३० आश्विन २०८३, शुक्रबार

एमाले, माओवादी र नयाँ शक्तिको विरोध गर्नेहरु कस्ता-कस्ता छन् ? केही पात्र र आशंका

38.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मोहन बस्याल 

नेकपा एमाले, माओबादी केन्द्र र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल र पार्टी एकताको पहल शुरु भएपछि सामाजिक सञ्जालमा व्यापक बहस शुरु भएको छ । नेपाली राजनीतिक इतिहासको एक महत्वपूर्ण यो घट्नाक्रम आज देशको प्रमुख मुद्धा बनेको छ । राष्ट्रलाई प्रमुख मानेर अगाडि बढ्न सके यसबाट धेरै कुरा आश गर्न सकिने ठाउँ छ । तर नेपाली राजनीतिक इतिहासका पुराना घट्नाक्रम हेर्दा धेरै आश गर्न सकिने ठाउँ भने छैन । यसै परिबेशमा यो ऐतिहासिक दिन र घट्नाका बिषयलाई नियाल्न जरुरी छः

१,

जस्ले जीवनमा क्रान्ति भनेको काट्नु, मार्नु र कुटपिट गर्नु मात्र भनेर बुझ्यो त्यसले यस्ता सहमति मन पराउँदैन ।

२,

जस्ले बिद्रोह भनेको भत्काउनु बिगार्नु तोडफोड गर्नु मात्र भनेर बुझ्यो, त्यसले यस्तो एकतामा विश्वास राख्दैन ।

३,

संयोगले पार्टीको जिम्मेवार तहमा पुगेपनि निर्बाचनमा जाँदा आफ्नो प्रतिभाबाट आफ्नै परिवारका सदस्यको भोट पनि सुरक्षित गर्न नसक्नेहरुलेनै यस्ता सहमतिको बढी भन्दा बढी बिरोध गर्छन् ।

४,

जो राजनीतिमा सुशासन, विकास र समानताका लागि नभएर आफ्नो ब्यक्तिगत उन्नति र शक्ति आर्जनका लागि गरिरहेको छ, तिनीहरु यस्ता एकताबाट बढी त्रसित र सशंकित हुन्छन् ।

५,

जस्ले  एमाले भनेको केपी ओली, माओबादी  केन्द्र भनेको प्रचण्ड र नयाँ शक्ति भनेको बाबुराम भनेर मात्र बुझ्छ । जस्ले जनताको बहुदलीय जनबाद भनेको सूर्य चिन्ह, एक्कार्इँसौ शताब्दीको जनवाद भनेको हसिँया हथौडा र सम्बृद्धि भनेको आँखा भनेर मात्र बुझ्छ तिनिहरुलाई यो एकताको महत्व हुँदैन । खाली केपी ओली, प्रचण्ड र बाबुरामको भविश्य के होला भन्ने मात्र चिन्ता हुन्छ । चिन्ता सिंगो मुलुक र मुलुकबासीको हुनु पर्ने हो ।

६,

जीवनमा आफ्नो मलमुत्र बाहेक केही त्याग नगरेपनि कुनै जमानामा कम्ब्याक्ट युनिफर्म लगाएर वा ठूला नेताको छेउछाउ बसेर फोटो खिचेको भरमा देश र पार्टीका लागि  त्याग र बलिदान गरेको भन्दै राज्यबाट लिन मिल्ने जति सुविधा लिई रहेकालाई पनि यस्तो एकता मन पर्दैन ।

मानिस स्वभावैले बिद्रोही हुन्छ । कतिपयले आफूले भाग नपाउने देखेपछि यस्ता एकताबाट भाग्नका लागि बिद्रोह गर्छन्, त्यसलाई स्वभाविक रुपमा लिनु पर्छ । तर, एकताको दिर्घकालिन फाइदा बुझाउन र पूर्ण बहुमतसहितको सरकार निर्माणका लागि एकताका पक्षधरले तत्काल केही कदम चाल्नै पर्छ ।

भावनात्मक एकताका लागि तत्काल हुनु पर्ने कुराहरुः 

१,

देशैभर वडा तहमा चुनौती र अवसरका बारेमा अन्तरक्रिया, सहभोज साँस्कृतिक कार्यक्रम तत्काल आयोजना गरिनुपर्छ । यसका लागि प्रदेश, जिल्ला समन्वय समिति, नगरपालिका तह र गाउँपालिका तहमा तत्काल संयोजक र सहसंयोजक तोकिनु पर्छ । यस्ता कार्यक्रममा विगतमा भएका आरोपप्रत्यारोप बिर्सेर अगाडि बढ्नका लागि सबैले सार्बजनिक रुपमा आत्मालोचना गर्न सक्नुपर्छ । यस्ता कार्यक्रमका लागि केन्द्रको निर्देशनको प्रतिक्षा गर्न पनि जरुरी छैन । आ–आफ्नै पहलमा गर्न सक्नुपर्छ । जस्ले पहलकदमी पहिले लिन्छ, नेता उही बन्छ ।

२, 

महाधिवेनशमा भूगोलका आधारमा प्रत्यक्ष निर्बाचन पद्धतिबाट प्रतिनिधि चयन गरिने कुरा स्वीकार गरिनुपर्छ । निर्बाचनबाट छुट नभएका नेतृत्वलाई समावेश गर्न वडादेखि केन्द्रसम्म बन्ने पार्टीका संरचनामा मनोनयन गर्न सकिने गरी सदस्य संख्या बढाउनुपर्छ । यस्ता समिति समावेशी सिद्धान्तका आधारमा निर्माण गरिनु पर्छ ।

३,

साँच्चिकै एकता चाहेको हो भने निर्बाचन अघिनै जिल्ला जिल्ला तहमा समन्वय समिति निर्माण गरि सक्नुपर्छ । उमेद्वार चयनमा सामूहिक छलफल हुुनुपर्छ । भागबण्डाका आधारमा केन्द्रले तोकेका उमेद्वारलाई मात्र सबै क्षेत्रमा भोट नजान सक्छ, त्यसैले उमेद्वार चयनका बिषयमा जिल्ला तथा क्षेत्रस्तरमा सामूहिक छलफल जरुरी छ । निर्बाचनको परिणामले पार्टी एकता प्रक्रियामा प्रभाव पार्न सक्ने भएकाले यस बिषयमा गम्भिर हुनु जरुरी छ ।

४,

नयाँ पार्टीमा सदस्यको विवरण राख्न बिशेष प्रकारको सफ्टवेयर निर्माण गरिनुपर्छ । सदस्यको सम्पूर्ण विवरण त्यसमा राख्ने ब्यवस्था हुुनुपर्छ । पार्टीको सदस्य बनेको मिति मात्र होइन । तिनपुस्ते विवरण हुनुपर्छ । आर्थिक अवस्था, स्रोत, अनुभव सीप समेत उल्लेख गरिएको हुुनु पर्दछ ।

५,  

बामपन्थी आन्दोलनमा विशिष्ठ छबि बनाएका नारायणमान बिजुक्छे, चित्रबहादुर केसी, मोहनबिक्रम सिंह, मोहन बैद्य, नेत्रबिक्रम चन्द तथा क्षेत्रीय रुपमा प्रभावशाली रहेका उपेन्द्र यादव लगायतको समूहलाई पनि छलफलमा समावेश गरी एकता प्रक्रियामा सहमत गराउन केही ठूलो हृदय तथा त्यागका लागि तयार रहनु पर्छ ।

खासगरि आगामी निर्बाचनमा केन्द्र तथा प्रदेश सरकार बनाउने स्पष्ट बहुमत पाए यो एकताबाट बनेको राजनीतिक पार्टीले यी मुद्दामा प्रभावकारी भूमिका खेल्न सक्ने आशा गर्न सकिन्छ । त्यसैले एकताका बिषयमा सकारात्मक हुनु मुलुकका लागि फाइदा हुन सक्छ ।

१. प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख । 

२. पूर्ण बहुमतको सरकार र पाँच बर्ष एकल नेतृत्व । 

३. पूर्वाधार निर्माण र दक्ष जनशक्ति उत्पादनमा प्राथमिकता ।

तर, यी सबै काम गर्न प्रशस्त चुनौति छन् । बाम एकता उत्साह पूर्ण ढंगले गरेपनि यो त्यति सहज छैन् । स्पष्ट बहुमत सहितको कम्युनिष्ट सरकार यो एकताको मुख्य लक्ष्य हो । तर, आगामी निर्बाचनमा स्पष्ट बहुमत नआए  यो एकता प्रकृया निर्बाचनको नतिजासँगै सकिन सक्छ । यस्ता धेरै चुनौती छन्, जसलाई तिनै दलका नेताले तत्काल सम्बोधन गर्न सक्नुपर्छ ।

१. आमधारणा 

यो एकतालाई कसैले बामदेव गौतमको प्रधानमन्त्री बन्ने महत्वाकांक्षा बुझेका छन् । कसैले प्रचण्डको राष्ट्रपति भएरै मर्ने चाहनाको कारण मानेका छन् । समाचारमाध्यमले पनि को–कोले कुन–कुन पद पाउने भन्ने कुरालाई नै प्राथमिकतामा राखेर हुने नहुने समाचार लेखेर प्रकाशित गरिरहेका छन् । केन्द्रमा रहेका नेताहरुले आफ्नो भागबण्डा मिलाउनका लागि मात्र यो एकता गरेको भन्ने आम बुझाईलाई त्यो होइन, मुलुकको राजनैतिक स्थिरताका लागि हो भनेर बुझाउन र विश्वस्त गराउन सक्नुपर्छ । तब मात्र निर्बाचनमा बुहुमत ल्याउन सक्ने बातावारण बन्छ ।

२. नेताको ब्यवस्थापन 

राजनीतिमा लागेपछि परिचयकै लागि भएपनि कुनै न कुनै पद चाहिने संस्कार छ । माओबादी केन्द्रले केन्द्रीय सदस्य मात्र चार हजार माथि पुर्याएको थियो । एक सय पचासकै हाराहारीमा एमाले र नयाँ शक्तिका पनि यी सबै नेतालाई भाग नपुग्दा फेरी नयाँ–नयाँ भुपडी फेरी बन्न सक्छन । यस्को ब्यवस्थापन हुन जरुरी छ ।

३. जुंगाको लडाई 

कतिपयले पुरानो राजनीतिक दल छाडेर नयाँ राजनितिक दलमा जाँदा माथिल्लो तहका नेता बनेका छन् । अब एकीकरण हुँदा आफू भन्दापछि राजनीतिमा लागेका तर अर्को दलमा घुमेर आएका आफू भन्दा ठूलो पदमा रहन सक्छन् । यसले जुंगाको लडाई निम्त्याउँछ । यसको पनि उचित ब्यवस्थापन हुन जरुरी छ ।

विश्वसनीय योजना र कार्यान्वयन

यो एकता दिगो बनाउन जनताको विश्वास चाहिन्छ । यो एकता पछि बन्ने पार्टीले लिने नीति ल्याउने कार्यक्रम के–के हुन सक्छ, त्यस बिषयमा प्रशस्त बहस हुन जरुरी छ । योजना धेरै आए गए । तर कार्यान्वयन भएन अब कसरी कार्यान्वयन हुन्छ भन्ने विश्वास मुख्य खोजीको बिषयमा हो । त्यसका लागि काम गर्न सक्नुपर्छ ।