सिरहा, २१ असोज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम सिरहाबाट सिफारिस भएको छ ।
सिरहा प्रचण्डले २०७० सालमा सम्पन्न संविधानसभा चुनाव लडेको जिल्ला हो । यहाँ क्षेत्र नम्बर ५ बाट प्रचण्ड सांसद निर्वाचित भएका थिए । प्रचण्ड यसपाली चितवनको क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने निश्चित भएका बेला ओलीको नाम सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट सर्वसम्म सिफारिस भएको हो ।
मधेस आन्दोलनको उद्गम स्थल लहानमा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा फराकिलो अन्तरले बहुमत जित हासिल गरेको एमालेले यहीबाट ओलीलाई सर्वसम्म उम्मेदवार बनाएको छ । लहान निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ । र, यहि क्षेत्रमा पर्ने सखुवानान्करकट्टी गाउँपालिका पनि एमालेले जितेको छ ।
यो क्षेत्रमा स्थानीय तहमा एमाले बलियो भएकाले जित सुनिश्चित भएको अवस्थामा एमालेले केन्द्रीय अध्यक्षको नाम सिफारिस गरेर मधेसलाई नयाँ सन्देश दिन खोजेको चर्चा हुन थालेको छ । ‘मधेसीविरोधीको आरोप लगाउनेलाई जवाफ दिन र एमालेप्रतिको भ्रम चिर्न अध्यक्षज्यूको नाम सर्वसम्मत केन्द्रमा पठाएका हौं,’ क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष रामदयाल यादबले भने– ‘यहाँका स्थानीय तहमा हामी बलियो भएकाले जित सुनिश्चित छ ।’
यद्यपी ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट पनि सर्वसम्मत सिफारिस भइसकेको छ । नयाँ संविधानअनुसार प्रतिनिधिसभा निर्वाचनमा दुई ठाउँमा उम्मेदवार बन्न पाइँदैन् । अब ओलीले कुन क्षेत्र रोज्लान ? भन्ने प्रश्न उब्जिएको छ ।












प्रतिक्रिया