
काठमाडौं, २१ असोज । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसको नेतृत्वमा बन्न लागेको ६ दलीय गठबन्धनले आज तालमेल र सिट संख्या टुङ्गो लगाउने भएको छ ।
आज साँझसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँटको टुंगो लगाउने तयारी गरिएको हो । यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबारमात्रै दुई पटक कार्यदलको बैठक बसेको थियो ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कार्यदल सदस्य मीनेन्द्र रिजालसहितका नेताले आज साँझ ५ बजे बस्ने बैठकमा न्यूनतम साझा कार्यक्रमका साथै साझा अवधारणाको मस्यौदा पेस गर्नेछन् । त्यसलाई कार्यदलको बैठकले थपघट गरेर अन्तिम रूप दिने सहमति भएको एक सदस्यले जानकारी दिए ।
छ दलीय गठबन्धनको कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि, डा. मिनेन्द्र रिजाल र पूर्णबहादुर खड्का, राप्रपाबाट बुद्धिमान तामाङ, संघीय समाजवादी फोरमबाट रामसहाय यादव, राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे, राजपाबाट सर्वेन्द्रनाथ शुक्ल र फोरम लोकतान्त्रिकबाट गोपाल दहित सहभागी छन् ।
निर्वाचनका लागि ६ दलका तर्फबाट साझा न्यूनतम कार्यक्रम ल्याउने निर्णय कार्यदलले गरेको छ ।











प्रतिक्रिया