काठमाडौं, २३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित वर्तमान सरकारलाई समर्थन दिने निर्णय गरेको प्रवक्ता सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।
बैठकले सरकारलाई समर्थन दिने निर्णय आज नै संसद सचिवालय र कांग्रेसलाई जानकारी दिने निर्णय समेत गरेको छ ।
बैठकपछि राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सत्ता साझेदार दल नेकपा (माओवादी) केन्द्रले प्रमुख प्रतिपक्ष दल एमालेसंग पार्टी एकता र चुनावमा सहकार्य गर्ने निर्णय गरे पश्चात सरकार अल्पमतमा पर्न सक्ने, राजनीतिक अस्थिरता खडा हुने तथा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नै धरापमा पर्न सक्ने संभावनालाई दृष्टिगत गर्दै चुनावको सुनिश्चताको निमित्त राप्रपाले देउवा सरकारलाई समर्थन दिने निर्णय गरेको छ ।’
बैठकले राष्ट्रियता र प्रजातन्त्रको सदृढिकरण, पार्टीको एजेण्डाको सबलिकरण तथा मुलुकको आर्थिक सम्बृद्धिको लक्ष्य प्राप्त गर्न आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस र अन्य प्रजातान्त्रिक शक्तिहरुसंग तालमेल तथा सहकार्य गर्ने निर्णय समेत गरेको छ ।












प्रतिक्रिया