११ मंसिर २०८३, शुक्रबार

नवराज सिलवालसँग किन डराए प्रधानमन्त्री? एमाले प्रवेश गर्दा देउवाको निद्रा हराम

65k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । नेपाल प्रहरीको आईजीपी बन्ने बाटो न्यायालयबाटै बन्द भएपछि प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले भदौ २८ पदबाट राजीनामा दिए । संरक्षण गर्नुपर्ने राज्यले आईजीपी बन्न योग्यता, क्षमता र दक्षता हुँदाहुँदै वेवास्ता गर्दा न्याय माग्न गत वर्षको फागुन देखिनै उनी अदालत गएका थिए । अदालतबाट केही न्याय पनि पाए । तर, भदौ २७ गते प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको सात न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले झण्डै ७ महिनापछि उनको रिट खारेज गर्दै सरकारको निर्णयलाई सदर गरिदियो । यससँगै न्याय पाउने र आईजीपी बन्ने बाटो सिलवालका लागि बन्द भयो ।

संरक्षण गर्नुपर्ने राज्यबाटै विभेद र अवमूल्यन भएपछि सिलवाल भदौ २८ गते राजीनामा पत्र प्रहरी प्रधान कार्यालयमा बुझाउँदै प्रहरी सेवाबाट अलग भए । यही बीचमा असोज २० गते उनी देशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा प्रवेश गरे । तर, अझै उनको राजीनामा स्वीकृत भएको छैन् । राजीनामा स्वीकृत नभई पार्टी प्रवेश गरेको भन्दै आलोचना पनि भयो । तर यहाँ राजीनामा दिएको झण्डै २५ दिन वितिसक्दा पनि किन स्वीकृत भएन भन्ने प्रश्न थोरैले मात्र उठाए ।

किन भएन सिलवालको राजीनामा स्वीकृत, देउवालाई यस्तो त्रास ?

कांग्रेस नेतृत्वको गठबन्धन र प्रधानमन्त्री शेरबहादुर देउवाले आईजीपी बन्न नदिएपछि सिलवाल प्रहरी सेवा छाडेर राजनीतिमा लागेका छन् । उनी एमाले प्रवेश गर्दा सबैभन्दा बढी देउवा नै झस्किएको बताइन्छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाको निर्देशनमा गृहसचिव लोकदर्शन रेग्मीले सिलवालको राजीनामा फाइल विभिन्न बहाना बनाएर अड्काइ राखेका छन् । गृहमन्त्री जनार्दन शर्माले राजीनामा स्वीकृत गर्न भनेपछि रेग्मीले कहिले फाइल हरायो, कहिले केही वहानाबाजी गरेर रोकेका छन् ।

प्रहरी संगठनमा रहँदा चेन अफ कमाण्ड मान्नुपर्ने, कोही कसैविरुद्ध बोल्न नपाइने कानूनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार आईजीपी काण्डमा अनेक चलखेल र षड्यन्त्रको शिकार हुँदासमेत सिलवाल एक शब्द बोलेका छैनन् । तर, राजीनामा स्वीकृत भएपछि उनलाई विगतका सम्पूर्ण चलखेलसम्बन्धमा सत्यतथ्य उजागर गर्नको लागि बाटो खुल्ने र त्यसो भए आफ्नो बद्नाम हुने डरले प्रधानमन्त्री देउवाले राजीनामा हाललाई अड्काइराख्न गृहसचिव रेग्मीलाई निर्देशन दिएको स्रोतको दाबी छ ।

त्यसका अलावा एमाले अध्यक्ष केपी ओलीले सिलवाललाई आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेको तर्फबाट टिकट दिई सांसद जिताई गृहमन्त्रीसम्म बनाउने तयारी थालेको सुइँको पाएपछि प्रधानमन्त्री देउवा र गृहसचिव रेग्मीले सिलवालको उम्मेदवारी रोक्नका लागि राजीनामा पत्र स्वीकृत नगरी थन्काइराख्न चलखेल गरेको गृह मन्त्रालय स्रोतले बतायो ।

कसरी रोकियो सिलवालको फाइल ?

भदौ २८ गते बिहान ११ बजे आफू कार्यरत रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत घरायसी कारण देखाउँदै प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र पेश गरे । प्रहरी मुख्यालयले सिलवालको राजीनामा पत्र सनाखत गरेर असोज १ गते आइतबार राजीनामा स्वीकृतिको लागि पत्र संख्या २–०१–६.१ । (०७४/०७५), चलानी नम्बर ९०९ उल्लेख गरिएको पत्रसहित सम्पूर्ण कागजात गृह मन्त्रालयको प्रहरी प्रशासन शाखालाई सम्बोधन गरेर पठायो । प्रहरी मुख्यालयबाट पत्र प्राप्त भएलगत्तै गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाले आवश्यक कारबाही सुरु गर्यो । गृह मन्त्रालयको चिठ्ठीपत्र दर्ता किताबको ७७१ मा उक्त पत्र दर्ता भएको थियो ।

मन्त्रालयको मानव स्रोत व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव ईश्वरराज पौडेल मन्त्रालयसम्बन्धी वैदेशिक कार्यक्रमको लागि चीन भ्रमणमा रहेका कारण उपसचिव नरेन्द्र कुमार रानाले सिलवालको राजीनामा स्वीकृतिको लागि टिप्पणी उठाएर असोज १ गते अपराह्न ३ः३५ को समयमा गृहसचिव लोकदर्शन रेग्मीको टेबलमा फाइल पुर्याए । रानाले दिएको फाइल बुझ्दै रेग्मीले मन्त्रीसँग सल्लाह गरी अघि बढाउने जवाफ दिए । तर, फाइल कुनै हालतमा अघि नबढाउनु भन्ने प्रधानमन्त्रीको निर्देशनपछि गृहसचिवले मन्त्रीलाई समेत टेर्न छाडे । आफ्नो राजीनामा स्वीकृत नभएपछि सिलवालले गृहमन्त्रीकै ध्यानाकर्षण पनि गराए । लगत्तै शर्माले गृहसचिव रेग्मीलाई उक्त फाइल स्वीकृतिका लागि आफ्नोमा पेश गर्न पटकपटक निर्देशन दिए । तर, गृहसचिव रेग्मीले मन्त्रीको निर्देशनलाई नै आलटाल गर्दै आइरहे । र उक्त फाइल हराएको समेत भने । त्यसलगत्तै सचिव रेग्मीले मन्त्रालयका सबै कर्मचारीलाई आफ्नो कार्यकक्षमा बोलाएर कसैले सोधेमा सिलवालको फाइल गृह मन्त्रालयमा नै नआएको र मन्त्रालयको चिठ्ठीपत्र दर्ता किताबमा केरमेट गरेर अभिलेख लुकाउन निर्देशन दिएको स्रोतको दाबी छ । यसरी गृहसचिवले उनको राजीनामा स्वीकृत हुन रोकिरहेका छन् ।

यता सिलवालले भने आफूलाई फसाउन र करियर समाप्त गर्न अझै राजीनामा स्वीकृत नगरेको आरोप लगाएका छन् । यद्यपी प्रहरी प्रधान कार्यालयले राजीनामा स्वीकृत गरि गृह मन्त्रालयमा पठाइएको र बाँकी उतै बुझ्न भन्दै प्रतिक्रिया दिएको छ ।