११ मंसिर २०८३, शुक्रबार

एमाले शीर्ष नेताहरु कहाँबाट चुनाव लड्दैछन् ?

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १९ असोज । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा एमालेका जिल्ला र क्षेत्रीय कमिटीहरूले नाम धमाधम केन्द्रमा पठाउन थालेका छन् ।

कतिपय स्थानमा सर्वसम्मत नाम चयन भएका छन् । कतिपय स्थानमा बहुमतका आधारमा नाम सिफारिस गरिएको छ । यद्यपि केन्द्रीयस्तरका नेताका नाममा भने सर्वसहमति जुटेको छ ।

केपी ओली, अध्यक्ष

ओली यसपटक गृहजिल्ला झापाबाट नै प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवार बन्ने भएका छन् । क्षेत्रीय समन्वय समितिले ओलीलाई झापाको क्षेत्र नम्वर ५ बाट सर्वसम्मत उम्मेदवार चयन गरेको हो । यसअघि २०६४ सालको संविधान सभा निर्वाचन बाहेक चार पटक उनी सोही क्षेत्रबाट विजयी भईसकेका छन् । क्षेत्र नम्वर ५ विगत लामो समयदेखि वामपन्थीको गढका रुपमा चिनिन्छ ।

माधवकुमार नेपाल, वरिष्ठ नेता

नेपाललाई काठमाडौं क्षेत्र नम्वर २ ले सर्वसम्मत उम्मेदवार चयन गरेर पठाएको छ । नेता नेपाल पहिलो र दोेस्रो संविधान सभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचन प्रतिस्पर्धा गरेका थिए । उनले सो क्षेत्रमा दोस्रोपटक मात्रै विजयी हासिल गरेका हुन् ।

नेता नेपाललाई गृहजिल्ला रौतहटबाट पनि उम्मेदवार सिफारिस गर्ने सम्भावना रहेको छ । यसपटक एक निर्वाचन क्षेत्रबाट मात्र लड्न पाउने भएकाले नेपालले नै अन्तिम निर्णय गर्ने बुझिएको छ ।

बामदेव गौतम, उपाध्यक्ष

गौतम यसपटकको संसदीय निर्वाचनमा बर्दिया क्षेत्र नम्वर १ बाट निर्वाचनमा उम्मेदवार हुने भएको छ । यसअघिको संविधान सभा निर्वाचनमा बर्दिया १ र प्यूठान १ बाट उम्मेदवार भएका गौतम दुवै ठाउँबाट विजयी भएका थिए ।

मंगलबार बसेको क्षेत्रीय कमिटी बैठकले गौतमलाई सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार सिफारिस गरेको छ ।

ईश्वर पोखरेल, महासचिव

पोखरेललाई काठमाडौं क्षेत्र नम्वर ५ बाट उम्मेदवार सिफारिस गरिएको छ । उनको पुरानो निर्वाचन क्षेत्र पनि यहि हो । पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा पोखरेलले यही निर्वाचन क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले पोखरेललाई सर्वसम्मत उम्मेदवारका रुपमा चयन गरी केन्द्रमा पठाएको छ । यसअघि सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका नरहरि आचार्य झिनो मतअन्तरले विजयी भएका थिए । २०५६ सालको निर्वाचनमा भने पोखरेल सोही स्थानबाट विजयी भएका थिए ।

यसैगरी वरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ्गलाई इलामबाट सिफारिस गरेको छ । निर्वाचन क्षेत्र समन्वय समितिको बैठकबाट उनीहरूलाई सर्वसम्मत रुपमा सिफारिस भएका छन् । एमाले उपाध्यक्ष भीम रावल अछामबाट प्रतिनिधिसभा निर्वाचन लड्न सर्वसम्मत भएका छन् ।

प्रदीप ज्ञवाली, सचिव

ज्ञवाली गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । ज्ञवाली साबिकको क्षेत्र नम्बर २ बाट दुई पटक निर्वाचित भएका थिए । ज्ञवाली २०५६ साल र २०६४ सालमा निर्वाचित भएका थिए ।

गोकर्ण विष्ट, सचिव 

एमाले सचिव बिष्ट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि सर्वसम्मत भएका छन् । यद्यपी उनी मुख्यमन्त्रीका रुपमा पनि चर्चामा छन् । यसको विषयमा पार्टी स्थायी समितिले निर्णय लिनेछ ।

विष्ट साबिकको क्षेत्र नम्बर ३ बाट २ पटक निर्वाचित भएका थिए । उनी २०५६ साल र २०७० सालमा सम्पन्न निर्वाचनमा निर्वाचित भएका हुन् । गुल्मीलाई तिनवटा क्षेत्रबाट समायोजन गरि २ वटा क्षेत्र निर्धारण गरिएको छ । जिल्लाबाट ४ वटा प्रदेश सभामा बिभाजन भएको छ ।

यसैगरी, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल रुपन्देहीबाट चुनाव लड्ने छन् ।

सचिव पृथ्बीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् । उनीलाई समानुपातिकमा बसेर प्रदेश नम्बर चारको चुनाव हाँक्न पनि दबाब छ । यसैगरी, अर्का सचिव योगेश भट्टराई ताप्लेजुङ र भीम आचार्य सुनसरीबाट चुनाव लड्दैछन् ।