बर्दिया, १७ असोज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम बर्दियाबाट प्रतिनिधिसभा निर्वाचन लड्ने लगभग निश्चित भएको छ ।
आगामी मंसिर २१ गते हुने संघको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नं. १ बाट गौतम चुनाव लड्ने निश्चित भएको हो । नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय कमिटी बर्दियाले मंगलबार गौतमको मात्र नाम सिफारिस गरेपछि उनी बर्दियाबाट चुनाव लड्ने निश्चित भएको हो ।
संघको निर्वाचनका लागि बर्दियामा २ वटा निर्वाचन क्षेत्र रहेका छन् । जसमध्ये क्षेत्र नं. १ बाट बामदेव गौतमको नाम सिफारिस गरिएको छ । क्षेत्रीय कमिटीले १ जना महिलासहित ३ जनाको नाम सिफारिस गर्ने एमालेको नीति भएतापनि क्षेत्र नं. १ बाट गौतमको नाम मात्र सिफारिस गरिएको हो ।
त्यस्तै, नेकपा एमालेले संघको निर्वाचनका लागि क्षेत्र नं. २ बाट पंकज राठौंर, लोकमणी आत्रेय र लिला रानाको नाम सिफारिस गरेको जिल्ला कमिटी सचिव शालिकराम अधिकारीले बताउनुभयो ।
संघको निर्वाचनका लागि २ वटा क्षेत्र कायम गरिएको बर्दियामा प्रदेशसभा निर्वाचनका लागि ४ वटा क्षेत्र कायम गरिएको छ । त्यस्तै प्रदेशका लागि नेकपा एमाले बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय कमिटीले कविराम थारु, खडकबहादुर खड्का र चन्दावती न्यौपानेलाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र नं. २ बाट पदम ढकाल, प्रेम पोख्रेल र शोभा ज्ञवालीको नाम सिफारिस गरिएको छ । प्रदेश सभाका लागि क्षेत्र नं. ३ र ४ मा उम्मेदवारहरुको सिफारिस १८ गते गरिनेछ ।












प्रतिक्रिया