकले गाडीको गति कम गरेका मात्र के थिए, आन्दाजी ३०–३५ वर्षका युवाले रिभलवरबाट गोली हानीहाले ।
गौचनको छाती र पेटमा तीन गोली लाग्यो र रगत बग्दाबग्दै उनी अचेत भए । एकैछिनमा मीनभवस्थित सिभिल अस्पताल पुगाइयो ।
अस्पताल पुगाउनेवितिकै डाक्टरहरूले गौचनको मृत्यु भईसकेको घोषणा गरे ।
बन्दुकको बिगबिगी
शान्तिनगर क्षेत्रमा निर्माण व्यवसायी गौचनको हत्या हुनुभन्दा केही घन्टाअघि महानगरिय अपराध महाशाखाले काठमाडौंकै म्हैपीबाट एक पेस्तोल र तीन गोली सहित ३ जनालाई पक्राउ गरेको थियो । काभ्रेको रोशी नगरपालिका घर भएका छिरिङ तामाङ, संजय तामाङ र दिलिप तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार पक्राउ परेकाहरूको सम्बन्ध व्यवासायी गौचनको हत्यासँग छ कि छैन भनेर प्रहरीले अनुसन्धान भइरहेको बताए । एकै दिनमा घटेका दुई फरकफरक घटनामा देखिएको बन्दुकको सहज पहुँचको घटनाले राजधानीमा बन्दुकको सहज उपलब्धता र त्यसैका आधारमा हुने आपराधिक घटनालाई बहसको केन्द्रमा ल्याइदिएको छ ।
पछिल्ला तीन महिनामा मात्रै राजधानीमा बन्दुक प्रयोग भएका अपराधका चार घटना भएका छन् ।
६ असोजमा पनि काठमाडौंको पेप्सीकोलाबाट चक्रे मिलनका मुख्य सहयोगी मानिएका रामेश्वर गौतमलाई महानगरिय अपराध महाशाखाले घुडामुनी गोली प्रहार गरेर पक्राउ गरेको थियो । व्यापारीसँग पैसा उठाइरहेको भन्ने सूचनाका आधारमा महाशाखाको टोली उनलाई पक्रिन पुगेको थियो । प्रहरीमाथि गोली प्रहार गर्दै भाग्न खोजेपछि प्रहरीले जवाफी फायर गरेर उनलाई पक्राउ गरेको थियो ।
साउनकै अन्तिम साता पनि प्रहरीले लागू औषधको कारोवार गर्ने दुर्व्यसनी प्रविण खत्रीलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गर्न खोज्दा जवाफी फायर गर्नुपरेको थियो । प्रहरीबाट भाग्ने क्रममा खत्रीले दुवै हातमा पेस्तोल समातेर छतबाट हामफाल्ने प्रयास गरेका थिए । सोही क्रममा उनको कन्चटमा गोली लागेको थियो ।
यी चारवटै फरक-फरक घटनामा पेस्तोलको सहज उपलब्धता र त्यसैका आधारमा अपराध कर्मका घटना मौलाएको देखिन्छ । जसले राजधानीमा हतियारको उपलब्धता कतिसम्म सहज देखिएको छ र त्यसैको आधारमा कसरी अपराधका घटनाहरु मौलाइरहेको छ भन्ने देखाउँछ ।












प्रतिक्रिया